काठमाडौं– ‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।’यो भनाई सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने । उनकी छोरी १८ वर्षीय अस्मिता भन्दै थिइन्, ‘बाबा म कक्षा ११ गाउँमा सकिएपछि काठमाडौं गएर पढ्छु है ।’ शेरबहादुरले पनि छोरीको कुरामा सहमति जनाएका थिए ।
यही फागुन १४ गते रातको १० बजेसम्म उनले परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका थिए । सुतेको एक घण्टापछि अर्थात राती १२.३० बजे मलेसियाबाट शेरबहादुरको नम्बरबाट फोन आयो, फोन आएपछि किन गरेको होला, भर्खरै त फोन गरेको, किन फेरि गरेका होलान भनेर झस्किए । शेरबहादुरले पहिले त्यसरी फोन नगर्ने गरेको उनकी श्रीमती गोपी खड्काले बताइन् ।फोन शेरबहादुरको नभएर उनको साथीको आएको रहेछ । उनको साथीले अचानक भने, ‘शेरबहादुरलाई अचानक गाह्रो भएर यहीँकै अस्पतालमा लगेका छौँ ।’ त्यति भनिसकेपछि चिन्ता नलिनु भन्दै उताबाट फोन काटियो । उक्त फोनपछि परिवारका सबै सदस्य आत्तिए । उनका साथीले चिन्ता नलिनु भनेपछि सबै सुते ।
२ बजेदेखि फेरि फोनको घण्टी बजिरहेको रहेछ । दुई/तीन पटक फोन आइसकेपछि मात्र छोरी अस्मिताले फोन उठाइन् । फोन उठाउने वित्तिकै उताबाट आवाज आयो, ‘तपाईंको बुबा यो संसारमा रहनुभएन् ।’ त्यसपछि परिवारमा रुवावासी शुरु भयो । गाउँले पनि परिवारलाई सान्त्वना दिन आइपुगे । शेरबहादुर विसं २०७१ असारमा मलेसियामा वैदेशिक रोजगारीको लागि गएका थिए । फर्निचरको काम गर्न भनेर गएका उनी त्यहाँ गएर पनि त्यही काम नै गर्न थालेका थिए । तर केही महिनामा तलब बढाइदिने भने पनि उही तलबमा तीन वर्षसम्म काम गरिरहे । परिवारको ऋण तिर्न नसकेपछि उनले पुनः एकवर्ष थप गरी काम गर्ने निधो बनाएका थिए । ०७४ असारमा नै म्याद सकिए पनि ०७५ असारसम्मका लागि समय थप गरी कामलाई निरन्तरता दिएका थिए । तर उनको अचानक मृत्युपछि चारजना छोराछोरीलाई पढाउने र ऋण तिर्ने जिम्मेवारी उनकी श्रीमती गोपीको काँधमा आइपरेको छ ।
बीमालगायत क्षतिपूर्ति पाउन गोपी भाइ बलबहादुर केसीको साथ काठमाडौँ आइपुगिन । तर काठमाडौँ आएपछि उनले थाहा पाइन् कि उनले ती सबै रकम नपाउने रहिछन् । तर म्यानपावरबाट भने उनले एक लाख ३० हजार क्षतिपूर्तिबापतको रकम पाइन् । उनी भन्छिन् ‘श्रीमान् विदेश जाँदाको ऋण अझै तिर्न बाँकी छ, छोराछोरीलाई पनि कसरी पढाउनु ?’वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायत बीमा कम्पनी सबैतिर उनका भाइ र उनी भौतारिँदा पनि कतैबाट क्षतिपूर्ति नपाउने बताएकाले आफू निराश भएर फर्किएको उनी बताउन्छि । उनका कान्छा छोरा अहिले सात वर्षका भए, त्यस्तै माइला छोरा १२, जेठो १६ र छोरी १८ वर्षकी भइन् । छोराछोरीलाई अब आफूले पढाउनसक्ने अवस्था नरहेको र सरकारले पढाइदिन्छ भन्ने सुनेर काठमाडँंैसम्म धाएको उनले बताइन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने ‘नेपालमा यसरी म्याद नाघिसकेपछि पनि विदेशमा बस्नेको संख्या धेरै भएको र म्याद नाघेपछि मृत्यु हुनेको संख्या धेरै भएपछि नै तिनीहरूलाई क्षतिपूर्ति दिने क्षमता सरकारमा नभएपछि नियमावली संशोधन गरेका हौँ ।’





तपाईंको प्रतिकृयाहरू