शुक्रबार, ०४ जेठ २०८१

तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

२० बैशाख २०७५, बिहीबार १८:२६ मा प्रकाशित

काठमाडौँ, २० वैशाख (रासस)ः ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ ।

नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एण्ड कमर्शियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण शुरु गर्ने सम्झौता भएको हो ।

चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (सिआरसिसी) ले आजैदेखि निर्माण शुरु गर्ने र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । भूकम्पले क्षति पु¥याएका कारण सो सुक्खा बन्दरगाहको निर्माण रोकिँदै आएको थियो ।

भूकम्पलगत्तै बन्द तातोपानी नाका सञ्चालनमा ल्याउन समेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो । तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो ।

यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सो कार्ययोजनानुसार परियोजना तीन भागमा विभाजन गरी निर्माण गरिने छ । सो परियोजनाको आपत्कालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालाई निरन्तरता दिने सम्झौता गरिएको बस्नेतले जानकारी दिनुभयो ।

आयोजनास्थलमा चिनियाँ निर्माण व्यवसायीले पहुँचमार्ग, आवासगृह तथा अन्य निर्माणपूर्वको काम गरिरहेको थियो । द्विपक्षीय सम्झौता भएपछि बन्दरगाह निर्माणको काम नै शुरु भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो । बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पुनः निर्माण गर्नुपर्ने भएको छ ।
हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले सुक्खा बन्दरगाह निर्माणका लागि आजैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो । नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter