शुक्रबार, ०७ बैशाख २०८१

अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

१६ चैत्र २०७४, शुक्रबार १९:२१ मा प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ ।

परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो ।

आयोगले अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह)को परीक्षा चैत २३ गतेका लागि तोके पनि विभिन्न विद्यार्थी संगठनहरू र शिक्षक संगठनहरूले विरोध गर्दै आएका थिए । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको एक समूह र विद्यार्थी संगठनहरूको समर्थनमा एक समूह अनसनमा थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र अर्थ मन्त्री युवराज खतिवडासहित आयोगका पदाधिकारीलाई बोलाएर यसबारे छलफल गर्नुभएको आयोगले जानकारी दिएको छ ।

शिक्षा ऐनको आठौँ संशोधनका आधारमा पुरै खुल्ला विज्ञापन गर्ने कि नवौं संशोधनअनुसार विज्ञापन गर्ने भन्नेबारेमा छलफल भएको र अब आन्तरिक एवं खुल्ला विज्ञापनसँगसँगै गर्ने योजना भएकाले अहिलेको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी पाएको आयोगको भनाइ छ ।

आयोगले परीक्षामा शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थाअनुसार १५ हजार ६८९ शिक्षक र नवौं संशोधनले सात हजार ५९७ थप कोटा गरी २२ हजार ७६ पदका लागि परीक्षा हुने र परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुने जानकारी गराएको थियो ।

परीक्षा स्थगित भएसँगै अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित भएको अध्यक्ष गौतमले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter