सोमबार, १७ बैशाख २०८१

सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

२३ बैशाख २०७५, आईतवार १९:५८ मा प्रकाशित

काठमाडौँ, २३ वैशाख (रासस) ः अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो ।

‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।”

नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।”

अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल (स्वाभाविक) र अननेचुरल (अस्वाभाविक) गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter