बिहिबार, २० बैशाख २०८१

श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता

११ बैशाख २०७५, मंगलवार २२:१६ मा प्रकाशित

काठमाडौँ, ११ वैशाख (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुुई देशबीचको पारस्परिक सहयोगका विविध आयामहरुबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री विष्टले पछिल्लो दशकमा चीनले हासिल गरेको आर्थिक प्रगति र त्यसको दिगोपनाको प्रशंसा गर्नुहुँदै चीनको विकासको प्रभावको उपयोगबाट मात्र पनि गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपालले फड्को मार्नसक्ने बताउनुभयो ।

उहाँले नेपालको दक्ष र सीपयुक्त जनशक्तिलाई स्वदेशमा नै उपयोग गरी नेपालको विकासमा परिचालन गर्नका लागि सरकारले उपयुक्त नीति तयार गरी कार्यान्वयन गर्ने सोच बनाएको र यसका लागि चीनसँगको अनुभव आदानप्रदान उपयोगी हुने कुरा समेत उल्लेख गर्नुभयो ।

सो अवसरमा चिनियाँ राजदूत यूले चीन आधुुनिक र प्रविधियुक्त विकास निर्माणको दिशामा अग्रसर भएको र यसैमा आधारित भई चीन सरकारको सहयोगमा नेपालमा विभिन्न आयोजनाहरु सञ्चालन रहेको चर्चा गर्नुभयो ।

नेपालमा सञ्चालित परियोजनाहरुमा कार्यरत चिनियाँ कामदारलाई भिसा उपलब्ध गराउने प्रणालीलाई थप सरलीकृत बनाउन सकेमा नेपालमा कार्यरत चिनियाँ कामदारलाई थप सहज हुने राजदूत यूले व्यक्त गर्नुभएको थियो ।

राजनीतिक स्थायित्वसँगै नेपालको लगानी नीति र औद्योगिक वातावरणमा क्रमशः सुधार हँुुदै गएकाले आगामी दिनमा चिनियाँ लगानी बढ्ने र यसबाट आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुुग्ने विश्वाससमेत चीनियाँ राजदूतले व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

राजदूत यूले नेपाललाई आवश्यक पर्ने सीपमूलक तालिम र उद्यमशिलता विकासको लागि प्रस्ताव पहिचान गरी जानकारी गराइएमा त्यस्ता तालिम सञ्चालन गर्न र तालिम केन्द्रहरुको स्तरोन्नतिका लागि चीन सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter