शुक्रबार, १६ चैत २०८०

मानसिक स्वास्थ्य र हाम्रो समाज :डा. ऐनुद्दीन बागबान

May, 3- 2018

२० बैशाख २०७५, बिहीबार १५:२१ मा प्रकाशित

डा. मोहम्मद ऐनुद्दीन बागबान,

 मेडिकल अधिकृत 
नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल

 

स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक ,मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुनु हो (WHO)।

हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ । तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भए पनि वास्ता गर्दैनौँ। जबकि शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अति नै आवश्यक छ । मानसिक स्वास्थ्य बिना पूर्ण स्वास्थ्यको परिकल्पना नै अधुरो छ ।

मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु मात्र होइन बरु मनमा अन्तर्द्वन्द्व , अनावश्यक डर, त्रास ,उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहने सक्ने क्षमता कम हुनु व्यक्तिगत तथा सामाजिक जीवन बीच सन्तुलन कायम राखना सक्षम नहुनु , उत्पादनशीलता एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असमान्य परिवर्तन हुनु भन्ने बुझ्नु पर्दछ । साथै मानसिक व्यथाको प्रवृति शारीरिक पीडा भन्दा बिल्कुलै फरक हुन्छ ।

यही असहनीय पीडाकै कारण मानसिक विरामीहरु सजिलै आफु मर्न वा अरुलाई मार्न समेत पनि पछि पर्दैनन् । विश्वमा हुने आत्महत्याहरुको एक मात्र कारण मानसिक अस्वस्थता नै रहेको छ र प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृति कै कारण हुने गर्दछन । तसर्थ हामी मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै औषधि उपचार गरायौं भने यसरी अकालमै मर्ने अगन्य व्यक्तिहरुको ज्यान सजिलै जोगाउन सफल हुन्छौं र उनीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं ।

 

मानसिक स्वास्थ्यको अवस्था
सन १९७८ मा नै मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्यको रुपमा सेवा प्रदान गर्नु पर्दछ भन्ने अवधारणा आएता पनि समाजले अहिलेसम्म व्यवहारमा लागु गर्न सकेको छैन । आज विश्वभरि मानसिक समस्याहरु महामारी झैं दिनप्रदिन बढ्दै गइरहेका छन् । जसको प्रमुख कारण समाजमा विद्यमान गरिबी, बेरोजगारी, अन्याय, शोषण आदिले बनाएको तनावपूर्णh जीवनशैली तथा डर, लोभलालच, असफलता, बिछोड, जनधनको क्षति नशालु एवं लागु पदार्थको सेवन, दीर्घकालीन रोगहरुले गर्दा हुने मनको अशान्ति नै हो ।

 

नेपालमा मानसिक स्वास्थ्यले एउटा गम्भीर जनस्वास्थ्य समस्याको रुप धारण गरिसकेको छ । बर्षौंको द्वन्द्वकाल, राजनैतिक अस्थिरताका साथै बाढी, पहिरो, भुकम्प जस्ता विपद घटनाहरुले पनि नेपाली जनताको मानसिक स्वास्थ्य माथि असर परेका छन् । जसले गर्दा समग्रमा देशको उत्पादनशीलता एवं विकास निकै चिन्ताजनक अवस्थामा पुगेको छ । तैपनि यसप्रतिको जनचासो, सरकारी तथा गैरसरकारी निकायहरुको प्राथमिकता निकै कम देखिएको छ ।

हाम्रो समाजले मानसिक विरामीहरुलाई फरक फरक नजरले हेर्ने गरेको पाइन्छ । एकातिर समाजले विरामीलाई दैवी शक्ति वा प्रेतात्मा आदिबाट प्रभावित भएको रुपमा देखने गरेको छ । साथै समाजमा यस्ता विरामीहरुलाई बोक्सीले किचकन्नी लगाई दिएको आरोपमा गरिब तथा असहाय महिलाहरुलाई निर्घात कुटपिट गर्ने, मलमुत्र समेत खुवाउने, त्यसमाथि झारफुकको नाममा धामी झाँक्रीहरुले झन शारीरिक एवं मानसिक यातना दिएका घटनाहरु बारम्बार दोहोरिरहेका छन् । अर्कोतिर समाजले यस्ता विरामीहरुलाई कि वेकम्मा ठानेर फलामे साङ्गलाले बाँधी खोरभित्र आजीवन थुनेर अमानवीय अवस्थामा राखने गरेको छ । कि त छाडा जनावर झैं सडकमा थुपारिएका गन्हाउने डंगुरबाट सडेगलेका खानेकुरा टिपेर खाँदै गरेको जनावर भन्दा पनि तल्लो स्तरको जीवन जिउन वाध्य तुल्याएको छ । त्यहीं समाजले तिनीहरुको उचित व्यवस्थापन गर्नुको सट्टा आफ्नो नाकमुख छोपी मूकदर्शक बनेर सबै हेरिरहेको हुन्छ । यसबारे सरकारले पनि मौन धारण ग्रहण गरेको अवस्था छ ।

के यस्ता विरामीहरु प्रति समाजको केही जिम्मेवारी छैन त ? के हाम्रो आफ्नै बुवाआमा, छोराछोरी, भाइबहिनी, जीवनसाथी वा स्वयम् आफुलाई यस्ता समस्याहरु हुनै सक्दैन भन्न सकिन्छ र ? एक पटक मनन गरौँ र यस्ता विरामीहरुको औषधि उपचारमा यथासम्भव सहयोग तथा सहकार्य गरौँ ।

भ्रम र यथार्थ:

भ्रम : हाम्रो समाजमा मानसिक स्वास्थ्य सम्बन्धी सही ज्ञान नभएको कारण धेरै भ्रम एवं भ्रान्तिहरु विद्यमान छन्। मानसिक समस्याहरु कुलदेवता रिसाएको, ग्रहदशा बिग्रेको, लागोभागो आदि भएको कारणले गर्दा हुने गर्दछन । तसर्थ पुजापाठ, टुनामुना तथा झारफुकबाट मात्र समाधान हुन्छन । यस्ता समस्या धेरै कम जनालाई मात्र हुन्छ । औषधिको प्रयोगले निको हुँदैन साथै मनोचिकित्सा अन्तर्गत मगज बिग्रेका विरामीहरुको मात्र उपचार गरिन्छ तसर्थ हामी त्यहाँ किन जाने ?

यथार्थ :

मानसिक समस्याहरुको वास्तविक कारण मस्तिष्कमा हुने रासायनिक असन्तुलन हो । जसको पछाडि मानसिक तनाव गराउने विभिन्न वातावरणीय कारकतत्वहरुको मुख्य भूमिका रहेको हुन्छ ।

यो रासायनिक उथलपुथललाई झारफुक गरि सन्तुलनमा ल्याउन सकिन्दैन ।तैपनि झारफुकबाट कैयौं विरामीहरु सन्चो भएका छन् भन्ने कुराहरु पनि आउने गर्दछन । यथार्थ के हो भने सामान्य खालका मानसिक समस्याहरु बिस्तारै आँफै पनि ठिक हुन्छन । साथै यसको Placebo Effect ले पनि समस्यालाई नियन्त्रणमा ल्याएको पनि हुन्छ । तर प्रायः समस्याहरु विशेष गरी कडा खालका मानसिक समस्याहरुको औषधिबाट मात्र उपचार सम्भव छ । झारफुकको नाममा विरामीलाई औषधि उपचारबाट वंचित राख्नु भनेको उसको मानव अधिकारको हनन गर्नु हो ।

मनोचिकित्सा अन्तर्गत मगज बिग्रेका विरामीहरुको उपचार मात्र नभई मानसिक स्वास्थ्यको प्रवर्धन, मानसिक रोगहरुको रोकथाम, समयमै यस्ता रोगहरुको निदान तथा उपचारकासाथै मानसिक विरामीहरुको पुनर्स्थापना जस्ता सबै क्रियाकलापहरु पर्दछन ।

अस्पतालहरुका रिकर्डहरु हेर्दा हाम्रो समाजमा मानसिक विरामीहरु धेरै संख्यामा छन् र दिनप्रतिदिन बढी रहेका पनि छन । विभिन्न अध्ययन अनुसार २०% देखि २५% जनसंख्या अर्थात चार वा पाँच जना मध्ये एक जना जीवनमा कुनै न कुनै मानसिक समस्याबाट पीडित हुन्छ । अन्य विरामीहरु झैं मानसिक विरामीहरुको सफल उपचार सम्भव छ । औषधि उपचारकासाथै समाजले भावात्मक सहारा, सहानुभूति, स्नेहपूर्ण व्यवहार गरिदिएकोमा तिनीहरु पूर्ण रुपमा निको हुन्छन । फलस्वरूप तिनीहरु पनि समाजमा हामी जस्तै सामान्य जीवन निर्वाह गर्न सक्षम हुन्छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter