शनिबार, ०८ बैशाख २०८१

खुला सिमाना मित्रताको अनुपम नमूना

२५ चैत्र २०७४, आईतवार ०७:४८ मा प्रकाशित

नयाँदिल्ली, २४ चैत (रासस) ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारतीय राष्ट्रपतिको कार्यालयमा आज साँझ भएको भेटवार्तामा नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा कुराकानी भएको हो ।

भेटवार्ताका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भन्नुभयो, “खुला सीमा मित्रताको अनुपम नमूना भएकाले यसलाई थप व्यवस्थित बनाउने विषयमा प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबीच कुराकानी भयो ।”

प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै भारतीय गृहमन्त्री सिंहले आफूले नै भारतमा स्वागत गर्न पाउँदा थप उत्साहित र खुशी तुल्याएको उल्लेख गर्नुभयो ।

नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्री एवं सदाचारको धनीसमेत रहेकाले एक अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान मार्ग प्रशस्त भएको भारतीय गृहमन्त्रीको भनाइ थियो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको प्रमुख कार्यसूची विकास र आर्थिक समृद्धिमात्रै भएकाले त्यसका लागि एक अर्का देशबीच थप सहकार्यका स्रोतहरुको खोजी तथा पहिचान गरेर अगाडि जानुपर्नेमा जोड दिनुभएको थियो ।

खुला सिमानाका कारण भारतले मात्रै नभई नेपालले पनि केही समस्या भोगेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई थप व्यवस्थित र दुवै देशका सुरक्षाकर्मीबीच थप समन्वय गरेर अगाडि जानुपर्नेमा जोड दिनुभएको थियो ।

भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter