शुक्रबार, १४ बैशाख २०८१

बर्खामा सडक सहज बनाउन निर्देशन

२८ बैशाख २०७५, शुक्रबार २३:०८ मा प्रकाशित

त्रिशूली, नुवाकोट, २८ वैशाख(रासस)ः बर्खाेका सयममा सबै सडकमा सहज रुपमा यातायात सञ्चालन गराउनका स्थानीय प्रशासनले सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।
नुवाकोटलाई राजधानी काठमाडौंसँग जोड्ने तीन नाकाका सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको र सामान्य वर्षामा समेत सवारी चलाउन समस्या आउन थालेकाले आउँदो वर्षात्लाई ध्यानमा राखेर पूर्वतयारी गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।
जिल्लामा मुख्य सडक गल्छी–त्रिशूली सडक, बालाजु–ककनी–पीपलटार, टोखा–छहरे–गंँगटे, पाटीभञ्ज्याङ–छहरे, विदुर–नुवाकोट–बागेश्वरी र डेउडी–सामरी सडक स्तरोन्नति भइरहेको छ । सडक सञ्चालन गराउनका लागि आवश्यक पूर्वतयारी तत्काल थाल्न सडक निर्माण योजनाका प्रमुख तथा डिभिजन सडक कार्यालय सक्रिय भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो ।
गल्छी –त्रिशूली– मैलुङ– स्याफ्रु– रसुवागढी सडक योजनामा प्रमुख सुवोध देवकोटाले सडक बर्खामा पनि सहज रुपमा सञ्चालन गर्नका लागि काम भइरहेको बताउनुभयो । देवकोटाले भन्नुभयो “गल्छीदेखि बेत्रावती खण्डका नौ ठाउँमा अलि बढी समस्या रहेको छ । यसलाई निर्माण गरी बर्खामा समस्या आउन दिँदैनाँैं ।”
गल्छी–त्रिशूली–मैलुङ सडकको ४६ किलोमिटर स्तरोन्नतिको काममा अहिलेसम्म १८ प्रतिशत मात्र सम्पन्न भएको छ । बर्खाअघि नै १० किलोमिटर कालोपत्रे गरिसक्ने योजना प्रमुख देवकोटाले जानकारी दिनुभयो ।
बालाजु–ककनी–पीपलटार र छहरे–वराफेदी सडक हेर्ने योजनाका प्रमुख नीरज शर्माले काम तीब्र गतिमा भइरहेको र बर्खामा समस्या हुन सक्ने स्थानको पहिचान गरी काम गरिएको जानकारी दिनुभयो । नुवाकोटमा पुष्पलाल मध्यपहाडी राजमार्गको ७० किलोमिटर पर्नेमा अहिले काम भइरहेको पार्टीभञ्ज्याङ–छहरे खण्डमा कालोपत्रे गरिने साइड इञ्जिनीयर जयनाथ यादवले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले एक दिन पानी पर्दा गल्छी–त्रिशूली सडक १८ घण्टासम्म जाम हुने अवस्था रहेकाले यसलाई तत्काल समाधान गर्नुपर्ने बताउनुुहुन्छ ।
नेकपा(एमाले)का जिल्ला सचिव बुद्धि प्रधान पनि वैशाखको पानीमा बेहाल हुने सडकलाई असार, साउन र भदौमा हुन सक्ने विपद्लाई पूर्वानुमान गरी काम नगर्ने हो भने नुवाकोट र रसुवाका नागरिकले सडककै कारण धेरै दुःख पाउने भएकाले स्थानीय प्रशासनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter