आइतबार, २३ बैशाख २०८१

ऊर्जामा महिला सहभागिता बढाउनु पर्ने

१५ बैशाख २०७५, शनिबार १८:०४ मा प्रकाशित

काठमाडौँ, १५ वैशाख(रासस)ः ऊर्जा सुरक्षाको सुनिश्चिता, विद्युत्को परिप्रयोग बढाउन र महिला सशक्तीकरणका लागि ऊर्जासम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल(ओनी)द्वारा आज यहाँ आयोजित ‘महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण’ कार्यक्रमका सहभागी वक्ताहरुले संविधानमा राज्यका हरेक निकायमा महिलाको सहभागिताको सुनिश्चितता गरेपनि ऊर्जासम्बन्धी सरकारी निकाय र गठित आयोगहरुमै महिला सहभागिता नभएकाले यसतर्फ राज्यको ध्यान जान जरुरी भएको बताउनुभयो ।

महिला र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहने भएकाले महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिने उहाँहरुको धारणा थियो ।

सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत पार्वता भट्ट, नेपाल ऊर्जा फाउण्डेशनका निर्देशक डिल्ली घिमिरे र ऊर्जा अधिकृत मेनुका देवकोटा, ओनीकी अध्यक्ष कला तिमिल्सिना, अभियानकर्ता भोला खतिवडा, पत्रकार कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनका विभिन्न संस्थाहरुमा आवद्ध ३० जना अगुवा महिलाको सहभागिता रहेको थियो । हाल ओनीको २५ भन्दा बढी जिल्लाका विभिन्न नगारपालिका र गाउँपालिकामा सञ्जाल विस्तार गरिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter