आइतबार, २३ बैशाख २०८१

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

१६ बैशाख २०७५, आईतवार ११:०६ मा प्रकाशित

काठमाडौँ, १४ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भन्नुभयो, “टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घण्टा सेवा कर्मचारी खट्नुपर्ने र त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाउनु भयो । “यस कामका बारेमा गुनासा आएका छन् । यसको काम जहाँ पुगेको छ त्यहीँ रोक्नुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला ।”

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिनुभयो । “टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन्”, उहाँले भन्नुभयो, “त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस् ।”

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गर्नुभयो । “सेवा सुधारको प्रस्ताव ल्याउनुहोस्, चुहावटको प्रस्ताव ल्याउनुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अनियमितता नगर्नुहोस् । गर्नेलाई नछोड्नुहोस् ।”

छलफलमा प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter