बुधबार, १२ बैशाख २०८१

नेपालमा पुष्टि भएकाे अति संक्रामक भेरियन्टबारे जानौँ

५ जेष्ठ २०७८, बुधबार १४:३४ मा प्रकाशित

काठमाडौँ – संक्रमण तीव्र गतिमा फैलिने र वैज्ञानिकहरुले घातक पनि हुन सक्ने बताएको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

देशका सबै क्षेत्रबाट संक्रमित ३५ नमूनाको जिन स्क्वीन्सिग गरि हेर्दा ९७ प्रतिशतमा बी १.६१७.२ र बाँकी तीन प्रतिशत (एक नमूना) मा बी १.६१७.१ भेरियन्ट भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बी १.६१७.२ भेरियन्ट

कोरोना भाइरसको बी १.६१७.२ भेरियन्ट ट्रिपल म्युटेन्ट अर्थात तीनवटा उत्परिवर्तित कोरोना भाइरसको मिलनबाट बनेको नयाँ भेरियन्ट हो ।

स्वास्थ्य मन्त्रालयले यो भेरियन्ट सबै उमेर समूहका लागि संक्रामक र घातक हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनले पनि भारतमा पहिलो पटक देखिएको यो भेरियन्टलाई हालै (मे १०, वैशाख २७) विश्वव्यापी चासोको भेरियन्ट भनेको थियो ।

वैज्ञानिकहरु कोरोना भाइरसको यो भेरियन्टलाई लिएर चिन्तामा छन् । म्युटेसन भएर बनेका तीन भेरियन्टहरु इ ४८४ क्यू, एल ४५२ आर र पी ६८१ आर का गुण एकै भेरियन्ट बी १.६१७.२ मा देखिएको छ । यी म्युटेशनहरु यूके, साउथ अफ्रिका र ब्राजिलमा पाइएका संक्रामक भेरियन्टहरुमा पनि देखिएका थिए ।

इ ४८४ क्यू म्युटेशन तीव्र गतिमा फैलिएको ब्राजिल र साउथ अफ्रिका भेरियन्टमा पाइएको इ ४८४ के म्युटेशनसँग समान छ ।

एल ४५२ आर म्युटेशन अमेरिकाको क्यालिफोर्नियामा पहिलोपटक पाइएको कोरोना भाइरसको भेरियन्टमा पनि देखिएको थियो । यो म्युटेशनमा पहिलेको संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने क्षमता देखिएको छ ।

पी ६८१ आर म्युटेशन बेलायतमा भेटिएको संक्रामक भेरियन्टसँग समान रहेको अध्ययनले देखाएको छ । यस्तै यो म्युटेशन साउथ अफ्रिकामा देखिएको भेरियन्टको क्यू ६७७ एच म्युटेशनसँग पनि मिल्दोजुल्दो छ ।

तीन उत्पारिवर्तित भाइरसको मिलनबाट बनेको (ट्रिपल म्युटेन्ट) लाई लिएर चिन्ता यो कारण पनि छ कि यो सबै उमेर समूहकामा संक्रामक र घातक पनि देखिएको छ ।

निर्माण भएको प्रतिरक्षा प्रणालीलाई पनि छल्न सक्ने खुबी देखिएको छ । तर यसविरुद्ध अहिले चलनमा रहेका खोपहरुले कत्तिको काम गर्छन् भन्नेबारे स्पष्ट जानकारी छैन । वैज्ञानिकहरु अनुसन्धानको क्रममा छ ।

यो भेरियन्ट भारतमा गएको डिसेम्बरमा पहिलोपटक भेटिएको थियो ।

बी १.६१७.१ भेरियन्ट

कोरोना भाइरसको बी १.६१७.१ भेरियन्ट पनि भारतमा गएको डिसेम्बरमा पहिलोपटक भेटिएको थियो । मार्चसम्म पुग्दा यो भेरियन्टको संक्रमण उच्च देखिएको थियो । अप्रिलदेखि भने यसको संक्रमण कम हुँदै गएर ट्रिपल म्युटेन्ट बी १.६१७.२ भेरियन्टको संक्रमण बढ्न थालेको हो ।

बी १.६१७.१ भेरियन्ट मा एल ४५२ आर र इ ४८४ क्यू म्युटेन्टको उत्परिवर्तनबाट बनेको हो ।

बी १.१.७ भेरियन्ट

बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको बी १.१.७ भेरियन्टको संक्रमण पनि नेपालमा यसअघि नै पुष्टि भएको छ ।

यो भेरियन्टविरुद्ध हाल प्रचलनमा रहेका खोप प्रभावकारी हुन सक्ने प्रारम्भीक अनुसन्धानले देखिएको छ । तर थप अनुसन्धान भइरहेकाले विस्तृत रुपमा बताउन सो अध्ययनको नतिजा नै पर्खिनु पर्ने वैज्ञानिकले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter