आइतबार, १६ बैशाख २०८१

कपिलबस्तुमा गोलभेडाको उत्पादन राम्रो भएपनि मुल्य नतोकिदा किसान मर्कामा

अजय बर्मा, कपिलबस्तु

२४ बैशाख २०७५, सोमबार १४:१९ मा प्रकाशित

बैशाख 24  कपिलवस्तुमा उत्पादन भएको गोलभेडा लगायतका तरकारी दैनिक रुपमा ८० क्युन्टिल बढि परिमाणमा जिल्ला बाहिर निकासी हुन थालेको छ । जिल्लामा भन्दा सन्तोषजनक भाउ पाउन थालेपछि उनीहरुले छिमेकी जिल्ला अर्घाखाची र रुपन्देही तथा पोखरा, दाङ र काठमाण्डौ सम्म गोलभेडा पठाउन थालेका हुन । जिल्लाको बजार मुल्य भन्दा प्रतिकिलो ५ देखि १० रुपैया बढी मोलमा कृषकले घरबाटै गोलभेडा बिक्री गरिरहेका छन् । तरकारी उत्पादनमा नमुना बनेको जिल्लाको धनकौली गाविसका ५ बढी कृषकले सातामा ५ दिनको गोलभेडा बाहिर पठाईरहेका छन् । रामघाट तरकारी संकलन केन्द्रमा जम्मा गरी उनीहरुले गोलभेडा ती जिल्लाहरुमा पठाउने गरेका छन् ।

त्यहांका स्थानीय कृषकहरु २÷३ जनाले समन्वय गरेर गोलभेडा बेच्ने गरेका छन् । तर किसानहरुले आफुले उत्पादन गरेको तरकारीको भाउ आफैं तोक्न भने पाएका छैनन् । उत्पादन प्रति १० कठ्ठामा सय क्युन्टिल उत्पादन हुने गरेको भएता पनि किसानहरुलाई बिचौलियाले लुट्ने गरेका छन् । आफुले उत्पादन गर्ने सामानको मुल्य आफुहरुले तोक्न पाउनुपर्ने किसानको माग छ ।

मौषमी, त्रिशुल, हिमसोना जातको उन्नत गोलभेडा जेठ सम्म बाहिरी जिल्ला निर्यात गर्न कृषकहरु लागि परेका छन् । जेठ पछि बेमौषमी हिमसोना उन्नत जातको गोलभेडा उत्पादन गर्न कृषकले तयारी गरिसकेका छन् । उत्पादन राम्रो भएता पनि गत बर्षको तुलनामा यस बर्ष आम्दानी कम भएको कृषक महन्त केवटले गुनासो गर्नुभएको छ ।

१० कठ्ठामा गोलभेडा खेती गरेका अर्का किसान भिम केवटले यसपाली राम्रो भाउ नपाउदा आफ्नो लगानी उठ्न नसक्ने बताउनुुहुन्छ ।

गतबर्ष तरकारी खेतीबाट ढाई लाख आम्दानी गर्नुभएको किसान शंकर केवटले सिचाइं सुबिधा र सरकारी वेवास्ताका कारण यस बर्ष ५० हजार कमाउन पनि मुस्किल परेको दुखेसोे पोख्नुहुन्छ ।

जिल्लामै तरकारीको राम्रो पकेट क्षेत्र धनकौलीमा ३६ हेक्टर बढीमा गोलभेडा खेती गरिएको छ । टमाटर अत्यधिक उत्पादन भएकाले गत बर्ष भन्दा यस बर्ष अली कम मुल्य पाएको कृषकहरु गुनासो गर्छन् । तरकारी उत्पादनमा किसानको सेवा सुविधालाई मध्यनजर गर्दै उचित बजारीकरणको ब्यबस्था हुन सके राजस्वमा बृद्धि हुंदै स्वयम् किसानको आयस्तरमा समेत बृद्धि हुने देखिन्छ । किसानहरुको उत्पादनमा खासगरि बिचौलियाहरुको अन्त्य भएमा मात्र किसानलाई राहत मिल्ने निश्चित छ ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter