शुक्रबार, १४ बैशाख २०८१

काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

१६ चैत्र २०७४, शुक्रबार १४:११ मा प्रकाशित

ललितपुर, १६ चैत (रासस) ः काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् ।

झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।

थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । उहाँले भन्नुभयो, “अहिले किसानले पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन् ।”

काठमाडौँ उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन ।

थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने वरिष्ठ तरकारी विकास अधिकृत जोशीले बताउनुभयो । पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्त पानी पाउँछ । थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । उहाँले भन्नुभयो “यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन ।”

एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ ।

इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइलगायतका सो प्रविधि भित्र्याएका हुन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter