आइतबार, २३ बैशाख २०८१

केरा बगानको सफाइ गर्दै किसान

१ जेष्ठ २०७५, मंगलवार १३:४९ मा प्रकाशित

चितवन, १ जेठ (रासस)  एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ ।

पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो । करिब रु ४० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

केरा बगान सफाइ गरिरहनुभएका कालिका नगरपालिकाको– ५ का दीपेन्द्र चौधरी केरा नष्ट भएपछि निकै चिन्तित हुनुहुन्छ । खेताला लगाएर बगान सफाइ गरिरहनुभएका उहाँले भन्नुभयो, “बिक्री गर्ने समयको केरा यसरी क्षतविक्षत हुँदा मन रोएको छ ।” यतिबेला हँसिया र बन्चरोको सहायताले बगान सफाइको काम भइरहेको छ ।

चौधरीको १३ बिगाहा जमिनमा केरा बगान थियो । उहाँका अनुसार कम्तीमा पनि रु ५० लाखको क्षति भएको छ । दश वर्षदेखि केराखेती गर्दै आउनुभएका चौधरीको परिवारले यसवर्ष बिमा नगरेका कारण झन बढी क्षति व्यहोर्नु पर्ने भएको छ । कालिका नगरपालिकाका किसानमध्ये सबैभन्दा बढी चौधरी परिवारकै क्षति भएको छ । हावाहुरी र असिनाका कारण उठ्नै नसक्ने गरी थला परेको उहाँ बताउनुहुन्छ ।

चौधरी हावाहुरीपीडित केरा किसानका प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । उहाँजस्तै धेरै किसान हावाहुरीका कारण प्रभावित भएका छन् । कालिका नगरपालिका– ५ का बाबुलाल चौधरीको पनि लाखौँ रुपैयाँको केरा क्षणभरमै सोत्तर भएको छ । उहाँले पनि बगान सफाइ गर्ने तयारी गर्दै गर्दा अब केराखेती गर्ने कि नगर्ने टुङ्गो नलागेको बताउनुभयो ।

असिनासहितको हावाहुरीले जिल्लाको कालिका, रत्ननगर, खैरहनी र भरतपुर महानगरको ठिमुरा क्षेत्रमा ५०० किसानको सयौँ बिगाहा जमिनको केरा नष्ट भएको छ । सानो बिरुवा पनि काम नलाग्ने गरी बिगारेपछि अहिले किसानले सफाइ गर्न थालेका छन् ।

केरा ढलेको एकहप्ता बितिसक्दा पनि किसानले कुनै पनि प्रकारको सहयोग पाएका छैनन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले हालसम्म प्राप्त विवरणअनुसार रु ४० करोडको केरामा क्षति भएको जानकारी दिनुभयो । उहाँले विवरण आउने क्रम जारी रहेकाले क्षति बढ्न सक्ने बताउनुभयो ।

जिल्लामा विसं २०५१ देखि व्यावसायिक रुपमा केराखेतीको शुरुवात गरिएको हो । विसं २०५६ देखि जग्गा भाडामा लिएर सयौँ बिगाहामा केराखेती यहाँका किसानले शुरु गरेको पाइन्छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार हाल जिल्लामा करीब तीन हजार बिगाहामा व्यावसायिक केराखेती गरिँदै आएको छ ।

जिल्लामा ६३० किसान केरा व्यवसायी संघमा आबद्ध छन् । वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको जिल्लामा यस वर्ष फल राम्रो लागेकाले रु डेढ अर्बको केरा बिक्री गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । असिना र हावाहुरीले आधाभन्दा बढी केरा नष्ट भएकाले रु ६० करोडको केरा पु¥याउन मुस्किल पर्ने तथा केराको अभाव हुने र मूल्य बढ्ने अनुमान गरिएको छ ।

यस वर्ष थोरै किसानले मात्र बीमा गरेका थिए । पन्तका अनुसार १६५ जनाले मात्र बीमा गरेका छन् । यससँगै व्यवसायीले पुनः केरा लगाउने वा नलगाउनेमा अन्योलता बढेको छ । बढ्दो जग्गाको खण्डीकरणका कारण व्यवसाय घट्ने अनुमान भइरहेका बेला हावाहुरीका कारण व्यवसाय थप प्रभावित बनेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter