मङ्गलबार, २५ बैशाख २०८१

सौभाग्य प्राप्तिका लागि वरको पूजा

१ जेष्ठ २०७५, मंगलवार ०९:५४ मा प्रकाशित

जनकपुरधाम, १ जेठ (रासस)  मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ ।

मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको पाइन्छ । वटबृक्ष दीर्घायु बृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछन् ।

यसमा वटबृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटबृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएको जनश्रूती छ ।

यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा सुन्ने र पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter