शुक्रबार, १४ बैशाख २०८१

दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गर्नुपर्ने: सभामुख महरा

४ बैशाख २०७५, मंगलवार १९:०४ मा प्रकाशित

तुलसीपुर, दाङ, ४ वैशाख (रासस) ः सभामुख कृष्णबहादुर महराले दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गनुपर्ने बताउनु भएको छ ।

जिल्लाका सबै स्थानको समानुपातिक विकासका गुरुयोजना अत्यावश्यक रहेको उहाँको भनाइ थियो । दाङ ५ नं प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको बताउँदै सभामुख महराले यहाँका सम्भावनालाई उचित व्यवस्थापन गर्न सके दाङ समृद्ध हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति दाङले आज दाङको घोराहीमा आयोजना गरेको दाङको समृद्धिका लागि दूरदर्शी योजना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ५ नं प्रदेशको लुम्बिनीदेखि दाङ हँुदै रारासम्म जोड्ने योजना बनाई दाङलाई पश्चिम नेपालको पर्यटन ‘हव’का रुपमा विकास गर्न सकिने समेत बताउनुभयो ।

सभामुख कृष्णबहादुर महराले संघीय, प्रदेश र स्थानीय सरकार कानूनको अभावका काम गर्न अन्योल रहेको बताउनुभयो । उहाँले कुन सरकारले के काम गर्ने भन्ने विषयमा नै स्पष्टता नभएकाले धेरै कानून बनाउन आवश्यक रहेको छ भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले योजना बनाउन थालेको बताउनुभयो । विकासलाई सही दिशामा लैजान र व्यावहारिक योजना निर्माणका लागि केही दिनअघि मात्र प्रदेशबाट स्थिति पत्र जारी गरिएको बताउँदै उहाँले त्यसैका आधारमा वैज्ञानिक ढङ्गले दाङको विकास गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सांसदहरु एवं स्थानीय तहका प्रमुखले जिल्लाको समृद्धिका लागि आवश्यक कार्यका बारेमा भनाइ राखेका थिए ।

जिल्लाको समग्र विकास र समृद्धिका लागि जिल्ला समन्वय समिति दाङले ‘दाङको समृद्धिका लागि दूरदर्शी योजना’ जिल्लाका जनप्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रममा सहभागीले समग्र जिल्लाको विकास र समृद्धिका लागि जनप्रतिनिधि गम्भीर भएर लाग्न अनुरोध गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter