बिहिबार, १३ बैशाख २०८१

संगठनमा बराबर नभए एकता नै हुँदैन : प्रचण्ड

एकता लम्बिँदा माओवादीले राख्यो शर्त

१३ चैत्र २०७४, मंगलवार १३:४६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र एमालेसँगको पार्टी एकता गर्दा सांगठानिक संरचनामा आधा–आधा हुनुपर्ने दबाब बढेको छ । केही दिनअघि बसेको केन्द्रीय कार्यालय बैठकमा तीन नेताले एकता हुँदा आधाआधा हिस्सा हुनुपर्ने अडान लिएपछि जनसंगठनसम्मबाट दबाब सुरु भएको हो । केही दिनअघि बसेको हेडक्वार्टर बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, नेता जनार्दन शर्मालगायतले एकतामा आधाआधा सहभागिता हुनुपर्ने दबाब अध्यक्ष पुष्पकमल दाहाललाई दिएका थिए ।

दाहालले नै एकतामा पहिला चुकेको भन्दै विषय उठान गरेपछि नेताहरूले बराबरी हैसियत भए मात्रै पार्टी एकताको अडान लिएका थिए । सो बैठकपछि माओवादीको तल्लो तहसम्म सबै संगठनमा बराबरी हिस्सा चाहिने दबाब बढेको हो । दबाब बढ्दै जाँदा सोमबार अध्यक्ष दाहालले नै एकतामा ‘फिप्टी–फिप्टी’ को नीति लागू हुने बताएका छन् । राजनीतिक प्रतिवेदन लेखन कार्यदल र विधान मस्यौदा कार्यदलले थप भएको समयमा समेत काम नसकी एकता प्रक्रिया लम्बिँदा माओवादीले नयाँ सर्तका रूपमा बराबरी हिस्सा हुनुपर्ने बताएको हो ।

पार्टीभित्र दबाब बढेपछि अध्यक्ष दाहालले पार्टी एकतामा दुवै पार्टीका बराबर सदस्य रहने गरी अन्तरिम संगठन बनाइने अन्यथा एकता नै नहुने भनाइ विद्यार्थी नेताहरूलाई गराएका छन् । सोमबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण समापनमा दाहालले एक जना पनि कम भएर एकता नहुने भनाई राखेका हुन् । ‘संगठन पार्टी एकताको निकै पेचिलो प्रश्न हो । तपाईंहरूले पनि यही चिन्ता गरिरहनुभएको छ, हाम्रो मान्यता र अडान के स्पष्ट छ भने संगठन बनाउँदा दुवै पक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन,’ सहभागी एक नेताका अनुसार प्रशिक्षणमा दाहालको भनाइ थियो ।

एमाले र माओवादीबीच पार्टी ६०÷४० को अनुपातमा उम्मेदवार उठाएको थियो । परिणाम ७०÷३० को अनुपातमा निर्वाचित भएपछि सोही आधारमा प्रदेश सरकारमा भागबन्डा गरिएको थियो । एमाले नेता सुवास नेम्वाङ संयोजक रहेको कार्यदलले ७०÷३० कै अनुपातमा सहमति गरेको हो ।  तर, एकतामा ढिलाइ भएपछि माओवादीभित्र एकतामा आधा आधाको हिस्सा हुनुपर्ने दबाब बढेको हो । सोही दबाब थेग्न नसकी दाहाल आफैँले बराबर नभए एकता नहुने अभिव्यक्ति विद्यार्थीमाझ दिएका हुन् ।प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको जिकिर पनि गरेका छन् ।

प्रशिक्षणमा दाहालले दिएको जानकारीअनुसार एकतामा दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको छ । ‘एकता महाविधेशनसम्म दुवै पार्टीका अध्यक्ष नै अध्यक्ष रहने र आलोपालो बैठकको नेतृत्व गर्ने सिद्धान्त बनाइएको छ,’ दाहालको भनाइ थियो । दाहालले हतारमा एकता नहुने पनि बताए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा चलेपछि दाहालले सबै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने प्रष्ट पारेका हुन् । ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउन सकिँदैन, सबै टुंगो लगाएर मात्रै एकता हुन्छ,’ दाहालको भनाइ थियो ।

sabhar: sourya daily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter