बिहिबार, २० बैशाख २०८१

नेपालमा मद्रसा शिक्षा

ज़ाकिर हुसैन

२६ आश्विन २०७५, शुक्रबार १६:०० मा प्रकाशित

मद्रसा शिक्षाको सैद्धान्तिक धरातल र इतिहास

मद्रसा के हो ?

मद्रसा अरबी शब्द हो जसको अर्थ सिकाइको केन्द्र हुन्छ ।. (http://www.uvm.edu) अर्थात् मद्रसा यस्तो ठाउँ हो जहाँ सिक्ने र अध्ययन गर्ने गरिन्छ ।

मद्रसा शिक्षण सम्बन्धी कुनै पनि संस्थाको लागि प्रयोग गरिने शब्द हो चाहे त्यो धार्मिक होस् वा सांसारिक । मद्रसा शब्दले खास प्रकारको धार्मिक स्कुल वा कलेजलाई जनाउँदछ जहाँ इस्लाम धर्मको अध्ययन गरिन्छ । यद्यपि त्यहाँ त्यही मात्र विषयहरूको अध्ययन हुन्छ भन्ने चाहिँ होइन ।

नेपालमा र सम्पूर्ण भारतीय उपमहाद्वीपमा मद्रसा भन्नाले परम्परागत इस्लामी संस्थालाई जनाउँदछ जहाँ परम्परागत इस्लामी शिक्षा अध्ययन–अध्यापन हुने गर्दछ । सामान्यतः नेपालमा मद्रसा शब्दले तीन किसिमका इस्लामी शैक्षिक संस्थालाई जनाउँदछ; पहिलोलाई जामिया वा दारुल उलूम भनिन्छ । यसमा सामान्यतया कलेज र विश्वविद्यालय तहको अध्ययन अध्यापन हुने गर्दछ । दोश्रोलाई मद्रसा भनिन्छ । यसमा सामान्यतया प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको अध्ययन अध्यापन हुने गर्दछ । तेश्रोलाई चाहिँ मक्तब भनिन्छ । यसमा सामान्यतया पूर्व प्राथमिक र कहिलेकाहीँ प्राथमिक तहको अध्ययन अध्यापन हुने गर्दछ ।

इस्लामी शिक्षा 

इस्लामको परम्परा सिक्नु र सिकाउनुबाट प्रारम्भ हुन्छ । कुरआन शब्द जुन मुसलमानहरूको प्रमुख धार्मिक ग्रन्थ हो, को शाब्दिक अर्थ पढ्नु र पाठ गर्नु हुन्छ । ईश्वरीय श्लोकहरूको अवतरण पूरा भएर कुरआनको रूपमा संग्रहित भएपछि, यो ग्रन्थ इस्लामी शिक्षाको केन्द्र भाग बन्यो । मुसलमानहरूले यसलाई अल्लाहको पूर्ण पवित्र वाणीको रूपमा ग्रहण गरे । त्यसैले यसलाई परिवर्तन वा संशोधन गर्न सकिंदैन । प्रत्येक मुसलमानका लागि हार्दिक रूपमा यस ग्रन्थका मार्गनिर्देशनहरूलाई मान्नु र अनुशरण गर्नु कर्तव्य (ड्युटी) भयो । इस्लामी शिक्षा धार्मिक ज्ञानको प्रसार गर्नुमा मात्र सीमित छैन, यसले मुसलमानहरूलाई मानव कल्याणका निम्ति आवश्यक पर्ने सवै खाले सांसारिक शिक्षा हासिल गर्न पनि निर्देश गर्दछ । यी निर्देशहरूले इस्लामी शिक्षाको रूपमा बुझिने भिन्न शिक्षा प्रणालीलाई विकसित गर्ने कार्यमा जीवन्त भूमिका निर्वाह गरेका छन् । इस्लामी शिक्षा प्रणालीले इस्लामी ज्ञानको प्रसारका लागि निश्चित उद्देश्य, पाठ्यक्रम संरचना र शैक्षिक संस्थाहरूको श्रृंखलालाई आफूभित्र समाहित गरेको छ ।

मद्रसा शिक्षाको लक्ष्य,,   एक दार्शनिक दृष्टिकोण

 

शिक्षाको लक्ष्यले विभिन्न दार्शनिक श्रोतहरूद्वारा निर्धारित जीवनको त्यस लक्ष्यलाई निर्देशित गर्दछ जसले कुनै विशेष समूहको मानिसहरूको जीवनलाई प्रभावित गर्दछ । शिक्षा जीवनको लक्ष्य प्राप्त गर्ने एक मात्र गाडी हो । मुस्लिम धार्मिक मान्यता–प्रधान समाज भएकोले उसको जीवनको लक्ष्य मुख्यतः धर्मद्वारा निर्देशित भएको हुन्छ । इस्लामी मान्यता अनुसार मानिसको जीवनको लक्ष्य परलोकमा मोक्ष प्राप्ति हो । मुसलमान न्यायको अन्तिम दिन (कयामत) माथि आस्थावान हुन्छ जुन दिन अल्लाहले मानिसको कर्मको फैसला गर्नेछन्; उसलाई कर्म अनुसार पुरस्कारको रूपमा स्वर्ग र दण्डको रूपमा नर्क प्रदान गर्नेछन् । मुसलमानले शिक्षालाई जीवनको लक्ष्य प्राप्त गर्ने साधनको रूपमा प्रयोग गर्दछ । जीवनको यो महान् लक्ष्य प्राप्त गर्नका लागि इस्लाम धर्मले शिक्षा हासिल गर्न बडो स्पष्ट निर्देशन दिएकोछ । इस्लाम धर्मको अनुयायीको रूपमा मुसलमानको पहिलो कार्य अल्लाहको इच्छाको अनुसरण गर्नु हो जुन पवित्र कुरआनको रूपमा संग्रहित छ । कुरआनले पनि मुसलमानलाई सवै प्रकारका ज्ञान हासिल गर्न आदेश दिएको छ जुन समाज कल्याणको लागि आवश्यक हुन्छ ।

मियाँसाहिब (१९९१) ले मुसलमानका लागि शिक्षाको दुई व्यापक क्षेत्रको बारेमा बताएका छन् ः—

(क) फर्ज–ए–ऐन (अनिवार्य उत्तरदायित्व वा प्रत्येक मुसलमानले प्राप्त गर्नुपर्ने शिक्षा)
(ख) फर्ज–ए–कफाया (सामाजिक वा सामूहिक उत्तरदायित्व)

फर्ज–ए–ऐन त्यस प्रकारको शिक्षा हो जुन प्रत्येक मुस्लिमको लागि अनिवार्य छ । फर्ज–ए–ऐनमा समाहित शिक्षा (ज्ञान) प्राप्त गर्नु प्रत्येक मुस्लिम व्यक्तिको अनिवार्य कर्तव्यभित्र पर्दछ ।

फर्ज–ए–कफाया त्यस प्रकारको शिक्षा हो, जुन समुदायका अन्य सदस्यहरूको कल्याणका लागि मुस्लिम समुदायका केही सदस्यहरूले हासिल गर्दछ । समाजको कुनै वा केही व्यक्तिले यो शिक्षा (ज्ञान) प्राप्त गरेमा समाज वा समुदायका सवै मानिसहरूको कर्तव्य पूरा हुन्छ र उनीहरू पापबाट मुक्त हुन्छन् ।

नेपाल र भारतीय उपमहाद्वीपमा मद्रसाहरू फर्ज–ए–ऐन सँग सम्बन्धित शिक्षा प्रदान गर्ने केन्द्र बनेका छन् । उनीहरूले फर्ज–ए–ऐनको मान्यताअनुसारको शिक्षा प्रदान गर्ने पाठ्यक्रमहरूलाई प्रयोगमा ल्याएका छन् । यी मद्रसाहरूले पूर्ण धार्मिक पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्दछन् जसलाई धार्मिक विषयको रूपमा बुझ्ने गरिन्छ । मद्रसा शिक्षाको यस दार्शनिक र धार्मिक धारणाको कारणले मद्रसा शिक्षा राज्यको मूलधारको शिक्षासँग सामान्यतः मेल खाँदैन । मूलधारको शिक्षा फर्ज–ए–कफाया प्रकृतिको शिक्षा (सामाजिक वा सामूहिक उत्तरदायित्व) सँग सम्बन्धित छ । इस्लामी शिक्षाको दार्शनिक मान्यता अनुसार फर्ज–ए–ऐन (व्यक्तिसँग सम्बन्धित) र फर्ज–ए–कफाया (समूहसँग सम्बन्धित) दुवै प्रकृतिको शिक्षा मुस्लिम समुदायको निम्ति आवश्यक छ । यही कारण हो जसले गर्दा भारत र भारतीय उपमहाद्वीपका अन्य राष्ट्रहरूमा दुई प्रकारका मद्रसा र दुई किसिमका पाठ्यक्रमहरू छन् । पहिलो वर्गमा चाहिँ यस्ता मद्रसाहरू छन् जुन राज्यको मूल शैक्षिक धारसँग जोडिएका छन् र अर्को वर्गमा चाहिँ स्वतन्त्र प्रकृतिका मद्रसाहरू छन् । विभिन्न देश र राज्यहरूमा मद्रसा बोर्डहरू छन्; जस्तै— भारतको बिहारमा बिहार मद्रसा बोर्ड, बंग्लादेशमा बंग्लादेश मद्रसा एजुकेशनल बोर्ड । यी मद्रसाहरू राज्यको शिक्षाको मूलधारसँग जोडिएका छन् । यसरी नै, भारतमा सयौं स्वतन्त्र मद्रसाहरू छन् । दारुल उलूम देउबन्द (लखनऊ), नदवतुल उलमा (लखनऊ), अल्–जामिया अल्–सलफिया र दारुल–उलूम मञ्जर इस्लाम (बरेली) जस्ता स्वतन्त्र मद्रसाहरूले आफ्नो स्वतन्त्र पाठ्यक्रम र पाठ्यपुस्तक विकास गरेका छन् । र, यी मद्रसाहरूबाट जारी गरिएका शैक्षिक प्रमाणपत्रहरूलाई भारतमा मान्यता प्राप्त छ जबकि यी मद्रसाहरू राज्यको मूल शैक्षिक धारमा समाहित भएका छैनन् । यसरी, भारत, पाकिस्तान र बंग्लादेश जस्ता दक्षिण एसियाली राष्ट्रले मद्रसा शिक्षालाई आफ्नो देशको शिक्षा प्रणालीमा समावेश गरेका छन् । मुस्लिम नागरिकले यस प्रणालीद्वारा यी देशहरूमा शिक्षा हासिल गरिरहेका छन् । भारतका केही राज्यहरूमा स्वायत्त प्रकृतिका मद्रसा बोर्डहरू छन् जसले मद्रसाहरू सञ्चालन र नियन्त्रण गर्दछन् । सरकारले तिनीहरूलाई आर्थिक श्रोत जुटाउँछ । यी मद्रसाहरूका शैक्षिक प्रमाणपत्रहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ ।

मद्रसाको इतिहास 

इस्लामको प्रसारको युगमा फर्केर हे¥यौं भने, पैगम्बर मुहम्मद (सल्ल.) स्वयंले शिक्षाको प्रबद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको पाउँछौं । सफा पहाडको फेदमा स्थित दारुल अर्कममा पैगम्बर मुहम्मद (सल्ल.) ले पहिलो मद्रसा स्थापित गरेर स्वयंले प्रशिक्षण दिनुभएको थियो । इस्लामी शिक्षामा आधारित यस प्रथम शैक्षिक प्रतिष्ठानमा अबू बकर (रजि.), उमर (रजि.) र केही अन्य सहाबीहरू पहिला विद्यार्थीहरू थिए । उहाँले पछि पढाउने जिम्मेवारी इब्न उम्मे मक्तुम र मास आब बिन् उमैरलाई सुम्पेर मदीना पलालयन हुनुभयो । शिक्षाको प्रसारको लागि मुसलमानबाट भएको पहलको रूपमा उहाँले बद्र–युद्धमा जितेर बन्दी बनाइएका ६०–७० जना सत्रुलाई प्रत्येकलाई १० जनाका दरले बालबालिकाहरूलाई शिक्षा दिएमा कैदमुक्त गरिदिने घोषणा गर्नुभएको थियो ।

पैगम्बर मुहम्मद (सल्ल.) मदीना आउनुभएपछि उहाँले नबबी मस्जिदनजिकै एउटा शैक्षिक संस्था स्थापना गर्नुभयो । यसलाई मद्रसा–ए–सुफ्फा भनिन्थ्यो । यस शैक्षिक संस्थामा विद्यार्थीहरूलाई बस्ने सुविधा पनि थियो जहाँ गरीब र शहरबाहिरका विद्यार्थीहरू बस्ने गर्थे । अबू होरैरः, मुयाज इब्न जबाल, अबूजर जिफारी जस्ता सहाबीहरू त्यहाँका विद्यार्थी थिए । यो मद्रसा बिस्तारै मदीनाको केन्द्रीय शैक्षिक संस्थाको रूपमा रूपान्तरण भयो ।

ईसाको सातौं शताब्दीमा इस्लाम धर्मको उदय भएदेखि नै मद्रसा परम्परागत इस्लामी (धार्मिक) शिक्षाको लागि मुस्लिम समुदायद्वारा भरोसायोग्य ठाउँ बन्न थालेको थियो ।

साउदी अरबबाहिर पहिलो मद्रसा फातिमिद खलिफाहरूद्वारा १००५ मा इजिप्ट (मिश्र) मा स्थापना भएको मानिन्छ । यस पहिलो मद्रसामा सवै प्रकारकारका सामग्रीहरू उपलब्ध थियो; जस्तै— पुस्तकालय, विभिन्न विषयहरू पढाउने शिक्षकहरू । यस मद्रसाको उल्लेखनीय कुरा चाहिँ यसको पाठ्यक्रम थियो जसमा धार्मिक शिक्षा, खगोल शास्त्र, वास्तुकला र दर्शनशास्त्र समावेश थिए । सुन्नी मुस्लिमहरूले मिश्र (इजिप्ट) कब्जा गरेपछि उनीहरूले इस्लामको आफ्नै अवधारणा प्रतिस्थापित गरे र त्यहाँ प्रारम्भिक ज्ञानमा आधारित पुस्तकहरू समावेश गराए ।

बग्दादमा निजाम–उल–मुलक हसन बिन्–अल् तुसीले १०६७ मा निजामिया नामको पहिलो व्यवस्थित मद्रसाको स्थापना गरे । निजामिया मद्रसाले कर्मचारी, प्रशासक, शाही अदालतका लागि न्यायधीश र मुफ्ती (धर्माधीश) सम्बन्धी प्रशिक्षण दिने योजना बनायो । यस मद्रसाका शिक्षक तथा विद्यार्थीहरू कुलीन वर्गका थिए । मद्रसाका मुख्य लक्ष्यहरूमध्ये पहिलो चाहिँ प्रशासक हुने लायकका कर्मचारी उत्पादन गर्नु र फिकः (इस्लामी विधिशास्त्र) को अध्यापन गराउनु थियो । मद्रसाको यो लक्ष्य परिपूर्ति भइरहेको थियो ।

सुन्नी सम्प्रदायका हनफी, हम्बली, मालिकी र साफई सवै खेमाका मद्रसाहरूका आ–आफ्नै पाठ्यक्रमहरू थिए । यी मद्रसाहरूको मुख्य लक्ष्य भनेको इस्लामी कानूनको समझ विकसित गर्नु नै रहेको थियो । त्यसैले यिनमा कुरआन, हदीस, कियास (कारणमा आधारित तर्क), इज्मा (मुस्लिम समुदायको सामूहिक निर्णय) प्रमुख विषयहरू समावेश थिए । यी मद्रसाहरूको पाठ्यक्रममा अरबी व्याकरण, तर्क शास्त्र, दर्शन शास्त्र आदि विषयहरू पनि समावेश गरिएका थिए ।

रहमान नामक एक लेखक (२००४) का अनुसार शाह अब्दुल रहिम भन्ने एक मुस्लिम विद्वान्ले १७१८ मा बग्दादको रहमानिया मद्रसाका लागि एक पाठ्यक्रम विकसित गर्ने प्रयास गरेका थिए ।

भारतीय उपमहाद्वीपमा मद्रसाको अभ्यास :

मुस्लिम विद्वान् निजामुद्दीन सिहाल्वीले १७४८ मा फरंगी महल लखनऊमा मद्रसाको लागि पहिलो मापदण्ड पुगेको पाठ्यक्रम विकसित गरे । यिनीबाट विकसित पाठ्यक्रमलाई ‘दर्श–ए–निजामी’ को नामले चिनिन्छ । यसअघि शाह अब्दुर्रहीमद्वारा तयार पारिएको पाठ्यक्रममा मंकुलात (अध्यात्मिक ज्ञान) माथि जोड दिइएको थियो । ‘दर्श–ए–निजामी’ मा माकुलात (सामान्य ज्ञान) माथि जोड दिइएको थियो । यसअघि व्याकरण, तर्कशास्त्र र दर्शन शास्त्रमाथि बढी पुस्तकहरू थिए (रहमान, २००४) र अहमद ९जततउस्ररधधध।बउभकक।यचन० ले वर्णन गरेअनुसार ‘दर्श–ए–निजामी’ को पाठ्यक्रमले २० वटा विषय समेटेको छ जसलाई दुई भागमा विभक्त गर्न सकिन्छ—

१. अल्–उलूम–अन्–नकालिया (अवतरित अध्यात्मिक ज्ञान)
२. अल्–उलीम–अल्–अकालिया (सन्तुलित ज्ञान)

भारत, पाकिस्तान, बंग्लादेशजस्ता दक्षिण एसियाली राष्ट्रहरूले आफ्नो मूल शिक्षा प्रणालीमा मद्रसा शिक्षालाई पनि समाहित गरेका छन् । यी राष्ट्रहरूमा लाखौंको संख्यामा मुसलमानहरू मद्रसामा शिक्षा हासिल गर्दछन् । भारतका केही राज्यहरूमा स्वायत्त मद्रसा बोर्डहरू छन् जसले मद्रसाहरू सञ्चालन गर्दछन् र तिनलाई नियमन गर्दछन् । सरकारले तिनीहरूलाई आवश्यक कोषको व्यवस्था गरेको हुन्छ । तिनका शैक्षिक प्रमाणपत्रले मान्यता प्राप्त गरेको छ ।

पाकिस्तानमा मद्रसाहरू नीजि इन्टरप्राइजेजको रूपमा सञ्चालित छन् । यद्यपि सरकारले तिनीहरूलाई कोष उपलब्ध गराउँदछ । बंग्लादेशमा मद्रसाहरू अझ बढी व्यवस्थित छन् । त्यहाँ मद्रसाहरू सरकारको नियमित बजेटबाट सञ्चालित छन् । यी मद्रसाहरूले इस्लामी शिक्षा मात्र प्रदान गर्दैनन् बरु यिनीहरूले मुस्लिम विद्यार्थीहरूलाई आधारभूत शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

सामान्यतः यी मद्रसाहरूको मुख्य विषयहरूमा कुरआन, हदीस, फिका, इस्लामी इतिहास, अरबी र उर्दू जस्ता भाषा विषयहरू पर्दछन् ।

भारतमा मुसलमानको प्रवेशपछि भारतीय उपमहाद्वीपमा मद्रसा शिक्षाको बिस्तार भयो । दारुल उलूम देउबन्द, नदवतुल ओलमा, दारुल उलुम मञ्जर इस्लाम बरेली, अल्–जामिया अल्–सलफिया, जामेअतुल फलाह, मद्रसा अस्सरफिया मुबारकपुर, मद्रसा अहमदिया सलफिया दरभंगा भारतका निकै प्रख्यात मद्रसाहरू हुन् ।

Madrasa Education an observation, muzip Mehdy, Bangladesh Nari progati sangha, september 2003  को प्रतिवेदन अनुसार छैठौं शताब्दीमा पश्चिमी भारतमा अरबका मुसलमानहरूको आगमन भयो । यो आवागमन पूर्वी भारतमा बाह्रौं–तेह्रौं शताब्दीतिर भयो । नवआगन्तुक मुसलमानहरूको पहल र मुस्लिम जनसंख्यामा बिस्तारले गर्दा पश्चिम भारतका दिल्ली, लखनऊ, रामपुर, आगरा, मद्रास र ढाका तथा अन्य मुख्य शहरहरूमा मद्रसा शिक्षा पनि फष्टाउँदै गयो ।

‘तारिख–ए–फेरिश्ता’ अनुसार भारतमा पहिलो मद्रसा चाहिँ पश्चिमी भारतको मुलतान प्रोभिन्स (हाल पाकिस्तान) मा स्थापना भयो । सम्भवतः छैठौं शताब्दीमा नसिरुद्दीन कबाचाले मौलाना कुतबुद्दीन कसानीका लागि मद्रसा फिरोजी भवन बनाएका थिए । यो मद्रसा नै भारतीय उपमहाद्वीपमा औपचारिक रूपमा स्थापना भएको पहिलो मद्रसा हो भन्ने विश्वास गरिन्छ ।

नेपालमा मद्रसा शिक्षा 

नेपालमा मद्रसा शिक्षाको इतिहासबारे स्पष्ट कुनै धारणा बनेको छैन । इतिहासकारहरूका अनुसार मुसलमानहरू तेह्रौं शताब्दीमा नेपालका पहाडी जिल्लाहरूमा प्रवेश गरेका थिए । त्यसै समयमा काठमाडौं उपत्यकामा मस्जिदहरूको निर्माण भएको देखिन्छ । मस्जिदहरूमै मुसलमानहरूले आफ्ना बालबालिकाहरूलाई आधारभूत इस्लामी शिक्षा दिन थाले । धर्मगुरुहरूले यी मस्जिदहरूमा धार्मिक शिक्षा प्रदान गर्न शुरुआत गरे । यसरी नै तराई÷मधेशमा मुसलमानहरू त्यसभन्दा पहिलेबाट नै बस्दै आएका थिए । स–साना मक्तबहरूको प्रयास तराईमा पहिलेबाट नै भइसकेको थियो । भारतको लखनऊ, रामपुर, ढाकाजस्ता शहरहरूमा मद्रसा शिक्षा फस्टाएपछि यसको प्रभाव नेपालको तराईका जिल्लाहरूमा परेको स्वतः अनुमान गर्न सकिन्छ । यसरी के विश्वास गर्न सकिन्छ भने नेपालमा मद्रसाहरूको स्थापना मल्लकालमा नै भएको हो ।

राणाकालमा शिक्षामाथि राणाहरूको हस्तक्षेप भएपछि मद्रसाहरूलाई पनि यसले गाँजेको थियो । त्यसैले राणा कालपछि चाहिँ मद्रसाहरूको संख्यामा ठूलो वृद्धि भएको तराईका पुराना मद्रसाहरूको स्थापना कालले प्रष्ट्याउँछ । पञ्चायती कालमा मद्रसाहरू नेपालमा सयौंको संख्यामा अस्तित्वमा थिए । २०४६ सालको परिवर्तनपछि मद्रसाहरूको संख्यामा झन् वृद्धि भएको यथार्थ हो । २०५२ सालमा सरकारले मद्रसा जाँचबुझ कार्यदल बनाएर मद्रसाहरूको सर्वेक्षण गर्दा मद्रसाहरूको लगभग संख्या स्पष्ट भएको थियो । २०६३ सालमा सरकारले निःशुल्क मद्रसा दर्ताको प्राबधान ल्याएपछि मद्रसा र खास गरी साना मद्रसा (मक्तब) को संख्यामा झन् ठूलो वृद्धि भएर आयो । हाल सयौंको संख्यामा ठूला मद्रसाहरू छन् । सरकारी आँकडा अनुसार ११९७ मद्रसाहरू दर्ता भएका छन् । केही मद्रसाहरूमा स्नातक तहसम्मको अध्ययन–अध्यापन हुन्छ । केही बालिका मद्रसा (बनात) हरू पनि सञ्चालनमा छन् जसमा स्नातक तहसम्मको शिक्षादिक्षा दिइन्छ ।

कपिलवस्तु कृष्णनगरको जामिया सेराजुल उलूम, सुनसरी जल्पापुरको दारुल उलूम नुरुल इस्लाम, सुनसरी भुटहाको जमिअतुल इस्लाह अल् इस्लामिया, रौतहटको राजपुर फरहदवास्थित मद्रसा महमुदिया नेपालका ठूला मद्रसाहरू हुन् । काठमाडौंको नेपाली जामे मस्जिदकै परिसरमा भएको मद्रसा इस्लामिया (स्कुल) नेपालको सर्वाधिक प्राचीन मद्रसाहरूमध्ये पर्दछ ।

मौलिक हकको रूपमा शैक्षिक हक 

मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २६ अनुसार प्रत्येक व्यक्तिलाई कमसेकम प्रारम्भिक र आधारभूत तहसम्म निःशुल्क शिक्षाको अधिकारक छ । विश्वका प्रायः सवै मुलुकहरूमा बिना कुनै भेदभाव सवै बालबालिकाहरूलाई आधारभूत शिक्षा उपलब्ध गराउन विभिन्न प्रयासहरू भएका छन् । Jomtien conference Declaratoin 1990 र Dakar framework of Action 2000 ले   स्वीकार गरिसकेको र सहस्राब्दी विकास लक्ष्यले समेत जोड दिएको २०१५ सम्ममा सबैका लागि शिक्षाको लक्ष्य नेपालले हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा २१ मा सामाजिक न्यायको प्रत्याभूतिको कुरा उल्लेख गर्दै भनिएको छ– आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, उत्पीडित वर्ग, गरीब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने अधिकार हुनेछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ मा समानताको हक, सांस्कृतिक तथा शैक्षिक हक र धार्मिक हक लाई पनि समावेश गरिएको थियो जुन अन्तरिम संविधान २०६३ जारी भएपछि रद्द भएर गयो । यस संविधानले प्राथमिक स्तरसम्मको शिक्षा आफ्नो मातृभाषामा प्राप्त गर्न सकिने कुरालाई मौलिक हकको रूपमा स्वीकार ग¥यो । यसले समावेशी नीतिलाई अख्तियार ग¥यो जसले नेपाली भाषालाई मात्र पठनपाठनको भाषाको रूपमा प्राप्त प्रभूत्वको अन्त्य ग¥यो । यसले सांस्कृतिक हक र अल्पसंख्यकहरूको संरक्षणमा भूमिका निर्वाह गरेको छ ।

नेपाल सरकारले विना कुनै धरौटी मद्रसाहरूलाई प्राथमिक स्कुलको रूपमा दर्ता गर्ने प्रतिबद्धता जनाउँदै यसको व्यवस्था ग¥यो । यसपछि ठूलो संख्यामा मद्रसाहरू सरकारकामा दर्ता भए । तर, यो व्यवस्था चुनौतिपूर्ण पनि छ । देशका धेरै मुसलमानहरू, खास गरी मौल्वीहरूले यस प्रयासबारे असन्तुष्टि जाहेर गरेका छन् । उनीहरूको सोचाइ अनुसार सरकारको यस पहलले मद्रसाको सांस्कृतिक वातावरण प्रदुषित गर्न सक्दछ । ९ऋभ्च्क्ष्म्, द्दण्ण्ट०

जन आन्दोलनपछि तयार भएको नेपालको अन्तरिम संविधान, २०६३ मा केही उपधारा थप गरेर सामाजिक समावेशीकरणको मुद्दालाई पनि सम्बोधन गरियो । अन्तरिम संविधानले शिक्षा नीतिको सम्बन्धमा विशिष्ट दिशानिर्देश ग¥यो । यसले मुस्लिम समाजको शिक्षालाई पनि निर्दिष्ट गर्दछ । अन्तरिम संविधानको शिक्षा तथा संस्कृतिसम्बन्धी अधिकारको धारा १७ मा मातृभाषामा आधारभूत शिक्षा पाउने विषय उल्लेख छ । यसले प्रत्येक नागरिकलाई माध्यामिक तहसम्म निःशुल्क शिक्षाको समेत प्रत्याभूति गर्दछ । यसले नेपालमा बसोबास गर्ने प्रत्येक जाति, समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति र सम्पदाको जगेर्ना र प्रबद्र्धन गर्न सक्ने अधिकारलाई सुनिश्चित गर्दछ ।

शिक्षा ऐन २०२८ को सातौं संशोधनले प्राथमिक कक्षासम्म मातृभाषामा शिक्षादिक्षा दिन सकिने व्यवस्थालाई आदिवासी जनजाति र विभिन्न भाषिक समूहका बालबालिकाहरूको अनुदेशात्मक आवश्यकता सम्बोधन गर्ने सकारात्मक पहलको रूपमा लिन सकिन्छ ।

शिक्षा विभागको अन्तरिम योजना (जुलाई २००७ – जुलाई २०१०) ले पनि अन्तरिम संविधान, २०६३ को निर्देशनलाई आत्मसात गर्दै सीमान्तकृत समूहको सामाजिक समावेशीकरणका लागि नीति तथा कार्यक्रम तयार पारेको थियो । यसले बालबालिकाहरूलाई मातृभाषामा शिक्षा प्रदान गर्न र त्रि–भाषिक नीति अपनाउन सुझाव दियो । यसले गुरुकुल, मद्रसा, आश्रम र गोम्पाद्वारा प्रदान गरिने परम्परागत शिक्षालाई मान्यता दिंदै एक प्रणालीको विकास गरी तिनलाई औपचारिक शिक्षाको तहमा समायोजन गर्न समकक्षता प्रदान गर्ने सुझाव दियो ।

 

प्राथमिक शिक्षा बिगत केही दसकयता शिक्षा मन्त्रालयको प्रमुख चासोको विषय भएको छ । बिगत दुई दसकदेखि अधाारभूत तथा प्राथमिक शिक्षा परियोजना (Basic & primary Education project – BPEP उल्लेखनीय प्रगति गरेको छ । यसले नेपालको साक्षरता वृद्धि भएर ५३.७ प्रतिसतसम्म पुगेको २०५८ सालको राष्ट्रिय जनगनणामा देखाइएको छ । यति उल्लेखनीय प्रगति हुँदाहुँदै पनि सामाजिक, आर्थिक र धार्मिक अल्पसंख्यक समुदायका बालबालिकाहरूको एक ठूलो संख्या अझै पनि शैक्षिक रूपमा पछाडि परेका छन् । द्यएभ्ए ले यी समूहहरूलाई औपचारिक शिक्षाको मूलधारमा ल्याउन यिनीहरूलाई विशेष प्राथमिक समूह (special focus Group- SFG)  को रूपमा दर्ज गरी उनीहरूका लागि विशेष प्रोत्साहनको कार्यक्रम ल्याएको छ । मुस्लिम बालबालिका यस विशेष प्राथमिक समूहको एक घटक हो ।

 

राष्ट्रिय जनगणना अनुसार मुस्लिम साक्षरता दर राष्ट्रिय औसत दरको तुलनामा निकै कम रहेको छ ।

मद्रसा शिक्षा,,   इस्लामी शिक्षा

‘मद्रसा शिक्षा’ एक महत्वपूर्ण विषय हो जसलाई राज्य द्वारा दसकौंदेखि राज्यको मूल शैक्षिक प्रवाहबाट अलग गरी राखियो । यसका बावजुद मुस्लिम समुदायले मद्रसा शिक्षालाई दसकौंदेखि अस्तित्वमा राख्यो । उनीहरूले विना कुनै आर्थिक लाभ र विना कुनै सरकारी सहयोग सयौं मद्रसा चलाए । मद्रसाहरूको विषयमा राज्यले न कहिल्यै कुनै चासो राख्यो न यसको व्यवस्थापनलाई कुनै बाधा नै पु¥यायो; यसरी मद्रसा शिक्षा प्रणाली दसकौंदेखि राज्यविहीन अवस्थामा चलिरह्यो ।

नेपाल र भारतीय उपमहाद्वीपमा, मद्रसा धार्मिक र सांस्कृतिक शिक्षा प्रदान गर्ने मुस्लिम समुदायको सबैभन्दा विश्वसनीय एवम् भरोसायोग्य शैक्षिक संस्थाको रूपमा रहेको छ । नेपालमा मद्रसा सयौं वर्षदेखि अस्तित्वमा रहेको छ । यसले परम्परागत शैलीमा मुस्लिम समुदायलाई शिक्षा प्रदान गर्दै आएको छ ।

सामान्यतः, मद्रसाले इस्लाम धर्मसँग सम्बन्धित धार्मिक शिक्षा (दीनी तालीम) भनेर चिनिने धार्मिक, सांस्कृतिक र नैतिक शिक्षा प्रदान गर्दछ । इस्लामी शिक्षाको परम्परा कुरआन पढाइ र पाठ (तिलावत) बाट शुरु भयो । इस्लाम धर्मको प्रारम्भिक दिनहरूमा अल्लाहका अन्तिम दूत मुहम्मद (सल्ल.) स्वयंले आफ्ना अनुयायीहरूलाई ईश्वरीय प्रकाशना (श्लोक) हरूको व्याख्या गरी शिक्षा दिनुहुन्थ्यो । यी ईश्वरीय प्रकाशना अवतरण हुने काम पूरा भएपछि यी प्रकाशना (श्लोक) हरूको संकलनको रूपमा कुरआन अस्तित्वमा आयो र यही ग्रन्थ इस्लामी शिक्षा (दीनी तालीम) को केन्द्र बन्यो ।

 

इस्लामी शिक्षा आध्यात्मिक ज्ञानको प्रचार गर्नुसम्म मात्र सीमित छैन । मानव हितमा प्रयोग हुने सवै खाले ज्ञान यसको दायरामा रहेको छ । इस्लामी शिक्षा प्रणालीमा खास उद्देश्य, पाठ्यक्रम संरचना र इस्लामी ज्ञानको प्रसारका लागि शैक्षिक ज्ञानको एक श्रृंखला समाहित भएको हुन्छ ।

नेपालमा मद्रसाहरूको अवस्था

१. भौतिक पूर्वाधार,,

नेपाली मद्रसाहरूको अवस्था राम्रो छैन । मद्रसामा पर्याप्त कक्षा कोठा, कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, शौचालय, खेल मैदानहरूको समुचित व्यवस्था छैन । अधिकांश मक्तब (पूर्व–प्राथमिक र प्राथमिक स्तरका मद्रसा) हरूसँग पर्याप्त कक्षा कोठा र कार्यालयहरू छैनन् । कैयौं ठाउँमा मक्तबहरू मस्जिदमा नै सञ्चालित भएको पाइन्छ । प्रयोगशालाको कुरा गर्ने हो भने यो कल्पनाभन्दा बाहिरको कुरा हो । साधारणतया मद्रसाहरूमा अध्ययन–अध्यापनको आधुनिक तरीका प्रयोग गरिएको पाइँदैन । धेरैजसो मद्रसाहरूमा उपयुक्त ढंगले फर्निचर आदिको व्यवस्था गरिएको छैन ।

ठूला मद्रसाहरूमा छात्रावासको व्यवस्था रहेको पाइन्छ । तर, यी छात्रावासहरू साँघुरा छन् । छात्रावासमा साधारणतया एउटा कोठामा ४ देखि १६ जनासम्म विद्यार्थी बस्दछन्; कोठाको संख्या पनि न्यून रहेको पाइन्छ । आर्थिक समस्याले गर्दा विद्यार्थीहरूलाई भुईंमा नै सुत्नु पर्ने बाध्यता छ । धेरैजसो मद्रसाहरूको खेल मैदान छैन । यदि छ भने पनि आर्थिक श्रोतको सीमितताले गर्दा खेलकुद सामग्रीको अभाव रहेको छ । मद्रसाहरूमा खेलकुद प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । त्यस्तै, मद्रसाका विद्यार्थीहरू स्थानीय (जिल्ला), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा प्रतिस्पर्धा गर्न पाएका छैनन् ।

धेरै जसो मद्रसाहरूका भवन त छन् तर शौचालयको अभाव छ । विद्यार्थीहरूले शौचालय र शुद्ध पिउने पानीको अभाव बेहोर्दछन् । अधिकांश मद्रसाहरूमा प्राथमिक उपचारको व्यवस्था नभएको अवस्था छ । मद्रसाहरू दाताहरूले प्रदान गरेको जग्गामा बनेका देखिन्छन् । धेरैजसो मद्रसाहरूको जग्गा मद्रसाकै नाममा दर्ता नभएको अवस्था छ । कतिपय ठाउँमा त जसको नाममा मद्रसाको जग्गा छ उसले मद्रसा सञ्चालकलाई दुःख दिने पनि गरेका छन् । कानूनी प्रावधानले गर्दा सरकारी निकायमा दर्ता नभएका मद्रसाहरूले मद्रसाको जग्गा मद्रसाकै नाममा दर्ता गराउन सक्दैनन् ।

. विद्यार्थी र शिक्षक 

नेपालभरिका मद्रसाहरूमा लगभग अढाई लाख विद्यार्थी अध्ययरत् छन् । सरकारी तथ्याङ्क मुताबिक १,१९७ मद्रसा जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छन् । यतिकै संख्यामा समुदायद्वारा सञ्चालित मद्रसा (मक्तब) हरू दर्ता नै नभई सञ्चालनमा रहेको देखिन्छ । तीमध्ये केही ठूला र केंंही त सवभन्दा ठूला आकारका पनि छन् । र, धेरै मस्जिदहरूमा पूर्व–प्राथमिक स्तरमा धार्मिक शिक्षा दिइन्छ जसलाई ‘मक्तब’ भनिन्छ र जसको कहीँ कतै कुनै अभिलेख र तथ्याङ्क राखिएको छैन ।

प्रायः गरीब तथा अनाथ विद्यार्थीहरू मद्रसाहरूमा अध्ययन गर्दछन् । सम्पन्न मानिसहरूले मद्रसाहरूमा आफ्ना बालबालिकाहरूलाई बिरलै भर्ना गराउँदछन् । प्रायः मद्रसाहरूमा नाम मात्रको शुःल्क लिइने भएको र मक्तबमा त झन् कुनै शुःल्क नै नलिने भएकोले गरीव परिवारका मानिसहरू आफ्ना बालबालिकाहरूलाई मद्रसा र मक्तबमा पढाउन आकर्षित भएका छन् । मद्रसाहरूमा सामान्यतः छात्रभन्दा छात्राहरूको संख्या बढी देखिन्छ । किनभने मुस्लिम अभिभावकले आफ्ना छोरीहरूलाई मद्रसामा नै पढाउन सुरक्षित ठान्दछन् ।

 

केहि जिल्लामा विथ्यार्थी र शिक्षकहरुको तथ्यांक (वि.स. २०७०
क्र.स. जिल्ला मद्रसाको संख्या  शिक्षकको संख्या   विथ्यार्थिको संख्या  जम्मा विथ्यार्थी संख्या 
केटा केटा % केटि केटि %
  १   बारा 36 173 3425 43.26 4493 56.74 7918
  २  पर्सा 44 126 2447 40.37 3615 59.63 6062
  ३  रौतहट 34 228 3408 36.73 5870 63.27 9278
 ४  महोतरी 67 138 3525 48.71 3712 51.29 7237
 ५  सर्लाही 43 100 2535 42.55 3422 57.45 5957
जम्मा 224 765 15340 42.08 21112 57.92 36452

केटा र केटीको अनुपात : १.१.३८

प्रति  शिक्षक विथ्यार्थी संख्या : ४८

प्रति मद्रसा संख्या : १६३

 

नेपालमा मद्रसाको दर्ता प्राबधानपछि मद्रसाको शिक्षक र शिक्षकको लैङ्गिक तथ्याङ्कमा एउटा ठूलो परिवर्तन आएको देखिन्छ । पहिले पहिले मद्रसाहरूमा कार्यरत् शिक्षकहरूमा इस्लामी अध्ययन गरेका पुरुष शिक्षकहरू मात्र देखिन्थे । अहिले चाहिँ मूलधारको शिक्षा प्राप्त शिक्षकहरूको उच्च उपस्थिति देखिन्छ जहाँ महिला शिक्षकहरूको संख्या पनि उल्लेखनीय रहेको छ । पहिले चाहिँ मुस्लिम महिला शिक्षिकाहरू मूलधारको विद्यालयहरूबाट शिक्षा प्राप्त गरेका मध्येबाट हुन्थे जबकि पुरुष मुस्लिम शिक्षकहरू चाहिँ मद्रसाबाट शिक्षा प्राप्त शिक्षक हुन्थे । तर, हाल मद्रसाहरूमा महिला तथा पुरुष दुवै प्रायः मद्रसाबाट शिक्षा प्राप्त गरेका हुन्छन् ।

प्रायः शिक्षकहरू प्रशिक्षित भएका छैनन् । तिनीहरूको तलब–सुविधा एकदमै नाजुक रहेको देखिन्छ । यी शिक्षकहरूले नियमति रूपमा तलब पाएको अवस्था छैन । यिनीहरूले कहिलेकाहीँ ६ महिनासम्म तलव पाउँदैनन् र पाए पनि खण्ड खण्ड गरी पाउँछन् । मद्रसाका शिक्षकहरूले आर्थिक तथा सामाजिक समस्याहरूको सामना गरिरहेका छन् ।

केही मद्रसाहरू छात्रामा आधारित छन् । यस्ता मद्रसाहरूलाई ‘बनात’ भनिन्छ । बनातहरूमा प्रायःजसो महिला शिक्षक छन् । तर यी बनातहरू पुरुषहरूबाट नै सञ्चालित रहेको देखिन्छन् । बनातहरूको व्यवस्थापन समितिमा पुरुष मात्रै रहेको पाइयो । यद्यपि केही अधवैंस पुरुषहरू पनि बनात शिक्षकको रूपमा काम गरेको पाइयो । नेपालमा बनातहरू निकै लोकप्रिय छन् । मानिसहरू आफ्ना बालिकाहरूलाई बनातमा भर्ना गर्न रुचाउँछन् । बनातहरूमा छात्राहरूले व्यवस्थित युनिफर्म लगाउँछन् । प्रायः साना उमेरका बालिकाहरूले सलवार, कुर्ता लगाउँछन् र टाउकोसमेत शरीरका माथिल्ला हिस्सा शलले छोप्दछन् । किशोरी तथा वयष्क छात्राहरूले सो पोसाकमाथि काला बुर्का (नकाब) लगाउने गर्छन् ।

साधारणतया मद्रसाहरूमा सह–शिक्षालाई प्रोत्साहन गरिंदैन । मद्रसाका माथिल्ला कक्षाहरूमा छात्राभन्दा छात्रहरूको संख्या नपत्याउँदो तरीकाले अधिक हुन्छ । मुसलमानहरू सह–शिक्षा रहेको मद्रसा÷विद्यालयमा सामान्यतः ठूला कक्षाहरूमा वयष्क केटीहरूलाई पढाउन मन पराउँदैनन् । त्यसैले मद्रसाहरूले सामान्यतः तल्ला कक्षा (पूर्व–प्राथमिक वा प्राथमिक) हरूमा मात्र छात्राहरूको भर्ना लिन्छन् जो उमेरमा साना हुन्छन् । केही मद्रसाहरूमा तल्ला कक्षाहरूमा छात्रभन्दा छात्राहरूको संख्या बढी छ । मुस्लिम समुदायले देशभरि नै ठूलो संख्यामा कन्या–मद्रसा (बनात) हरू स्थापना गरिरहेका छन् । उनीहरूले बालिकाहरूलाई बनातमा पठाउन रुचाउँछन् । र, सामान्यतः मक्तबहरूमा चाहिँ छात्र र छात्रा दुवैको संख्या बराबरी नै रहेको पाइन्छ ।

 

तराई क्षेत्रमा चार प्रकारका मद्रसाहरू छन्— जामिया÷दारुल उलूम, मद्रसा, मक्तब र बनात (कन्या–मद्रसा) । बनात चाहिँ सवभन्दा आकर्षक ठाउँ बन्न थालेको छ । यो आकर्षण एकातिर र अर्कातर्फ बनातहरूमा गरीब बालिकाहरूलाई छात्रवृत्तिको व्यवस्था हुनेभएकोले मुसलमानहरूले आफ्ना बालिकाहरूलाई बनातमै भर्ना गर्न मन पराउँदछन् ।

मक्तब र मद्रसाका तल्ला कक्षाहरूमा विद्यार्थीको ठूलो संख्या हुने गर्दछन् तर माथिल्ला कक्षाहरूमा पर्याप्त विद्यार्थी हुँदैन । यसका तीन कारण छन् ः—

क. मुस्लिम समुदायमा एउटा साझा सोच विकसित भएर गएको छ । उनीहरूले पूर्व–प्राथमिक एवम् प्राथमिक तहमा आफ्ना बालबालिकाहरूले उर्दू र अरबीको ज्ञान हासिल गरून् भन्ने चाहन्छन् । त्यसपछि उनीहरूले आफ्ना बालबालिकाहरूलाई सरकारी वा नीजि विद्यालयहरूमा पठाउँदछन् जहाँ आधुनिक पाठ्यक्रमअनुसार अध्ययन–अध्यापन हुने गर्दछन् ।
ख. गरिबीले गर्दा ठूलो संख्यामा मुसलमानहरू आफ्ना बालबालिकाहरूलाई पढाउन असक्षम छन् । ठूलो संख्यामा विद्यार्थीहरू पूर्व–प्राथमिक र प्राथमिक शिक्षापछि नै पढ्न छोड्दछन् ।
ग. मद्रसाको आधारभूत स्तरको शिक्षा प्राप्त गरी अझ माथिल्लो तहको शिक्षाका लागि अति न्यून विद्यार्थी गएको पाइन्छ । यसको पछाडिको एउटा कारण के हो भने प्रायःजसोले मद्रसामा दिइने शिक्षा हासिल गरेर आफ्नो पेसागत भविष्य उज्जवल देख्दैनन् । यसले गर्दा सामान्यतः विद्यार्थीहरूले आफ्नो पढाइ बीचमा नै छाड्दछन् ।

व्यवस्थापन समिति 

धेरैजसो मद्रसाहरूमा मद्रसालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि व्यवस्थापन समिति गठन भएको देखिन्छ । यी समितिहरू मद्रसा सञ्चालन र यसकालागि आर्थिक श्रोत जुटाउन उत्तरदायी हुन्छन् । यस समितिले मद्रसाका सवै खाले कार्यहरू गर्छ । समितिका सदस्यहरूले मद्रसाको अध्ययन–अध्यापनको विधि र शिक्षकहरूको क्रियाकलाप तथा नियमितता सम्बन्धी कुराहरूको निरीक्षण गर्दछन् । साधारणतया व्यवस्थापन समिति र अभिभावकहरूबीच राम्रो सम्बन्ध स्थापित भएको हुन्छ । यी अभिभावकहरू मद्रसाका स्थायी चन्दादाता पनि हुन् । अभिभावकहरूले मद्रसाको अध्ययन–अध्यापनमा खूवै चासो राख्दछन् ।

कतिपय मद्रसाहरूमा यस्तो पनि व्यवस्थापन समिति रहेका छन् जो मद्रसामा हुने शैक्षिक वातावरण र मद्रसाको विकासमा त्यति उत्तरदायी नभएको पाइन्छ । यस्ता मद्रसाका शिक्षक, अभिभावक, प्राधानाध्यापक आदि सरोकारवालहरूले तिनका व्यवस्थापन समितिको बारेमा आलोचना गरेको पाइन्छ । यो बडो उदेक लाग्दो सत्य हो कि सामान्यतः साना आकारका मद्रसा तथा मक्तबका व्यवस्थापन समितिहरूमा अनुभवी तथा शिक्षित व्यक्तिहरू छैनन् । कतिपय मद्रसाहरूमा प्रायः स्थानीय नेता र मद्रसालाई चन्दा दिने व्यक्तिलाई मद्रसा व्यवस्थापन समितिको अध्यक्ष बनाइन्छ । तर, निश्चित रूपमा केही मद्रसाहरूमा शिक्षित, अनुभवी व्यक्ति र राम्रा नेताहरू पनि सदस्य हुन्छन् ।

पाठ्यक्रम, पाठ्यपुस्तक र मूलप्रवाहीकरण 

पाठ्यक्रम भन्नाले शिक्षाका लक्ष्यहरू हासिल गर्न विद्यालयद्वारा गरिने योजनाबद्ध तथा निर्देशित सम्पूर्ण कार्यहरूलाई बुझाउँछ । अर्थात्, पाठ्यक्रम भन्नाले त्यस्तो योजना हो जहाँ विद्यालयद्वारा बालबालिकाहरूलाई प्रदान गरिने ज्ञान, सीप अभिवृद्धि तथा सम्पूर्ण अनुभवहरू व्यवस्थित गरिएको हुन्छ ।

विद्यालय शिक्षाको सन्दर्भमा नेपालमा दुई किसिमका पाठ्यक्रमको अवधारणा प्रयोगमा आएको देखिन्छ :—

(क  केन्द्रीय पाठ्यक्रम  (central curriculum): पाठ्यक्रम विकास केन्द्रबाट विकसित एकै प्रकारको पाठ्यक्रम देशभर लागू गरिंदै आएको छ । केन्द्रीय पाठ्यक्रम खास स्थान विशेषको आवश्यकतामा मात्र आधारित नभई औसत राष्ट्रिय आवश्यकतालाई दृष्टिगत भई तयार हुन्छ । यस प्रकारको पाठ्यक्रमले स्थानीय आवश्यकतालाई प्रतिनिधित्व गर्दैन ।

(ख) स्थानीय पाठ्यक्रम (local curriculum):   स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूकै सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । अर्थात् स्थानीय ज्ञान, सीप, र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यक्रमलाई नै स्थानीय पाठ्यक्रमको रूपमा लिन सकिन्छ जसले स्थानीयतालाई जोड दिन्छ ।

मद्रसाको सन्दर्भमा नेपाल सरकारले प्रथमपटक २०६५ मा प्राथमिक तह (कक्षा १–५) को पाठ्यक्रम विकास गरेको थियो । २०६८ मा पाठ्यक्रम विकास केन्द्रले पुनः मद्रसाको आधारभूत हत (कक्षा १–५) को पाठ्यक्रम विकास ग¥यो । सोही अनुसार पाठ्यक्रम विकास केन्द्रले हालसम्म कक्षा तीनसम्मका उर्दू, अरबी, सामाजिक अध्ययन (उर्दूमा) र दीनियात (धार्मिक शिक्षा – उर्दूमा) आदि पाठ्यपुस्तक छपाइ पनि सकेको छ । तर, यी प्रकाशित पाठ्यपुस्तकहरू उपयुक्त माध्यमबाट अहिलेम्म मद्रसाहरूलाई वितरण भइसकेको छैन ।

२०६३ सालमा नेपाल सरकारले मद्रसा शिक्षालाई शिक्षाको मूल प्रवाहमा ल्याउने नीति लिएपछि यसबारे पाठ्यक्रम विकासमा पनि चासो लिनु बाध्यता बन्यो । यद्यपि नेपालमा मद्रसा शिक्षाको प्रारम्भ भएदेखि नै स्वतन्त्र र आत्मनिर्भर सवै मद्रसाहरूले आफ्नो निश्चित पाठ्यक्रमलाई पछ्याउँदै भने आएको छ । तर, मद्रसाहरूले हालसम्म पनि एकरूपता कायम गरी आफ्नो पाठ्यक्रम विकसित गरेको भने छैन । अलग–अलग मद्रसाका अलग–अलग पाठ्यक्रम रहेको छ । मद्रसाहरूमा शिक्षकहरूले आफ्नो अनुभवको आधारमा आफ्नै हिसावले पाठ्यक्रमको विकास गरेका छन् । थोरै उल्लेखनीय ढंगबाट अल्हेरा एजुकेशनल सोसाइटीले पाठ्यक्रम विकास गरी केही मद्रसाहरूमा समरूपता कायम गर्दै पाठ्यक्रम लागू गरेको देखिन्छ । यसका अलावा नेपालका ठूला मद्रसाहरूले व्यवस्थित ढंगबाट नै आफ्ना पाठ्यक्रम विकास गरेका छन् तर प्रायः मद्रसापिच्छे यी पाठ्यक्रमहरू फरक छन् । त्यस्तै मश्लकी (साम्प्रदायिक) हिसाबले पनि मद्रसाहरूको पाठ्यक्रममा केही समरूपता पनि देखिन्छ ।

धरैजसो मद्रसाहरूमा शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले विकसित गरेको नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन आदि विषयहरूलाई पनि समावेश गरिएका छन् । तर, धेरैजसो मद्रसाहरूमा प्रायः यी विषयहरूलाई खासै महत्व दिइएको अवस्था छैन । र, केही मद्रसाहरूमा यी विषयहरूको पढाइमा पनि गुणस्तर कायम गरिएको भने छ ।

मुख्यतः साना मक्तब÷मद्रसाहरू जो स्थानीय अधिकारीकहाँ दर्ता भएका छन्, ले चाहिँ प्रायःजसो सरकारी पाठ्यक्रम अपनाएका छन् । यी मद्रसाहरूमा उर्दू, अरबी, कुरआन, दीनियात (धार्मिक विषय) आदिका अतिरिक्त आधुनिक–सांसारिक विषयहरू— अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन इत्यादि पनि उत्तिकै महत्वका साथ पढाइने गरिन्छ ।

ठूला मद्रसाहरू खास गरी विशुद्ध धार्मिक शिक्षामा आधारित छन् । यिनीहरू विशेष गरी धार्मिक शिक्षामाथि केन्द्रित छन्; आधुनिक–सांसारिक शिक्षा अर्थात् अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन इत्यादि विषयहरूमाथि यिनीहरूको मुख्य जोड हुँदैन । यिनीहरूको उद्देश्य अरू जनशक्तिभन्दा पनि धार्मिक जनशक्ति उत्पादन गर्नु रहेको छ । यी मद्रसाहरूको पाठ्यक्रम विशेषतः दारुल उलुम देउबन्द, नदवतुल ओलमा, दारुल उलुम मञ्जर इस्लाम बरेली, अल्–जामिया अल्–सलफिया, जामेअतुल फलाह, मद्रसा अस्सरफिया मुबारकपुर, मद्रसा अहमदिया सलफिया दरभंगाजस्ता भारतका आत्मनिर्भर धार्मिक मद्रसाहरूको पाठ्यक्रममा आधारित छ ।

पाठ्यपुस्तकको विषयमा भन्ने हो भने, नेपालका मद्रसाहरूको आफ्नै पाठ्यपुस्तक छैन । यिनीहरूले भारतीय र अरेबिक पाठ्यपुस्तकहरूको प्रयोग गर्दछन् । र, साना दर्तावाल मद्रसाहरूले पनि उर्दू, अरबी र धार्मिक विषयका भारतीय मद्रसाहरूमा प्रयोगमा रहेका पाठ्यपुस्तकहरू नै प्रयोग गर्ने गरेका छन् जुन यिनीहरूका लागि बाध्यता बनेको छ ।

प्राचीन पाठ्यवस्तु :

मुस्लिम धार्मिक मान्यता–प्रधान समाज भएकोले उसको जीवनको लक्ष्य मुख्यतः धर्मद्वारा निर्देशित भएको हुन्छ । इस्लामी मान्यता अनुसार मानिसको जीवनको लक्ष्य परलोकमा मोक्ष प्राप्ति हो । मुसलमान न्यायको अन्तिम दिन (कयामत) माथि आस्थावान हुन्छ जुन दिन अल्लाहले मानिसको कर्मको फैसला गर्नेछन् र उसलाई कर्मअनुसार पुरस्कारको रूपमा स्वर्ग र दण्डको रूपमा नर्क प्रदान गर्नेछन् । मुसलमानले शिक्षालाई जीवनको लक्ष्य प्राप्त गर्ने साधनको रूपमा प्रयोग गर्दछ । इस्लाम धर्मको अनुयायीको रूपमा मुसलमानको पहिलो कार्य अल्लाहको मार्गदर्शन र इच्छाको अनुसरण गर्नु हो जुन पवित्र कुरआनको रूपमा संग्रहित छ । कुरआनले मुसलमानलाई सवै प्रकारका ज्ञान हासिल गर्न आदेश दिएको छ जुन समाज कल्याणको लागि आवश्यक हुन्छ ।

साउदी अरबबाहिर पहिलो मद्रसा फातिमिद खलिफाहरूद्वारा १००५ मा इजिप्ट (मिश्र) मा स्थापना भएको मानिन्छ । यस पहिलो मद्रसामा सवै प्रकारका सामग्रीहरू उपलब्ध थिए; जस्तै— पुस्तकालय, विभिन्न विषय पढाउने शिक्षकहरू । यस मद्रसाको उल्लेखनीय कुरा चाहिँ यसको पाठ्यक्रम थियो जसमा धार्मिक शिक्षा, खगोल शास्त्र, वास्तुकला र दर्शनशास्त्र समावेश थिए । सुन्नी मुस्लिमहरूले मिश्र (इजिप्ट) कब्जा गरेपछि उनीहरूले इस्लामको आफ्नै अवधारणा प्रतिस्थापित गरे र त्यहाँ प्रारम्भिक ज्ञानमा आधारित पुस्तकहरू समावेश गराए ।

बग्दादमा निजाम–उल–मुल्क हसन बिन्–अल् तुसीले १०६७ मा निजामिया नामको पहिलो व्यवस्थित मद्रसाको स्थापना गरे । निजामिया मद्रसाले कर्मचारी, प्रशासक, शाही अदालतका लागि न्यायधीश र मुफ्ती (धर्माधीश) सम्बन्धी प्रशिक्षण दिने योजना बनायो ।

सुन्नी सम्प्रदायका हनफी, हम्बली, मालिकी र साफई सवै खेमाका मद्रसाहरूका आ–आफ्नै पाठ्यक्रमहरू थिए । यिनमा कुरआन, हदीस, कियास (कारणमा आधारित तर्क), इज्मा (इस्लामी धर्मविद्हरूको सामूहिक निर्णय) प्रमुख विषयहरू समावेश थिए । यी मद्रसाहरूको पाठ्यक्रममा अरबी व्याकरण, तर्क शास्त्र, दर्शन शास्त्र आदि विषयहरू पनि समावेश गरिएका थिए ।

शाह अब्दुल रहीम भन्ने एक मुस्लिम विद्वान्ले १७१८ मा बग्दादको रहमानिया मद्रसाका लागि एक पाठ्यक्रम विकसित गर्ने प्रयास गरेका थिए ।

मुस्लिम विद्वान् मुल्ला निजामुद्दीन सिहाल्वीले १७४८ मा फरंगी महल लखनऊमा मद्रसाको लागि मापदण्ड पुगेको पहिलो पाठ्यक्रम विकसित गरे । यिनीबाट विकसित पारिएको पाठ्यक्रमलाई ‘दर्श–ए–निजामी’ को नामले चिनिन्छ । यसअघि शाह अब्दुर्रहीमद्वारा तयार पारिएको पाठ्यक्रममा मंकुलात (आध्यात्मिक ज्ञान) माथि जोड दिइएको थियो । ‘दर्श–ए–निजामी’ मा माकुलात (सामान्य ज्ञान) माथि जोड दिइएको थियो । यसअघि व्याकरण, तर्कशास्त्र र दर्शन शास्त्रमाथि बढी पुस्तकहरू थिए (रहमान, २००४) र (सिकन्द, २००१) अहमदले वर्णन गरेअनुसार ‘दर्श–ए–निजामी’ को पाठ्यक्रमले २० वटा विषय समेटेको छ जसलाई दुई भागमा विभक्त गर्न सकिन्छ—

१. अल्–उलूम–अन्–नकालिया (अवतरित आध्यात्मिक ज्ञान)
२. अल्–उलिम–अल्–अकालिया (सन्तुलित ज्ञान)

अपेक्षित पाठ्यक्रम, पाठ्यपुस्तक ,, दुई भिन्न दृष्टिकोण

वर्तमान अवस्थामा मुस्लिम समुदायले कस्तो किसिमको पाठ्यक्रमको अपेक्षा गर्दछ वा सरकारको मद्रसा शिक्षालाई मूलप्रवाहीकरणमा ल्याउने नीतिले कस्तो किसिमको पाठ्यक्रम र पाठ्यवस्तु तयार पार्ने कुराले बडो महत्व राख्दछ । सरकारको मूलप्रवाहीकरणको नीति र मुस्लिम समुदायमा मद्रसा शिक्षाका सरोकारवालाको सोचको बीच केही असन्तुलन रहेको देखिन्छ । खास गरी प्राथमिक स्तरका मद्रसाका सञ्चालकहरू मद्रसालाई शिक्षाको मूलप्रवाहमा लैजान चाहेको देखिन्छ वा उनीहरू मूलप्रवाहीकरणको प्रक्रियामा गइसकेका छन् । तर, निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक र कलेज स्तरका मद्रसाहरूको सोच मूलप्रवाहीकरणको विषयमा फरक रहेको देखिन्छ । उनीहरू सरकारी नीतिबमोजिम हुबहु मूलप्रवाहीकरणमा जान इच्छुक छैनन् । ठूला मद्रसाका सञ्चालकहरू यी मद्रसाहरूमा फर्ज–ए–ऐन प्रकृतिको शिक्षा दिन चाहन्छन् । अर्थात् ठूला मद्रसाहरूलाई उनीहरूले विशुद्ध धार्मिक प्रकृतिकै मद्रसाको रूपमा स्थापित गर्न चाहन्छन् । उनीहरूलाई के सन्देह छ भने मूलप्रवाहीकरणको नीतिमा गएर माध्यमिक स्तरसम्म सन्तुलित पाठ्यक्रम जसमा धार्मिक विषयका अतिरिक्त नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कम्युटर साइन्स र प्राविधिक विषयहरूलाई समेटियो भने यसको आकर्षणले उच्च शिक्षामा विद्यार्थीहरू धार्मिक विषय लिएर पढ्न रुचाउने छैनन् । यसरी केही वर्षपछि धार्मिक विषयहरू बिलोप हुनेछन् र समाजमा इस्लामविद् र धर्मगुरुहरूको अभाव हुनेछ । यसले मुस्लिम समाजलाई इस्लाम धर्मको विशुद्ध धार्मिक शिक्षाबाट अलग गर्नेछ । यो विचारमा आफ्नै शक्ति र तर्क पनि छ ।१ (म लेखक यस दृष्टिकोणको समर्थन गर्छु ।)

अर्काथरिका मुसलमानहरू धार्मिक शिक्षा र रोजगारमुलक तथा उत्पादनसँग जोड्ने शिक्षाबीच तालमेल चाहन्छन् । उनीहरू माध्यमिक तहसम्म धार्मिक शिक्षा र रोजगारमुलक आधुनिक शिक्षालाई सँगै लगी कलेज स्तरमा धार्मिक विषय पढ्ने रोजाइमा जाने र विज्ञान, वाणिज्य तथा मानविकी पढ्ने रोजाइमा जाने दुवै ढोका खुल्ने गरी मद्रसा पाठ्यक्रमको निर्माण हुनुपर्छ भन्ने सोच राख्दछन् ।

यसरी पाठ्यक्रम, पाठ्यवस्तु र मद्रसाको मूलप्रवाहीकरणको विषयलाई लिएर मद्रसाका सञ्चालक र विद्वान्हरुबीच दुई भिन्न दृष्टिकोण छ । र, दुवै दृष्टिकोणको आफ्नै महत्व छ । तसर्थ, मद्रसा शिक्षाको हकमा निम्न दुई प्रकारका पाठ्यक्रम विकसित गर्नुपर्छ—

(क) दर्ता भएका मद्रसाहरूका लागि यथाशीघ्र एकीकृत पाठ्यक्रयम तयार पारिनुपर्छ जसले दुवै मान्यतामा आधारित विषयहरूलाई सन्तुलित ढंगले समायोजन गरेको होस् । यस्तो पाठ्यक्रम धर्मगुरु, मुस्लिम बुद्धिजीवी र शिक्षाविद्हरूको एक समूहले तयार गर्नुपर्छ । मूलधारको प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका मद्रसाहरूको पाठ्यक्रममा निम्न विषयहरू समावेश गर्न सकिन्छ—

 *  उर्दू
*  अरबी
*  नेपाली
*  अंग्रेजी
*  गणित
*  विज्ञान
*  सामाजिक अध्ययन
*  दीनियात (आवश्यकता हेरी १ वा २ वटा धार्मिक विषय)
*   कम्प्युटर साइन्स÷स्वास्थ्य तथा शारीरिक शिक्षा (कम्प्युटर शिक्षा कक्षा ६ देखि)
*  व्यावसायिक विषय (कक्षा ८ पछि अतिरिक्त विषयको रूपमा आवश्यकता अनुसार व्यावसायिक विषय थप्न सकिने)

(ख) विशुद्ध धार्मिक शिक्षा प्रदान गर्ने मद्रसाहरूको सन्दर्भमा निम्न विषयहरू समेटिएको पाठ्यक्रम विकसित गरिनुपर्छ—
*  उर्दू (अनिवार्य – माध्यमिक तहसम्म)

*  अरबी (अनिवार्य– उच्च शिक्षाको

*   नेपाली (अनिवार्य – उच्च माध्यमिक तहसम्म)

  •  अंग्रेजी (अनिवार्य – उच्च माध्यमिक तहसम्म)
  • गणित (अनिवार्य – माध्यमिक तहसम्म)
  • विज्ञान (मुख्य विषयको रूपमा – माध्यमिक तहसम्म)
  • सामाजिक अध्ययन (अनिवार्य – माध्यमिक तहसम्म)
  • कम्प्युटर साइन्स÷स्वास्थ्य तथा शारीरिक शिक्षा (कम्प्युटर शिक्षा कक्षा ६ देखि उच्च माध्यमिक तहसम्म ऐच्छिक विषयको रूपमा)

विशेष महत्वको अनिवार्य विषयहरू (उच्च शिक्षाको तहसम्म)

धार्मिक विषयहरू : कुरआन, हदीस, फिकः, इस्लामी इतिहास, जीवनी (सिरह), उसूल, अकाईद (यी विषयहरू भारतलगायतका अन्य देशका मद्रसाहरूको अनुभव र अभ्यासको आधारमा लागू गरिनेछ ।)

हिफ्ज (कुरआन कण्ठस्त पार्ने) : यो ऐच्छिक विषयको रूपमा रहनेछ ।

स्वतन्त्र प्रकृतिका आत्मनिर्भर धार्मिक मान्यतासहित सञ्चालित मद्रसाहरूको हकमा छिमेकी देशहरूको समेत अभ्यास र अनुभवका आधारमा पाठ्यक्रम विकसित गरिनुपर्छ ।

मद्रसामा माथि उल्लेखित विषयहरू समावेश गरिएको पाठ्यक्रमसहित माध्यमिक तहसम्म अध्ययन गरेका विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न कुनै पनि संकायका लागि योग्य हुनेछन् । यी मद्रसाहरूमा अध्ययन गरेका विद्यार्थीहरू अन्य विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूसँग हरतरहले प्रतिस्पर्धा गर्न सक्नेछन् । यसरी मद्रसा शिक्षालाई शिक्षाको मूलधारसँग जोड्न सकिनेछ ।

पाठ्यक्रम, पाठ्पुस्तक सम्बन्धी बिद्यमान समस्याहरू 

नेपाली मद्रसाहरूले पाठ्यक्रम र पाठ्यपुस्तकसँग सम्बन्धी मुख्यतः निम्न समस्याहरू भोगिरहेका छन्—

(१) पाठ्यक्रममा एकरूपता छैन; मद्रसापिच्छे फरक फरक पाठ्यक्रम विकास भएको पाइन्छ ।
(२) भारतीय पाठ्यपुस्तकहरू अध्ययन–अध्यापन गर्नुपर्ने अवस्था छ; नेपाली समाजको संरचनागत अवस्था समेटिएको पाठ्यपुस्तक छैन ।
(३) सरकारले पाँच कक्षासम्मको मात्र पाठ्यक्रम र तीन कक्षासम्मको मात्र पाठ्यपुस्तक तयार गरेको छ ।
(४) प्राथमिक स्तरभन्दा माथिका मद्रसाहरूको पाठ्यक्रम, पाठ्यपुस्तकबारे सरकारको कुनै नीति छैन ।
(५) सरकारले तयार पारेको मद्रसा पाठ्यक्रम र पाठ्यपुस्तक सरोकारवालाहरूमा वितरण हुन सकेको छैन ।
(६) मद्रसा पाठ्यक्रमबारे सरकार र ठूला मद्रसाका सञ्चालकहरूको सोचाइबीच ठूलो दुरी विद्यमान रहेको छ ।

पाठ्यक्रमको समस्या समाधानका दुई बिकल्प 

नेपाली मद्रसाहरूको पाठ्यक्रमसम्बन्धी समस्या हल गर्ने दुई बिकल्प देखिन्छ: –

बिकल्प १ : सरकारले मद्रसा शिक्षा प्रणालीलाई व्यवस्थित गर्न वर्तमान राष्ट्रिय मद्रसा शिक्षा व्यवस्थापन परिषद्लाई अधिकार सम्पन्न कानूनमार्फत् ‘स्वायत्त नेपाल मद्रसा बोर्ड’ मा परिणत गरी मद्रसाको व्यवस्थापन, नियमन, अनुगमन, नियन्त्रणलगायत पाठ्यक्रम, परीक्षा प्रणाली, समकक्षता आदि सवै समस्याहरू हल गरिनुपर्छ ।

विकल्प २ : नेपालमा सञ्चालित मद्रसाहरूले एक साझा मञ्च खडा गरी मद्रसा शिक्षालाई व्यवस्थित गर्न वर्तमान राष्ट्रिय मद्रसा शिक्षा व्यवस्थापन परिषद्लाई सहयोग गर्दै र ऊसँग सहकार्य गर्दै गैर–सरकारी स्तरमा एक ‘स्वतन्त्र मद्रसा बोर्ड’ गठन गरी मद्रसाहरूको व्यवस्थापन, नियमन, अनुगमन, नियन्त्रणलगायत पाठ्यक्रम, परीक्षा प्रणाली, समकक्षता आदि सवै समस्याहरू हल गरिनुपर्छ ।

पाठ्यक्रमको सन्दर्भमा भावी कार्यनीति 

(१) सरकारले प्राथमिकदेखि उच्च शिक्षाको तहसम्मको केन्द्रिकृत मद्रसा पाठ्यक्रम तथा पाठ्यपुस्तक अबिलम्ब तयार गर्नुपर्छ जसले पाठ्यक्रम र पाठ्यसामग्रीमा समरूपता पैदा हुन सकोस् । पाठ्यक्रम तयार पार्दा धार्मिक प्रवृत्तिको शिक्षामाथि विशेष जोड दिने सोचका मद्रसाहरूको विचारलाई विशेष सम्बोधन गर्दै निर्माण गर्नुपर्छ । त्यस्तै मद्रसा पाठ्यक्रममा नेपाली समाजको संरचनागत अवस्था समेटिनुपर्छ । मद्रसापिच्छे फरक फरक पाठ्यक्रमको अवस्थालाई यथाशीघ्र निरुत्साहित गरिनुुपर्छ ।
(२) तयार पारिएको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तकहरू तयार पारी यथाशीघ्र मुद्रण तथा वितरण गर्नुपर्छ ।
(३) पाठ्यक्रम र पाठ्यपुस्तकको हकमा सामुदायिक विद्यालय र मद्रसाहरूलाई समान अधिकार र सुविधा प्रदान गरिनुपर्छ ।
(४) मद्रसा पाठ्यक्रमबारे सरकार र ठूला मद्रसाका सञ्चालकहरू बीच गहन तथा नियमित छलफल गरेर मात्र पाठ्यक्रम विकास गरिनुपर्छ ।

शिक्षाको माध्यम 

नेपालका मद्रसाहरूमा शिक्षाको माध्यम मुख्यतः उर्दू भाषा रहेको छ । यद्यपि विषयहरूको गाम्भीर्यताको हिसाबले फरक फरक विषयहरू फरक भाषामा पनि अध्यापन गर्ने गरिन्छ । भाषागत हिसाबले मद्रसाहरूमा पढाइने विषयहरूको आधारमा शिक्षाको माध्यमलाई निम्न तालीकामा देखाइएको छ—

विषय माध्यम भाषा कैफियत
*  उर्दू भाषा उर्दू
*  अरबी भाषा उर्दू शिक्षकले उर्दूमा सम्झाउने र अरबीमै लेख्ने आम चलन रहेको
*  नेपाली भाषा नेपाली
*  अंग्रेजी भाषा उर्दू शिक्षकले कतै नेपालीमा र कतै उर्दूमा सम्झाउने र अंग्रेजीमै लेख्ने आम चलन रहेको
*  फारसी भाषा उर्दू शिक्षकले उर्दूमा सम्झाउने र फारसीमै लेख्ने आम चलन रहेको÷यो भाषा प्रायः नेपाली मद्रसाहरूमा लोपोन्मुख अवस्थामा रहेको छ ।
*  दीनियात (धार्मिक विषयहरू) उर्दू धार्मिक विषयमा आवश्यकता हेरी सरदर ८–१० वटासम्म पाठ्यपुस्तकहरू पढाइने गरिन्छ ।
*  विज्ञान नेपाली
*  गणित नेपाली
*  सामाजिक अध्ययन नेपाली÷उर्दू कुनै मद्रसामा सामाजिक अध्ययनको विषयमा नेपाली माध्यमकै पाठ्यपुस्तक रोजेको छ भने कुनै मद्रसाले उर्दू माध्यमको विषय रोजेको छ । त्यही अनुसार माध्यम भाषाको प्रयोग हुने गरेको छ ।

धेरैजसो मद्रसाहरूमा अंग्रेजी, नेपालीबाहेक सवै विषय उर्दू माध्यममा पढाइएको पाइन्छ । उर्दू भाषा विद्यार्थी र शिक्षकहरूबीचको माध्यम भाषाको रूपमा स्थापित भएको देखिन्छ ।

परीक्षा प्रणाली 

नेपालका अधिकांश मद्रसाहरूमा आ–आफ्नै किसिमको परीक्षा प्रक्रियाहरू रहेका छन् । व्यवस्थित मद्रसाहरूले त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षाहरू लिने गरेका छन् । मासिक टेस्ट, एकाई परीक्षाहरूको चलन मद्रसाहरूमा बिरलै पाइन्छ । मद्रसाहरूको संख्या नेपालमा दुईदेखि तीन हजारको हाराहारीमा रहेका छन् । ११९७ वटा मद्रसाहरू नेपालमा त सरकारी निकायमा दर्ता नै भइसकेका छन् । तर, यी मद्रसाहरूले परीक्षा प्रणालीलाई सामूहिक मुद्दा बनाएर आन्तरिक परीक्षाको बोर्ड बनाएर परीक्षा लिने चलन पनि छैन । सवै मद्रसाहरूले आ–आफ्नै ढंगले परीक्षा सञ्चालन गरेका छन् । मद्रसाको वार्षिक परीक्षा सामान्यतः रमजान महिनाअघि नै सिध्याएर मद्रसाहरूले एक महिने विदा दिने गरेका छन् । ईदुल फित्र पछि शैक्षिक सत्र शुरु हुने गर्दछन् । प्रायः संसारभरि नै मद्रसाहरूमा यो अभ्यास रहेकोले नेपालको शैक्षिक सत्र र परीक्षा तालीकासँग मद्रसा शिक्षाको परीक्षा तालीका र शैक्षिक सत्रबीच सामञ्जस्य स्थापित हुन नसक्ने देखिन्छ ।

नेपालमा अल्हेरा एजुकेशनल सोसाइटी भन्ने संस्थाले केही संख्या (तर उल्लेखनीय संख्या चाहिँ नभएको) मा आफ्नो पाठ्यक्रम र परीक्षा प्रणालीअन्तर्गत मद्रसाहरूलाई व्यवस्थित गरेको देखिन्छ । उसले केही दर्जन जति मद्रसाहरूमा एकरूपता कायम गरी पाठ्यक्रम लागू गरी परीक्षा प्रणाली विकसित गरेको छ ।

दर्ता 

मद्रसा प्रकृतिका नयाँ विद्यालय खोल्न चाहेमा शिक्षा ऐन, २०२८ (सातौं संशोधनसमेत) र शिक्षा नियमावलीको परिधिभित्र रही संस्थागत रूपमा सञ्चालन गर्न (स्वीकृति पाउने गरी) शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०५९/१/१७ गते सचिव स्तरीय निर्णय भएको थियो ।

२४ कार्तिक २०६३ मा सरकारले मद्रसाहरूलाई शिक्षाको मूल प्रवाहमा ल्याउने उद्देश्यसाथ मद्रसाहरूलाई मूलधारको विद्यालयसरह सरकारी निकायमा निःशुल्क दर्ता गर्ने विशेष कार्यक्रम लागू ग¥यो । सरकारको यस्तो प्रावधानपछि मुलुकभरि सयौं मद्रसा दर्ता भए र यी मद्रसाहरूमा इस्लामी विषयहरूसँगै मूलधारका विद्यालयमा प्रयोगमा रहेका विषयहरूसमेत समावेश भए । शिक्षा विभागको एउटा नोटमा देशभरमा १,१९७ मद्रसा सरकारी निकायमा दर्ता भएको देखाइएको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको सर्कुलर अनुसार मद्रसाहरू दर्ता हुन निम्न शर्त पूरा गरेको हुनुपर्छ—

क. शिक्षा मन्त्रालय शिक्षा नियमावली २०५९ को नियम ७७ अनुसार कक्षागत रूपमा विद्यार्थी संख्या र भौतिकपूर्वाधार सन्तोषजनक भएमा मागको आधारमा मद्रसाहरूलाई बिना कुनै धरौटी सामुदायिक प्राथमिक विद्यालयको रूपमा दर्ता गर्न तयार छ । यद्यपि निम्न माध्यमिक र माध्यामिक स्तरका मद्रसा दर्ताका लागि भने धरौटी राख्नु पर्नेछ ।
ख. शिक्षा नियमावली, २०५९ को नियम ७७ अनुसार विद्यार्थीको संख्या अपुग हुने मद्रसाहरूलाई नियमावलीको नियम ५२ अनुसार बैकल्पिक शिक्षा प्रदान गर्ने अनुमति दिइने प्रावधान छ ।
ग. शिक्षा नियमावली, २०५९ को नियम ७७ अनुसार दर्ता भएका विद्यालयहरूले स्वयं कक्षागत परीक्षा लिन सक्नेछन् र कक्षा ५ को हकमा जिल्ला शिक्षा कार्यालयद्वारा वा श्रोत केन्द्रद्वारा जिल्ला स्तरीय परीक्षा लिइने व्यवस्था गरिएको छ । वैकल्पिक शिक्षाअन्तर्गत स्वीकृत प्राप्त संस्थाको हकमा जिल्ला शिक्षा कार्यालयले दर्तावाल स्थानीय विद्यालयमार्फत् सिकाइको उपलब्धिअनुसार कक्षागत रूपमा परीक्षाको व्यवस्था मिलाउने छ ।
घ. जिल्ला शिक्षा कार्यालयको निर्देशन बमोजिम यस्तो किसिमको परीक्षा लिने विद्यालयले परीक्षा लिइए अनुसार उत्तीर्ण भएको वा नभएको शैक्षिक प्रमाणपत्र प्रदान गर्नुपर्नेछ ।

यद्यपि ठूलो संख्यामा रहेका ठूला आकारका मद्रसाहरू सरकारको दर्ता प्रक्रियाको प्राबधानबाट टाढा रहेका छन् । अधिकांश ठूला आकारका मद्रसाहरूको सरकारमा दर्ता गराउने खासै चासो छैन । तिनीहरूको राम्रो भौतिकपूर्वाधार र आफ्नै पाठ्यक्रम छ ।

मूलधारको सामुदायिक विद्यालयसरह मद्रसालाई सरकारी निकायमा दर्ता हुने प्रावधान आएपछि मुस्लिम बालबालिकाहरूको शिक्षामा पहँुचको ढोका त खोल्यो तर यसले गुणस्तरीय शिक्षाको प्रत्याभुति चाहिँ गरेन । मद्रसाहरूसँग गुणस्तरीय शिक्षाको लागि चाहिने भौतिक पूर्वाधार, मूलधारका विषयहरू पढाउने विषयगत शिक्षकहरूलगायत अन्य आधारभूत श्रोतहरूको कमि देखिएको छ ।

सिकाइ विधि र शिक्षक तालीम :

मद्रसाका शिक्षकहरू प्रायःजसो शिक्षण विधिबारे प्रशिक्षित छैनन् । फलस्वरूप शिक्षकहरूले हरेक भाषा अनुवाद विधिबाट सिकाउने गर्दछन् जसले विद्यार्थीहरूको भाषा सिक्ने क्षमतालाई संकुचित गर्दछ । मद्रसाका शिक्षकहरूले बिरलै एकाई परीक्षा लिने गरेका छन् । मद्रसामा पढाइमा प्रतिस्पर्धा नहँुदा विद्यार्थीहरू प्रायः घरमा पढ्दैनन् । वार्षिक परीक्षाको परिणाम प्रकाशित हुन्छ र विद्यार्थीहरू उत्तीर्ण भई अर्काे कक्षामा उक्लन्छन् ।

शिक्षकहरू बदलिंदो विषय र शिक्षण विधिको बारेमा सचेत होऊन् भन्ने उद्देश्य राखेर केही मद्रसाहरूले तालीम र सेमिनारहरूको पनि आयोजना गर्दछन् । सवै मद्रसाहरूले यसको खर्च धान्न सक्दैनन् त्यसैले यस्तो तालीमको आयोजना कमै हुने गर्दछ ।

मद्रसाहरूले शिक्षकहरूलाई तालीम दिन उपयुक्त व्यवस्था गरेको पाईंदैन । त्यसैले जुन विषय पढाउन शिक्षक नियुक्त गरिएको हुन्छ सो विषयको उसमा विशेषज्ञताको चाहिँ अभाव हुन्छ । यसले गर्दा सिकाइ प्रक्रियामा विद्यार्थीहरू उपयुक्त ढंगले भाग लिएको हुँदैन । उनीहरूलाई स्वतन्त्रतापूर्वक आफैं सिक्न सिकाइँदैन ।

वर्तमान अवस्थामा मद्रसाहरूमा सिकाइको लागि स्वतन्त्र वातावरणको अभाव छ जहाँ विद्यार्थी र शिक्षक एकअर्कासँग स्वस्थ्य माहौलमा छलफलमा भाग लिन सकोस् । शिक्षक र विद्यार्थीहरूको एकआपसमा स्वस्थ्य तरीकाले छलफल गर्ने विधिको अभाव देखिन्छ । मद्रसाहरूमा विद्यार्थीहरूसँग कडा व्यवहार पनि गरेको पाइन्छ; कहिलेकाहीँ उनीहरूलाई शारीरिक यातना पनि दिइन्छ र यो चाहिँ मक्तबहरूमा वा साना कक्षाहरूमा निकै प्रचलनमा रहेको छ । सामान्यतः शिक्षकको हातमा छडी हुनु भनेको भयको वातावरणमा विद्यार्थीले सिक्नु हो । यसले बालबालिकाको मनोविज्ञानमा दीर्घकालीन नकारात्मक असर पर्दछ ।

पाठ्यक्रममा भएका विषयवस्तुमाथि केन्द्रित हुनुभन्दा पनि विद्यार्थीहरूले पहिले अनुशासन सिक्नुपर्दछ भन्ने ठानिन्छ । शिक्षा प्रणालीको केन्द्र विद्यार्थी हुनुभन्दा पनि शिक्षक हुने गर्दछ । पाठ र पाठ्यसामग्रीलाई बुझाउनुभन्दा पनि कण्ठस्त पार्ने कार्यमा विशेष जोड दिइन्छ । अभ्यासमा केन्द्रित गर्नुभन्दा पनि विद्यार्थीहरूलाई व्याकरणका नियमहरू घोकाइन्छ ।

आय श्रोत 

मद्रसाहरू आर्थिक रूपमा चन्दा–अनुदानमा निर्भर छन् । स्थानीयवासी मुसलमानहरूको घर–घरबाट संकलन गरिने स्थानीय चन्दा मद्रसाहरूको एक महत्वपूर्ण आयश्रोत हो । मद्रसाहरूले देशका अन्य शहर र गाउँहरूमा पनि चन्दा संकलन गर्दछन् । त्यसरी नै केही मद्रसाहरूले विदेशमा पुगेर पनि चन्दा असुल गर्दछन् । विदेशमा खाडी मुलुक र भारत प्रमुख हुन् । केही मद्रसाहरूले मात्र खाडीमा चन्दा असुसल गर्दछन् । यस किसिमको चन्दा विशेष गरी रमजान महिनामा संकलन गर्ने गरिन्छ । रमजानको अवसरमा संसारभरिका मुसलमानहरू जकातको नाममा दान गर्ने गर्दछन् ।

दर्ता भएका मद्रसाहरूले सरकारबाट पनि Per child fund (PCF) को रूपमा आर्थिक अनुदान प्राप्त गर्दछन् । नेपालमा यो एक नयाँ अभ्यासको रूपमा आएको छ । तर, मद्रसाहरूका लागि यो अनुदान पर्याप्त छैन र सबै मद्रसाहरूका लागि यो सहज पनि छैन । मद्रसाहरूले एऋँ बाहेक केही अन्य सरकारी तथा गैर–सरकारी सहयोग पनि प्राप्त गर्न सक्छन् र केहीले प्राप्त पनि गरिरहेका छन् । एऋँ बाहेक कहिलेकाहीँ गाउँ विकास समिति (गाविस) र नगरपालिका, कहिलेकाहीँ जिल्ला विकास समिति (जि.वि.स.) र कहिलेकाहीं स्थानीय विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालयले पूर्वाधार विकासका लागि मद्रसाहरूलाई सहयोग गर्दछन् । त्यस्तै, युनिसेफ, वल्र्ड भिजन, विश्व शिक्षा जस्ता विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायका अनुदान पनि मद्रसाहरूको आयश्रोतमा पर्दछन् । केही मद्रसाहरूले विद्यार्थीहरूबाट न्यून शिक्षण शुःल्क पनि संकलन गर्दछन् । तर, अधिकांशले चाहिँ विद्यार्थीहरूसँग मासिक शुःल्क नलिने गरेका छन् ।

औपचारिक सामुदायिक विद्यालय र मद्रसा 

मद्रसाहरू मुस्लिम समुदायको पहिचान र संस्कृतिको मुख्य प्रतिक मानिन्छ । भनिन्छ आफ्नो संस्कृति भुल्ने समुदायको पतन हुन्छ । आज मद्रसाको हाम्रो समाजमा जुन स्थान हुनुपर्ने हो त्यो छैन । मद्रसाले अपनाएको शिक्षा प्रणाली प्रभावकारी देखिंदैन न त यो आजको समकालीन विश्वको आवश्यकतामा आधारित छ । समकलीन सन्दर्भमा यो पर्याप्त आधुनिक छैन जसले इस्लामी मान्यतालाई उपयुक्त व्याख्या गरोस् । इस्लाम धर्मसँग सम्बन्ध गाँसिएको मद्रसा शिक्षाको पाठ्यक्रमको आजको विज्ञान, प्रविधि, कला, मानविकी र व्यवस्थापनजस्ता विषयहरूसँग तालमेल मिलाइएको छैन । यसले मद्रसालाई विश्वभरि व्याप्त आवश्यकतामा आधारित शिक्षा प्रणालीसँग अलग्ग गरिदिएको छ ।

मूलधारका विद्यालय र मद्रसाका केही भिन्न विशेषताहरू (नेपालको सन्दर्भमा)

समुदायमा आधारित औपचारिक विद्यालय     मद्रसा
शिक्षकको लगभग पर्याप्त संख्या        अति कम शिक्षक
विषय विशेषज्ञहरू                                सामान्य शिक्षित
सरकारद्वारा कोषको व्यवस्था             चन्दामा निर्भर
पक्की भवन र प्रत्येक कक्षाका लागि कक्षा कोठा    सामान्यतया कमजोर भौतिक पूर्वाधार
निश्चित लिखित र मौखिक परीक्षापछि शिक्षकको नियुक्ति      अव्यस्थित ढंगले शिक्षकको नियुक्ति
तालीम प्राप्त शिक्षक र उनीहरूको सेवाको सुरक्षा सामान्यतः अप्रशिक्षित शिक्षकहरू र उनीहरूको सेवाको सुरक्षाको प्रत्याभूति नभएको
पाठ्यक्रमले आधुनिक शिक्षा प्रणालीको मर्मलाई सम्मान गरेको सामान्यतः धर्ममा आधारित परम्परागत पाठ्यक्रम
नियन्त्रित र मूल्याङ्कन गरिएको केन्द्रीय पाठ्यक्रम अनियन्त्रित र व्यक्तिपरक पाठ्यक्रम
शैक्षिक प्रमाणपत्रको मान्यता छ शैक्षिक प्रमाणपत्रको समकक्षता छैन
(प्रा.वि. स्तरको मात्र छ ।)

मद्रसा शिक्षाका मुख्य समस्याहरू 

नेपालमा मद्रसाहरुले भोग्ने मुख्य समस्याहरू देहायबमोजिम छन्—

१. पर्याप्त आर्थिक श्रोतको अभाव
२. कमजोर भौतिक पूर्वाधार
३. मद्रसाहरूमा शैक्षिक वातावरणको अभाव
४. पर्याप्त शिक्षकको अभाव र विशेष गरी उच्च शिक्षा प्राप्त प्रशिक्षित शिक्षकको अभाव । मद्रसाका शिक्षक तथा अन्य कर्मचारीको लागि स्थायी नौकरीको अभाव ।
५. नेपाली मानक अनुसारको पाठ्यपुस्तकहरूको अभाव (भारतीय पाठ्यपुस्तकहरू प्रयोगमा)
६. केन्द्रीय परीक्षा प्रणालीको अभाव
७. व्यवस्थापन समितिमा योग्य सदस्यहरूको अभाव; मद्रसाको व्यवस्थापन पक्ष निकै कमजोर छ । मद्रसाहरूमा लेखाप्रणाली पारदर्शी छैन । अधिकांश ठाउँमा सरकारी अनुदानको सही प्रयोग हुन सकेको छैन ।
८. मद्रसाहरूको सम्बद्धताको अभाव; विशेष गरी ठूला आकारका मद्रसाहरू सम्बद्धताको समस्याबाट ग्रस्त छन् । मद्रसाहरूबाट जारी शैक्षिक प्रमाणपत्रहरूको समकक्षता नभएको कारणले यहाँबाट अध्ययन गरेका व्यक्तिहरूलाई सरकारी सेवामा अयोग्य मानिन्छ । यसकारणले बेरोजगारीको समस्या बढेको देखिन्छ । यस्ता विद्यार्थीहरू विदेशमा गएर काम गर्न बाध्य छन् ।
९. ठूलो संख्यामा मद्रसाका विद्यार्थीहरूले आफ्नो अध्ययन बीचैमा छोडेको पाइन्छ ।
१०. मद्रसामा दिइने शिक्षाबारे अभिभावकहरूमा निरासा ।

मद्रसा शिक्षाको उत्थानका लागि भएका सरकारी प्रयासहरू 

यताका वर्षहरूमा सरकारले मद्रसा शिक्षाको विकास र उत्थानका निम्ति केही कदमहरू चालेको छ । सरकारले गरेका प्रयासहरूलाई निम्न बुंदाहरूमा दर्शाइएको छ—

१. २०५१/०५२ सालमा मद्रसासम्बन्धी अध्ययनको लागि बाराका महमुद आलमको नेतृत्वमा एक कार्यदल गठन गरिएको थियो जसले मद्रसाहरूको तथ्याङ्कक संकलन ग¥यो ।
२. २०५९/०१/१७ गते शिक्षा तथा खेलकुद मन्त्रालयले ‘मद्रसा प्रकृतिका नयाँ विद्यालय खोल्न चाहेमा शिक्षा ऐन, २०२८ (सातौं संशोधनसहित) र शिक्षा नियमावलीको परिधिभित्र नै रही संस्थागत रूपमा सञ्चालन गर्न (स्वीकृत गर्न पाउने गरी) निवेदन दिन पाउने व्यवस्था गर्ने–गराउने’ भनी सचिवस्तरीय निर्णय भयो ।
३. सन् २००६ मा CERID बाट access of Muslim children in education  विषयमा एक अध्ययन भयो ।
४. शिक्षा विभागले २०६२/३/७ मा मुस्लिम धर्मगुरु तथा मद्रसा सञ्चालकहरूसँग पाठ्यपुस्तकबारे छलफल गर्यो ।
५. शिक्षा विभागको २०६२/९/८ को निर्णयानुसार महानिर्देशकको संयोजकत्वमा ७ सदस्यीय संस्थागत समावेशीकरण समन्वय समिति गठन गर्यो ।
६. आ.व. २०६२/०६३ को बजेट वक्तव्यमार्फत् घोषित नीति तथा कार्यक्रमको कार्यान्वयनको सिलसिलामा विभिन्न गोष्ठीहरूमार्फत् सुझाव संकलन गरियो । जसमा, २०६२/०९/१८/१९ गते भैरहवामा, २०६३/०३/३१ र ३२ गते जनकपुरमा मद्रसासम्बन्धी गोष्ठीको आयोजना भयो ।
७. आ.व. २०६२/०६३ मा शिक्षा विभागको निर्णायानुसार गोन्पा, मद्रसा र गुरुकुलका प्रत्येक संस्थालाई प्रति विद्यार्थी रू. ३००/– का दरले प्रति संस्था ११ जना बिद्यार्थी बराबरको एकमुष्ठ रकम रू. ३,३००/– बिद्यालय सुधार योजना कोष अन्तर्गत संस्थागत समावेशीकरण जिल्ला समन्वय समितिको निर्णयबाट एकिन भएका उक्त संस्थाहरूलाई निकासा दिने गरी बजेट कार्यक्रम बिनियोजन भयो ।
८. आ.व. २०६३/७/२४ गते जिल्ला स्तरमा ३ सदस्यीय धार्मिक बिद्यालय सम्बद्ध संस्थागत समावेशीकरण समन्वय समितिको जि.शि.अ. को संयोजकत्वमा शा.अ. (वि.प्र. हेर्ने) १ र वि.नि. १ गरी ३ सदस्यीय समिति गठन भयो ।
९. २०६३ साल कार्तिक ३० गते शिक्षा मन्त्रालयले मद्रसालाई निःशुल्क दर्ता गराउन सक्ने परिपत्र जारी ग¥यो ।
शिक्षा नियमावलीको नियम (७७), अनुसूचि ३ अनुसार कक्षागत विद्यार्थी संख्या पुगेका धार्मिक संस्थाहरूलाई भौतिक पूर्वाधार सन्तोषजनक भएमा मागका आधारमा कुनै धरौटी नलाग्ने गरी सामुदायिक प्राथमिक विद्यालयको अनुमति दिन सकिने तर विद्यार्थी संख्या नपुग भएको अवस्थामा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ५२ अनुसार वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय भयो ।
१०. २०६३/१०/१६ देखि १८ गतेसम्म भैरहवामा विद्यालय अनुमति÷स्वीकृति प्रक्रिया, विद्यालय सुधार योजना, अनुदान, पाठ्यक्रम, पाठ्यपुस्तक आदिको बारेमा कार्यशाला गोष्ठी सम्पन्न भयो ।
११. आ.व. २०६३/०६४ मा जम्मा रू. एक करोड तीस लाख रूपैयाँ धार्मिक प्रकृतिका विद्यालयहरूलाई अनुदान दिइयो ।
१२. २०६४/०६५ मा सवैका लागि शिक्षा कार्यक्रम अन्तर्गत धार्मिक संघ–संस्थाहरूलाई शिक्षाको मूलधारमा ल्याउनका लागि विभिन्न कार्यक्रम राखी अनुदान उपलब्ध गराउने व्यवस्था गरियो ।
१३. २०६४/११/२६ को (मन्त्री स्तरीय) निर्णयअनुसार मद्रसा विकास तथा समायोजन सहयोग समिति गठन गरियो । यही समिति पछि ‘राष्ट्रिय मद्रसा शिक्षा व्यवस्थापन परिषद्’ को रूपमा परिणत भयो ।
१४. २०६६/७/१८ गते बसेको बैठकबाट मद्रसा सञ्चालन व्यवस्थापन र कार्यान्वयन निर्देशिकाको तर्जुमा र मद्रसा व्यवस्थापन परिषद्का सदस्यहरू र धार्मिक विद्यालय हेर्ने फोकल पर्सनलाई अनिवार्य आमन्त्रण गर्ने व्यवस्थाका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।
१५. २०६६/७/१९ गते मद्रसा व्यवस्थापन परिषद्को बैठकबाट (१) मद्रसा सञ्चालन व्यवस्थापन (२) पाठ्यक्रम व्यवस्थापन (३) शिक्षक व्यवस्थापन उपसमिति गठन गरी सो उप–समितिले मद्रसा सञ्चालन र व्यवस्थापनका लागि उचित सिफारिश प्रदान गर्ने कार्य क्षेत्र प्रदान भएको ।
१६. २०६६/९/९ गते मन्त्री परिषद्ले गरेको निर्णयहरू :
*  मुस्लिम समुदायलाई सीमान्तकृत समुदायमा राख्दै उक्त समुदायका बालबालिकाहरूलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था मिलाउने ।
*   मद्रसाका लागि  वितरण गरिएको अनुदानमा त्यसै मद्रसामा कार्यरत मोल्वी, मौलानाहरूलाई जेष्ठताका आधारमा नियुक्तीको व्यवस्था मिलाउने ।
*   भौतिक सुविधा कार्यक्रम वितरण गर्दा हालसम्म उक्त सुविधा प्राप्त गर्न नसकेका मुस्लिम, पिछडिएका वर्गहरूका मद्रसा÷विद्यालयलाई उच्च प्राथमिकता प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्न जि.शि.अ. हरूलाई परिपत्र गर्ने ।
*   मद्रसाहरूमा प्राप्त भएको अनुदान कोटामा मुस्लिम महिला भएसम्म अनिवार्य रूपमा महिलालाई नियुक्ति गर्ने ।
१७. २०६७/०२/२२–२३ गते नयाँ वानेश्वरस्थित होटल एभरेष्टमा राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरियो ।
१८. २०६९/०८/२८ को निर्णयबाट ‘राष्ट्रिय मद्रसा शिक्षा व्यवस्थापन परिषद् र सञ्चालन सम्बन्धी व्यवस्था, २०६९’ स्वीकृत भयो ।
१९. २०६९/०८/२८ गते शिक्षा मन्त्रीको अध्यक्षतामा ‘राष्ट्रिय मद्रसा शिक्षा व्यवस्थापन परिषद्’ गठन भयो । पहिले यो मद्रसा विकास तथा समायोजन सहयोग समितिको नामले काम गर्दै आएको थियो ।
२०. ‘धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अध्यापन तथा व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ठ अनुदान कार्यान्वयन निर्देशिका, ०६९’ स्वीकृत भई कार्यान्वयनमा रहेको छ जसअनुसार प्रत्येक तहको लागि एकजना शिक्षक बराबर तलब अनुदान दिइएको छ ।
२१. प्राथमिक स्तरका मद्रसाहरूको पाठ्यक्रम विकास गरी सोअनुसार तीन कक्षासम्मको पाठ्यपुस्तक मुद्रणको कार्य समापन गरिएको छ ।
२२. राष्ट्रिय मुस्लिम आयोगले “नेपालमा मद्रसा शिक्षाको अवस्था र प्रभावकारिता” को विषयमा एक अध्ययन गरियो । (अध्ययनकर्ता : मोहम्मद जाकिर हुसैन)
२३. शिक्षा विभागले मद्रसा, गुरुकुल र गोन्पा शिक्षा सञ्चालनको लागि एकीकृत निर्देशिका निर्माण गर्ने तयारीमा छ ।१ (मस्यौदा समितिमा मद्रसा परिषद्का उपाध्यक्ष रजी हैदर र सांसद मोहम्मद जाकिर हुसैन)

शैक्षिक सम्बद्धता र प्रमाणपत्रको समकक्षता 

मद्रसाको शैक्षिक पाठ्यक्रम र तहगत शैक्षिक प्रमाणपत्रहरूलाई समकक्षता नभएर मद्रसाहरूले ठूलो समस्याको सामना गर्नु परिरहेको छ । मद्रसाका शैक्षिक प्रमाणपत्रलाई सरकारले मान्यता दिएको छैन । स्नातक तहसम्मका मद्रसाहरू नेपालमा छन् । मद्रसाका शैक्षिक संकायहरूलाई सरकारले सम्बद्धता प्रदान गर्नु नितान्त आवश्यक छ । सम्बद्धता दिएमा पनि समकक्षताको समस्या समाधान हुन सक्थ्यो ।

मुस्लिम समुदायबाट दसकौंदेखि मद्रसाद्वारा जारी शैक्षिक प्रमाणपत्रहरूलाई समकक्षता प्रदान गर्न पटकपटक माग भएको छ । मुस्लिम समुदायका हजारौं धार्मिक विद्वान्हरू भारत र केही साउदी अरब तथा मिश्रबाट पनि शिक्षा आर्जन गरेका छन् । यिनीहरूले जुन मद्रसाहरूबाट शिक्षा प्राप्त गरेका छन् तिनलाई नेपाल सरकार र यहाँका विश्वविद्यालयहरूले मान्यता दिएका छैनन् जबकि भारतका विश्वविद्यालयहरूले तिनलाई मान्यता दिएका छन् । यी मानिसहरूले उच्च शिक्षा हासिल गरेका छन् तर राज्यले यिनीहरूलाई शिक्षित मानेको अवस्था छैन । यसले मुलुकको कुल ग्राहस्थ उत्पादन(Gross Domestic Production GDP) लाई नै पनि प्रभाव पार्दछ जसले राज्यको दीर्घकालीन योजनालाई पनि कमजोर तुल्याउँछ । शैक्षिक प्रमाणपत्रको समकक्षताको अभावमा मद्रसाबाट शिक्षा प्राप्त मानिसहरू सरकारी तथा गैह्रसरकारी सेवाका लागि अयोग्य ठहर्दछन् । उनीहरू विशेष गरी मद्रसा वा मस्जिदहरूमा काम गर्न बाध्य छन् जहाँ यिनीहरूले पर्याप्त तलब र सुविधा पाउन सक्दैनन् ।

मद्रसाहरूको दर्तापछि पनि मद्रसाहरूबाट उच्च शिक्षा प्राप्त व्यक्तिहरूले मद्रसामै पनि शिक्षकको रूपमा काम पाउन योग्य छैनन् । किनभने उनीहरूका शैक्षिक प्रमाणपत्रहरूको समकक्षता निर्धारण भएको छैन । समकक्षता नभएपछि उनीहरूले शिक्षा विषय लिएर कलेजमा भर्ना भई पढ्न सक्ने अवस्था पनि छैन । शिक्षा विषय लिई नपढेपछि शिक्षकको लाइसेन्स पाईंदैन ।

नेपालमा केही मद्रसाहरूमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहसम्मको शिक्षा दिएको पाइन्छ । तीमध्ये केही महत्वपूर्ण मद्रसाहरूको नाम यहाँ दिइएको छ— जामिया सेराजुल उलूम, कृष्णनगर – कपिलवस्तु, दारुल उलूम नुरुल इस्लाम, जल्पापुर – सुनसरी, जमियतुल इस्लाह अल् इस्लामिया, रामनगर, भुटहा – सुनसरी, मद्रसा महमुदिया, राजपुर फरहदवा – रौतहट, मद्रसा खदिजतुल कुब्रा, कृष्णनगर – कपिलवस्तु, जामिया फुर्कानिया इस्लामिया, भैंसकुण्डा – कपिलवस्तु, मद्रसा आयशा सिद्दिका, कृष्णनगर – कपिलवस्तु, जमिअतुल बनात, बल्कबा – सिरहा, मद्रसा एमाम बिन् हम्बल, तौलिहवा – कपिलबस्तु, जामिया इस्लामिया, भोक्राहा – सुनसरी, जमिअतुल मोहसिनात, भोक्राहा – सुनसरी, मद्रसा नजमूल होदा, बेल्हा – सिरहा र मद्रसा फैजुल इस्लाम, पर्सा देवाड – महोत्तरी । यी ठूला मद्रसाहरूबाट अध्ययन गरेका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रहरूलाई सरकारले मान्यता दिएको छैन । यसरी शैक्षिक प्रमाणपत्रले समकक्षता नपाएपछि यहाँबाट उत्पादित जनशक्ति नेपालमै पनि सरकारी, नीजि तथा गैह्रसरकारी निकायमा काम पाउन अयोग्य ठहरिन्छ ।

भारतमा मूलधारका मद्रसाहरूद्वारा जारी गरिएका शैक्षिक प्रमाणपत्रहरूलाईझैं स्वतन्त्र र आत्मनिर्भर (गैर–दर्तावाल) प्रकृतिका मद्रसाहरूको प्रमाणपत्रलाई पनि केही भारतीय विश्वविद्यालयहरूले मान्यता दिएको पाइन्छ । यस्ता मद्रसाहरूबाट शिक्षा प्राप्त विद्यार्थीहरूलाई विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन गर्न पाइने व्यवस्था देखिन्छ ।

बिगतमा नेपाली मुस्लिमहरूले भारतका दारुल उलूम देउबन्द (यूपी), नदवतुल उलमा (लखनऊ), दारुल उलूम मञ्जर इस्लाम (बरेली), अल्–जामिया अल्–सलफिया (बनारस), जामिअतुल फलाह (युपी), मद्रसा असरफिया, मोबारकपुर (यूपी), मद्रसा अहमदिया सलफिया (दरभंगा) आदि मद्रसाहरूबाट उच्च शिक्षा हासिल गरेका छन् । यसका साथै उनीहरू साउदी अरब र मिश्रमा गएर पनि धार्मिक प्रकृतिका उच्च शिक्षा हासिल गरेको पाइन्छ । हजारौंको संख्यामा विभिन्न इलाकाका नेपाली मुस्लिमहरू माथि उल्लेखित मद्रसाहरूबाट उच्च शिक्षा आर्जन गरेका छन् । तर, नेपालमा यी मद्रसाहरूको शैक्षिक प्रमाणपत्रहरूको समकक्षता छैन । त्यसकारण, दुवै प्रकारका मद्रसाका शैक्षिक प्रमाणपत्रको समकक्षताको मुद्दालाई सम्बोधन गरिनुपर्छ– चाहे त्यो नेपालका मद्रसाहरूद्वारा जारी गरिएको शैक्षिक प्रमाणपत्रको विषय होस् वा चाहे त्यो विदेशी मद्रसाहरुद्वारा जारी गरिएका शैक्षिक प्रमाणपत्रहरूको समकक्षताको विषय होस् ।

मद्रसाहरूको शैक्षिक प्रमाणपत्रको समकक्षताको बारेमा भारतीय विश्वविद्यालयहरूमा एकरूपता छ्रैन । मद्रसाहरूको बीचमा पनि समकक्षतालाई लिएर यही स्थिति देखिन्छ । केही मद्रसाहरूले फजिलतको डिग्रीलाई स्नातक र केहीले स्नात्कोत्तरको मान्यता दिन्छन्; जस्तै— जमिअतुल फलाह (यूपी) को फजिलत डिग्रीलाई स्नातक मानिन्छ भने दारुल उलूम देउबन्द र नदवतुल उलमाका फजिलत डिग्रीलाई स्नात्कोत्तर मानिएको छ । भारतीय विश्वविद्यालयहरूले भारतका मद्रसाहरूको शैक्षिक प्रमाणपत्रहरूलाई यसै मापदण्ड अनुसार मान्यता दिएको पाइन्छ ।

यस अवस्थामा, विभिन्न सोचका ओलमा (धर्मगुरु) हरूसँगको गहन छलफलपछि समकक्षताबारे निम्न तालिका तयार पारिएको छ । नेपाल सरकारले निम्न मापदण्ड अनुसार मद्रसाको शैक्षिक प्रमाणपत्रहरूको समकक्षता दिए समस्याको समाधान हुन सक्थ्यो ।

नेपालका आत्मनिर्भर तथा स्वतन्त्र मद्रसहरू

बिहार मद्रसा बोर्ड नदवतुल ओलमा (लखनऊ)

अल्–जामिया अल्–सलफिया
(बनारस)

दारुल उलूम देउबन्द (यूपी)

जामिअतुल फलाह (यूपी)

अल् जामिअतुल इस्लामिया बिल् मदीना अल् मुनव्वरः
(इस्लामिक यूनिभर्सिटी मदीना), साउदी अरब

समकक्षता (Equivalent)
फाजिल फजिलत फजिलत मजिस्टर÷मास्टर्स स्नात्कोत्तर  (Master degree)
फजिलत आलिम आल्मियत फजिलत फजिलत कुल्लिया (४ वर्ष) स्नातक  (Bachelor degree)
आल्मियत मोल्वी आल्मियत आल्मियत सान्विया सानिया प्रवीणता प्रमाणपत्र ( Intermediate /+2)
सान्विया÷फौकानिया सान्विया सान्विया÷मोल्वी मोल्वी
(अरबी–३) सान्विया उला एस.एल.सी. (S.L.C. Matriculation )
औस्तानिया सान्विया मतवासेता कक्षा ८
(8th Lower Secondary)
इब्तदाइया कक्षा ५ (5th Primary
हिफ्ज हिफ्ज हिफ्ज हिफ्ज हिफ्ज( S.L.C.)
कारी कारी कारी कारी कारी एस.एल.सी.( S.L.C.)

मद्रसा शिक्षाको प्रभावकारिताका लागि रणनीतिक सुझाव

मद्रसा शिक्षाको प्रभावकारिताको बारेमा निम्न रणनीतक सुझावहरू प्रस्ताव गर्न सकिन्छ —

१. मद्रसा शिक्षा प्रणाली सरकारको शिक्षा नीतिको एक अंग बन्नुपर्छ । सरकारको शिक्षा नीतिअन्तर्गत मद्रसा शिक्षालाई स्वीकार गर्दै एक ठोस रणनीति र कार्ययोजना बनाइनुपर्छ ।
२. शिक्षा मन्त्रालय(MOE)अन्तर्गत एउटा स्वायत्त अधिकार सम्पन्न मद्रसा शिक्षा बोर्ड गठन गर्नुपर्छ जसले मद्रसा शिक्षालाई व्यवस्थित गरोस् ।
३. मद्रसाका लागि दुई प्रकारका पाठ्यक्रम विकसित गर्नुपर्छ ः
(क) दर्ता भएका मद्रसाहरूका लागि यथाशीघ्र एक एकीकृत पाठ्यक्रयम तयार पारियोस् जसले दुवै मान्यतामा आधारित विषयहरूलाई सन्तुलित ढंगले समायोजन गरेको होस् । यस्तो पाठ्यक्रम धर्मगुरु, मुस्लिम बुद्धिजीवी र शिक्षाविद्हरूको एक समूहले तयार पारोस् । मूलधारको प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका मद्रसाहरूको पाठ्यक्रममा निम्न विषयहरू समावेश गर्न सकिन्छ—
*   उर्दू
*   अरबी
*   नेपाली
*   अंग्रेजी
*   गणित
*   विज्ञान
*   सामाजिक अध्ययन
*   दीनियात (आवश्यकता हेरी १ वा २ वटा धार्मिक विषय)
*   कम्प्युटर साइन्स÷स्वास्थ्य तथा शारीरिक शिक्षा (कम्प्युटर शिक्षा कक्षा ६ देखि)
*   व्यावसायिक विषय (कक्षा ८ पछि अतिरिक्त विषयको रूपमा आवश्यकता अनुसार व्यावसायिक विषय थप्न सकिने)
(ख) विशुद्ध धार्मिक शिक्षा प्रदान गर्ने कलेज स्तरका मद्रसाहरूको सन्दर्भमा निम्न विषयहरू समेटिएको पाठ्यक्रम विकसित गरियोस्—
*   उर्दू (अनिवार्य – माध्यमिक तहसम्म)
*   अरबी (अनिवार्य– उच्च शिक्षाको तहसम्म)
*   नेपाली (अनिवार्य – उच्च माध्यमिक तहसम्म)
*   अंग्रेजी (अनिवार्य – उच्च माध्यमिक तहसम्म)
*  गणित (अनिवार्य – माध्यमिक तहसम्म)
*   विज्ञान (मुख्य विषयको रूपमा – माध्यमिक तहसम्म)
*   सामाजिक अध्ययन (अनिवार्य – माध्यमिक तहसम्म)
*   कम्प्युटर साइन्स÷स्वास्थ्य तथा शारीरिक शिक्षा (कम्प्युटर शिक्षा कक्षा ६ देखि उच्च माध्यमिक तहसम्म ऐच्छिक विषयको रूपमा)
विशेष महत्वका अनिवार्य विषयहरू (उच्च शिक्षाको तहसम्म) —
धार्मिक विषयहरू ः,,  ण्ठस्त पार्ने),, ऐच्छिक विषयको रूपमा रहने ।

स्वतन्त्र प्रकृतिका आत्मनिर्भर धार्मिक मान्यतासहित सञ्चालित मद्रसाहरूको हकमा छिमेकी देशहरूको समेत अभ्यास र अनुभवका आधारमा एउटा भिन्दै प्रकारको पाठ्यक्रम विकसित गरियोस् ।

पाठ्यक्रम अुनसारका पाठ्यपुस्तकहरू यथाशीघ्र लेखन, प्रकाशन र वितरण होस् ।

मद्रसामा माथि उल्लेखित विषयहरू समावेश गरिएको पाठ्यक्रमसहित माध्यमिक तहसम्म अध्ययन गरेका विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न कुनै पनि संकायका लागि योग्य हुनेछन् । यी मद्रसाहरूमा अध्ययन गरेका विद्यार्थीहरू अन्य विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूसँग हरतरहले प्रतिस्पर्धा गर्न सक्नेछन् । यसरी मद्रसा शिक्षालाई शिक्षाको मूलधारसँग जोड्न सकिनेछ ।
४. मद्रसा शिक्षकहरूका लागि शिक्षक तालीम दिनु पर्छ । मद्रसाबाट उत्पादित जनशक्तिलाई विशेष सहुलियतमा शिक्षक लाइसेन्सको व्यवस्था मिलाउनु पर्छ ।
५. नेपाल सरकारले भारत, साउदी अरब र इजिप्टलगायतका विश्वविद्यालयहरूद्वारा मान्यता दिइएका मद्रसाहरूको शैक्षिक प्रमाणपत्रहरूलाई समकक्षता प्रदान गर्दै मान्यता दिनुपर्छ । मद्रसा व्यवस्थापन परिषद्लाई शैक्षिक प्रमाणपत्र समकक्षता निर्धारणबारे रणनीति तयार पार्ने अधिकार प्रत्यायोजन हुनुपर्छ ।
६. सरकारले कन्या मद्रसा (Girls School) हरूलाई विशेष सुविधा प्रदान गर्नुपर्छ ।
७. मद्रसाहरूलाई मूलप्रवाहीकरणका निम्ति यसको वित्तीय क्षेत्र, भौतिक पूर्वाधार, पाठ्यक्रम, शिक्षण, व्यवस्थापन, प्रशासन, अनुगमन तथा मूल्याङ्कन सरकार÷मद्रसा बोर्डले नियन्त्रण गर्नुपर्छ ।
८. सरकारले मद्रसाहरूलाई यथाशीघ्र शिक्षक दरबन्दी प्रदान गर्नुपर्छ ।
९. यथाशीघ्र एक मद्रसा परीक्षा प्रणाली विकसित गरी मद्रसा परीक्षा बोर्ड गठन गरिनुपर्छ ।
१०. मद्रसाका शिक्षकहरूका लागि यथाशीघ्र एक शिक्षक तालीम विभाग स्थापना गर्नुपर्छ ।
११. सरकारले मद्रसाहरूको पूर्वाधार विकासमा आवश्यक सहयोग गर्नुपर्छ । सरकारले मद्रसाहरूलाई अनुदान वितरण गर्नका लागि वैज्ञानिक पद्धतिको विकास गर्नुपर्छ ।
१२. यथाशीघ्र मद्रसाहरूको तथ्याङ्कक संकलन गरिनुपर्छ ।
१३. सरकारले मद्रसाहरूलाई वित्तीय अनुदान प्रदान गर्न एक वैज्ञानिक पद्धतिको विकास गर्नुपर्छ ।
१४. सरकारले मद्र्रसा, यसका सञ्चालक र शिक्षकहरूलाई कुनै विभेदविना सुविधा उपलब्ध गराउनुपर्छ । सामुदायिक विद्यालय र मद्रसाहरूलाई समान अधिकार हुनुपर्छ ।
१५. मद्रसा दर्ता र समायोजनको सम्बन्धमा वैज्ञानिक मापदण्ड तयार गर्नुपर्छ । धेरैवटा मद्रसाहरू यथाशीघ्र समायोजन गर्नुपर्ने देखिएको छ ।
१६. एउटा वैज्ञानिक पद्धति बसाई मद्रसाहरूको नियमित नियमन, नियन्त्रण, अगुगमन र मूल्याङ्कण हुनुपर्छ ।
१७. अध्यापनलाई सिकाइको कला वा विज्ञानको रूपमा परिभाषित गर्नुपर्छ जसले शिक्षण पेसालाई व्यवहृत गर्दछ । यो सिकाइको विधि र अभ्यास हो; खास गरी एक शैक्षिक वा सैद्धान्तिक अवधारणाको रूपमा ।
१८. नीति तथा नियमहरू नियमित रूपमा व्यवस्थित गरिएको छ–छैन भन्ने कुरा प्राथमिक विषय हो । मद्रसा र मद्रसा व्यवस्थापन परिषद्को बीचमा बिधिवत् आपसी समझदारी र समन्वय कायम रहनुपर्छ ।
१९. मद्रसा व्यवस्थापन परिषद् र राष्ट्रिय मुस्लिम आयोगको बीचमा सुमुधुर अन्तरसम्बन्ध स्थापित
हुनुपर्छ ।

कार्ययोजना 

मद्रसा शिक्षाको प्रभावकारिता एवम् प्रबद्र्र्धनका लागि निम्न रणनीतिक कार्ययोजना प्रस्ताव गरिएको छ—

क्र.सं. विवरण ऋवधि कैफियत
१ मद्रसा तथ्याङ्क संकलनका लागि एक कार्यदल गठन ६ महिना
२ मद्रसाहरूको सम्बद्धता त्यसका शैक्षिक प्रमाणपत्रहरूको समकक्षताका लागि एक कार्यदल गठन ६ महिना सार्क राष्ट्रहरूमा मद्रसा शिक्षासम्बन्धी अभ्यासको बारेमा अध्ययन गराउनुपर्छ ।
३ मद्रसा शिक्षा सम्बन्धी पाठ्यक्रम र पाठ्यपुस्तकहरू विकास गर्नेबारे अध्ययनका लागि एक कार्यदल गठन ६ महिना सार्क राष्ट्रहरूमा मद्रसा शिक्षासम्बन्धी अभ्यासको बारेमा अध्ययन गराउनुपर्छ
४ प्राथमिक स्तरसम्मका मद्रसाहरूका लागि पाठ्यपुस्तक लेखन, प्रकाशन र वितरण प्रत्येक वर्ष थप एक कक्षाको पाठ्यपुस्तक प्रकाशन गर्दै जाने वितरणमाथि विशेष जोड
५ मद्रसा समायोजन सेलको गठन ६ महिना
६ मद्रसामा कार्यरत् धार्मिक विषय लगायतका शिक्षकहरूका लागि शिक्षक तालीम र लाइसेन्सको व्यवस्था १ वर्ष धार्मिक वा अरबी उर्दू भाषाका शिक्षकहरूलाई विशेष सहुलियत दिई शैक्षिक प्रमाणपत्रका लागि समकक्षता दिन सकिने ।
७ मद्रसाहरूमा शिक्षकको दरबन्दी प्रत्येक वर्ष थप २०० जना नियुक्ती नियमित वार्षिक आधारमा
८ मद्रसाको भौतिक पूर्वाधार सुधार कार्यक्रम (IMIP) प्रत्येक वर्ष थप १२५ मद्रसा सरकारले नियमित बजेट विनियोजन गर्नुपर्ने
९ केन्द्रीय मद्रसा परीक्षा बोर्डको स्थापना १ वर्ष प्रत्येक वर्ष एकवटा थप कक्षाको स्तरोन्नति
१० मद्रसा निरीक्षण, मूल्याङ्कण, अनुगमन कार्यदल (MIEFT) गठन निरीक्षण, मूल्याङ्कण, अनुगमन नियमित रूपमा गर्ने
११ राष्ट्रिय मद्रसा शिक्षा परिषद्लाई स्वायत्त र स्वावलम्बन बनाउन बिधेयक पास गरी परिषद्लाई मद्रसा बोर्डको रूपमा स्तरोन्नति गर्ने १ वर्ष बिधेयक मस्यौदा गरी शिक्षा मन्त्रालयको माध्यमबाट संसदमा पठाउने

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter