शनिबार, ०८ बैशाख २०८१

मलाला पाकिस्तानमा

१५ चैत्र २०७४, बिहीबार २०:३१ मा प्रकाशित

इस्लामावाद, १५ चैत (रासस÷एएफपी) ः सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल  पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किनुभएको छ ।

 

हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल हुनुभएको थियो । हाल उहाँले एकजना बाल अधिकारकर्मीका रुपमा काम गरिहनुभएको छ ।

 

उहाँलाई १४ वर्षकै उमेरमा पाकिस्तानी तालिबान लडाकूहरूले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । त्यसपछि गम्भीर घाइते उहाँको बेलायतमा उपचार भएको थियो ।

 

मुस्लिम देश पाकिस्तानमा प्राय बालिका शिक्षालाई त्यति प्राथमिकता नदिने गरेको र त्यहाँका कट्टरपन्थी पाकिस्तानी लडाकूहरु, तालिबानले बालिका शिक्षालाई अनुमति नदिने गरेकोमा उहाँले भने बालिका शिक्षाको वकालत गर्नुभएको थियो ।

 

यसरी पाकिस्तानमा बालिका शिक्षाको पक्षमा अभियान चलाएका कारण नै उहाँलाई तालिबानहरुले सन् २०१२ मा गोली हानेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उहाँको बेलायतको बर्मिङ्घमको एक अत्याधुनिक अस्पतालमा उपचार भयो ।

 

पछि उहाँको परिवार त्यहीँ बस्न थालेको हो । उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनगर्दै बालिका शिक्षासम्बन्धी अभियान पनि जारीराख्दै आउनुभएको छ ।

 

त्यस घटनापछि उहाँ पहिलो पटक पाकिस्तान फर्किनुभएको हो । उहाँ बुधबार राति इस्लामावादको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

 

सुरक्षा संवेदनशीलताका कारण उहाँको पाकिस्तान भ्रमणसम्बन्धी कुनै पनि विस्तृत कार्यक्रमहरु भने गोप्य रखिएको छ ।

 

उहाँलाई तालिबानहरुले अहिले पनि धम्की दिइरहेकोले उहाँको भ्रमणका समयमा हुनसक्ने घटनालाई हृदयंगम गरी यसरी सुरक्षा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।

 

मलालाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको भए पनि भेटको समय भने केही दिइएको छैन ।

उहाँको पाकिस्तान आगमनसँगै सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ आफ्ना आमाबुबासँगै अवतरण गर्नुभएको दृश्य पाकिस्तानी टिभीहरुले देखाएका छन् ।

मलालाले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको प्रधानमन्त्री बन्ने र यहाँका महिला र बालबालिकाको अधिकारमा कामगर्ने उद्देश्य रहेको यसअघि बताउँदै आउनुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter