काठमाडौं / रास– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय प्रतिबन्धित नोटको सटही, हवाई रुट थप गर्नेलगायतका विषयमा कुराकानी भएको बताएका छन् ।

उनले जलमार्ग र रेलमार्गको विषयमा समेत गम्भीर छलफल भएको बताए । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीसँग शुक्रबार साँझ प्रधानमन्त्री ओलीले वान टु वान वर्ता गरेका थिए ।

वार्तापछि द्वारिकाज होटलमा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली बैंकमा रहेका भारतीय नोट र  थप हवाई रुटबारे कुरा भयो ।  त्यसैगरी जलमार्गको सम्भावना अध्ययनका लागि भारतले छिट्टै प्राविधिक टोली पठाउनेछ ।’

ओलीले द्विपक्षीय वार्ताको क्रममा व्यापार घाटा र बाढीपीडितको समस्या समाधानका विषयमा छलफल भएको बताए । दुई देशबीच कार्यदल बनाउने तयारी भएको उनले बताए । ‘भारतसँग नेपालले २१आंै शताब्दीअनुसार वास्तविकताका आधारमा सम्बन्ध राख्न चाहेको छ,’ उनले भने । नेपाल र भारत दुई स्वतन्त्र र आत्मनिर्भर राष्ट्र भएको बताए ।

मोदीले नेपालले तीन तहको निर्वाचन गरी नयाँ चयरणमा प्रवेश गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त गरेकोमा बधाई दिए । उनले भने, ‘नेपालको इतिहासमा यो कालखण्ड स्वर्णिम अक्षरले लेखिन्छ । खुला बोर्डरको दुरुपयोग हुन नदिने विषयमा हामी प्रतिबद्ध छौं ।’ उनले ओली र आफ्नो नारा समान रहेको बताए । ‘सबका साथ सबका विकास र ओलीको समृद्ध नेपाल र खुसी नेपालीको नारा परिपुरक रहेको छ,’ उनले भने ।

ओलीको भारत भ्रमणका क्रममा भएको समझदारीको विषयमा छलफल भएको पनि मोदीले खुलाए । उनले रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन छिट्टै हुने बताए । उनले पञ्चेश्वरलगायतका ऊर्जाको क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए ।