आइतबार, २३ बैशाख २०८१

तीज र चौँठचन्द्र पर्व एकसाथ

प्रभाषचन्द्र झा

१६ भाद्र २०७६, सोमबार १३:२४ मा प्रकाशित

पोखरा, १६ भदौ    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो । धार्मिक एवम् सांस्कृतिक पर्वका रुपमा स्थापित तीजका साथै चौँठचन्द्र पर्वको रौनक गण्डकी प्रदेशको राजधानी पोखरामा देखिएको छ । पोखरामा बस्दै आएका मैथिल समुदाय चौँठचन्द्र पर्व मनाइरहेका छन् । पतिको दीर्घायुका साथै परिवारको मङ्गलमय कामनाका लागि आराध्यदेव महादेवको पूजा गर्दै तीज पर्व मनाउने महिला आज बिहानैदेखि ब्रत बसेका छन् । आज साँझको समयमा हुने चौँठचन्द्रको पूजाका लागि मैथिल समुदायका महिला पनि आज बिहानैदेखि उपवासमा छन् । चौँठचन्द्र पर्वका अवसरमा ऋद्धिसिद्धिका दाता गणेशको पूजाका साथै चन्द्रमा र रोहिणीको विधिवत् पूजा गरिन्छ । रोहिणी चन्द्रमाकी पत्नी हुन् । सधवा महिलाले सर्वप्रथम गौरीको पूजा गर्छन् । त्यसपछि गणेशका साथै घरका देवीदेवता लगायतको पूजा गर्छन् । आज सधवाले विष्णुको पूजा गर्दैनन् । विधवाले सर्वप्रथम विष्णुको पूजा गर्छन् तर गौरीको पूजा गर्दैनन् । मिथ्या कलङ्कबाट जोगिन र परिवारको कल्याणका लागि प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौँठचन्द्र पूजाको शुभारम्भ गर्नुभएको थियो । सर्वसाधारणलाई यस पर्वको महत्वको विषयमा जानकारीका साथै परिवारको कल्याण हुने विश्वास जागृत गराउन उहाँ सफल हुनुभएको थियो । उहाँ ज्योतिष पनि रहेको विश्वास गरिन्छ । स्यमन्तक मणि चोरीको झुटो आरोपबाट प्रताडित हुनुभएका भगवान् कृष्णले ऋषिको सल्लाहमा आजकै दिनमा विधिवत् रुपमा चौँठचन्द्र पर्वको पूजा गर्नुभएको पुराणमा उल्लेख छ । त्यसपछि उहाँ मिथ्या कलङ्कबाट जोगिनुभएको थियो । यी दुई कारणले सांस्कृतिक एवम् धार्मिक पर्व चौँठचन्द्र मैथिल समुदायले विधिपूर्वक मनाउँदै आएका छन् । चौँठचन्द्र पर्वमा पूजा आँगनमै गरिन्छ । खुला आकाशमुनि पूजा गर्ने चलन छ । सर्वप्रथम गाईको गोबरले आँगनलाई लिपपोत गरिन्छ । अरुवा चामलको पीठोले पूजास्थललाई कलात्मक अरिपन बनाइन्छ । सो अरिपनमा चन्द्रमाको आकृति बनाइनुका साथै सामग्री राख्ने स्थल पनि अङ्कित गरिएको हुन्छ । यस पर्वमा नयाँ माटोको भाँडोमा जमाइएको दही, नरिवल, मिठाई, केरा र विभिन्न प्रकारका परिकार राखिन्छ । त्यसपछि विधिवत् रुपमा पूजा शुरु हुन्छ । पूजा नहुन्जेलसम्म चन्द्रको दर्शन नगर्ने चलन छ । पूजाको प्रसाद नलिई चन्द्रमाको दर्शन गरे मिथ्या कलङ्क लाग्ने विश्वास रहिआएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter