शुक्रबार, १६ चैत २०८०

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

१७ चैत्र २०७४, शनिबार २१:५७ मा प्रकाशित

काठमाडौँ, १७ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै हो भन्नुभयो ।

“वाम सरकारले सञ्चारमाध्यमलाई अनुचित थिचोमिचो गर्छ भन्ने हल्लामात्रै हो, त्यसको पछि नलाग्न म आग्रह गर्छु, सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिनसमेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिकमात्र नभई सामाजिक र आर्थिक जागरण आवश्यक रहेको भन्दै त्यसका लागि अब सबैको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिक प्रविधिको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“म छिट्टै भारत भ्रमणमा जाँदैछु, भ्रमणबाट नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । कार्यक्रममा रिपोर्टर्स क्लबले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पनि गरेको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भइसकेको सन्दर्भमा पार्टी एकतासँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नयाँ सरकार गठनका लागि जनताले साथ दिएको भन्दै अध्यक्ष प्रचण्डले अब जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकलाई अब आर्थिक समृद्धिको दिशामा अघि बढाउने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारत सधैँभरि नेपालको विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो ।

पत्रकारहरु पुरस्कृत

रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित ‘साप्ताहिक’ का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

उहाँ लगायत अन्य पत्रकारलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी, यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दृष्टि साप्ताहिकका प्रकाशक एवं संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं नेपाल टेलिभिजनका संवाददाता दिलीप थापा मगरलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी, ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ द हिमालयन टाइम्सका विशेष संवाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार छ ।

रिपोर्टर्स क्लब नेपालले ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ ।

यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भूकम्पलगायतका कठिन घडीमा साहसपूर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइने यो पुरस्कारको राशि रु २० हजार छ । ‘उमा सिंह स्मृति पत्रकारिता पुरस्कार’ देशसञ्चार डटकमकी संवाददाता (संयोजक) दीपा दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ ।

‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु १० हजारको छ ।

राससकर्मी दर्नाल पुरस्कृत

त्यसैगरी, यो वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता सुशील दर्नाललाई प्रदान गरिएको छ ।

रु पाँच हजार राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गर्नुभयो । दर्नाल विगत आठ वर्षदेखि राससमा कार्यरत हुनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter