शुक्रबार, २१ बैशाख २०८१

सद्भाव भड्काउने गतिविधि सह्य हुन्नःप्रम ओली

१० बैशाख २०७५, सोमबार २२:३९ मा प्रकाशित

काठमाडौँ, १० वैशाख (रासस): प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनता एकापसमा मिलेर बसेकाले कोही कसैको पनि गलत गतिविधि क्षम्य हुँदैन भन्नुभयो ।
सामाजिक सद्भाव कायम राख्दै सबै क्षेत्रलाई मिलाएर लैजाने पक्षमा आफू रहेको उहाँको भनाइ थियो । लोकतन्त्र जनताको व्यवस्था भएकाले यसैमा नै सबैको समृद्धिको सपना पूरा हुने प्रधानमन्त्रीको कथन थियो ।

वर्तमान सरकारले शुरु गरेको आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले नबुझेको टिप्पणी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले रेल चलाउने, पानी जहाज चलाउने कुरा गरेको छु । समृद्धिको विषयलाई प्राथमिकतामा राखेको छु तर केही बुद्धिजीवी जनताको कुरा खोई भन्दै हिँडेका छन् । सरकार जनताका पक्षमा काम गर्छ । समृद्धिको सपना पूरा गरेरै छाड्छ । विकास र समृद्धिको विषयलाई लिएर अनावश्यक बुद्धिविलास नगर्न म आग्रह गर्छु ।”

सही नीति, सिद्धान्त, कार्यक्षमता र विचारका आधारमा एमालेप्रति जनताको आकर्षण बढेको र आगामी दिनमा थप आकर्षण थपिने उल्लेख गर्नुभयो । एमाले नीति र सिद्धान्तको मात्रै टेको लगाएर नबस्ने बरु जनचाहना र देशको आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
पूर्वसांसद र राजदूत एमालेमा
कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेत्री लीला भण्डारी एमालेमा प्रवेश गर्नुभएको छ । भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद् सुकदैया चौधरीलगायत १७५ नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । भण्डारी विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो । उहाँ पछिल्लो समय डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा हुनुहुन्थ्यो ।

पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनका लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेको बताउँदै नयाँ शक्तिसमेत एक दिन एकता प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशीलाई एमाले अध्यक्ष ओलीले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter