बुधबार, १२ बैशाख २०८१

नेपाली काँग्रेसको मुख्य सचेतकमा खाणको मनोनयन

६ चैत्र २०७४, मंगलवार २१:४५ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।

विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।

विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहनुभएका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उहाँले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

संघीय संसद्मा प्रमुख प्रतिपक्षमा रहेको काँग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उहाँका लागि निकै चुनौती र अवसरका रुपमा रहेको छ ।

मुख्य सचेतकमा मनोनयन हुनुभएपछि  उहाँले काँग्रेसले संघीय संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो ।

मुख्य सचेतक खाणले भन्नुभयो, “बहुलबादमा आधारित शासन व्यवस्थाको रक्षार्थ काँग्रेस सशक्त पहरेदारको भूमिकामा रहनेछ, सरकारको राम्रो कामको समर्थन गर्ने छ, तर राष्ट्रहित र जनताका अधिकार कुण्ठित गर्ने प्रयास भएमा प्रखररुपमा उत्रने छ ।”

नेपाली जनताको लामो संघर्ष र चाहनाअनुरुप संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएका विषयवस्तु तथा मूल्यमान्यताको रक्षाका लागि आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई आगामी दिनमा पार्टीले प्रभावकारी ढंगबाट अघि बढाउने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter