शुक्रबार, ०७ बैशाख २०८१

प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

१४ फाल्गुन २०७४, सोमबार १६:४३ मा प्रकाशित

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि साेमबार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उनले भने, “भ्रष्टाचारमुक्त समाजको निर्माण , दण्डहीनताको अन्त्य र अपराधजन्य घटना रोक्नका लागि शून्य सहनशीलता अपनाउने निर्णय गरिनेछ ।”

नागरिकको सम्मान र सुशासनका लागि नागरिकसँग प्रहरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राईले एक महिनाभित्रमा प्रहरीको टोलीले प्रत्येक घरको मूलद्वारमा स्टिकर टाँस्ने र सो स्टिकरमा स्थानीय, इलाका र जिल्ला प्रहरीका महत्वपूर्ण टेलिफोन वा मोबाइल नम्बर समेत समावेश गरिने बताए ।

सरकारको नीति तथा कार्यक्रमअन्तर्गत ‘आफ्नो बाटोमा आफैँ हिँड्ने नीतिअनुरुप’ १०० दिनको कार्यलाई प्राथमिकतामा राखेर आ–आफ्ना जिल्ला र क्षेत्रको महत्वपूर्ण कार्यमा केन्द्रित हुन प्रदेशसभा सदस्यलाई आह्वान गर्दै उनले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनका लागि आगामी पाँच वर्षको कार्ययोजना तयार गरी कार्य गरिने जानकारी गराए ।

दिउँसो बैठक शुरु हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईलाई आफ्नो सम्बोधनका लागि समय दिएका थिए ।

(रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter