सोमबार, ०८ मङि्सर २०७७

सरकारको विभेदकारी नीति

सीमा खान

२७ कार्तिक २०७७, बिहीबार १०:५९ मा प्रकाशित

केही दिनअघि राष्ट्रिय सञ्चारमाध्यमबाट समाज कल्याण परिषद्ले विभिन्न सामाजिक तथा शैक्षिक कार्यका लागि नेपाल भित्रिने आर्थिक सहयोगका लागि नयाँ नीति बनाउने निर्णय जानकारी गराएको छ । प्रसंग हिन्दू धर्मबाहेक अन्य धर्मतिर तेर्सिएको हुँदा अन्य धर्मावलम्बीले ठूलो विभेदको महसुस गरेका छन् ।

परिषद्का अनुसार अब बन्ने नयाँ नीतिमा दुवै छिमेकी राष्ट्र चीन तथा भारतलाई आपत्ति रहेका दातृ निकायबाट प्राप्त आर्थिक सहयोग नेपाललाई पनि स्वीकार्य हुनेछैन भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । धार्मिक क्रियाकलापका लागि भनी विभिन्न शीर्षकमा विभिन्न माध्यमबाट भित्रिने आर्थिक सहयोगप्रति परिषद्ले आपत्ति जनाउँदै मुस्लिमका मदरसाहरूमा आतंककारी गतिविधिका लागि प्रयोग हुने भन्दै आतंकवाद शब्दका साथ धर्म परिवर्तनलाई पनि जोडिएको छ, जसको सम्बन्ध क्रिस्चियन धर्मसँग जोडिएको स्पष्ट छ ।

पहिला पनि यस प्रकारका तथ्यहीन आरोप नलागेका होइनन् । यसलाई सिद्ध भने अहिलेसम्म गर्न सकेका छैनन् । भारतलाई नेपालका मदरसाहरूसँग समस्या रहेको छ र चीनलाई सिमानाका तिब्बतीसँग । अर्थात्, यी दुई छिमेकी राष्ट्रका अनुमति तथा इच्छाका आधारमा नीति बन्ने गर्छ । संघसंस्थामा आएका बजेटप्रति परिषद् जानकार नहुने गरेको होइन । परिषद्को स्वीकृतिविना परियोजना सञ्चालन गर्न नपाइने सरकारको कडा नीति रहेकै छ ।

नेपाल बहुधार्मिक देश हो र हरेक धर्मावलम्बीले आ–आफ्नो पहुँच र सम्पर्कद्वारा स्रोत संकलन गरी सेवा तथा सहयोग पुर्‍याउने गरेका छन् । मदरसा, गुम्बा तथा गुरुकुल यी सबै धार्मिक शिक्षा प्रदान गर्ने शैक्षिक निकाय हुन् । तर, गुरुकुल र गुम्बासँग कहिल्यै आतंकवाद शब्द जोडिनुपर्ने आवश्यकता देखिएन, मदरसासँग किन ? यो मुस्लिम समुदायप्रतिको विभेदकारी नीति हो ।

यहाँ प्रश्न मदरसाहरूसँग आतंकवाद शब्द जोडिएकोमा हो । नेपालमा जति पनि मदरसा छन्, सबै दर्ता नभए तापनि सरकारको जानकारीमै रहेका छन् । सबै मदरसाको स्थानीय सरकारसँग समन्वय पनि राम्रो रहेको छ । मदरसा शैक्षिक संस्था हो, जहाँ मुस्लिम समुदायका लगभग ७० प्रतिशत बालबालिकाले शिक्षा प्राप्त गर्ने गर्दछन् । केही मदरसामा धार्मिक तथा सामाजिक दुवै प्रकारका शिक्षा दिइने गरिन्छ भने केही मदरसामा स्रोत अभावका कारण धार्मिक शिक्षा मात्रै उपलब्ध छ ।

मदरसामा आधाभन्दा अधिक संख्या बालिकाहरूको रहेको छ । अनाथ बालबालिका पनि यिनै मदरसामा शिक्षा प्राप्त गर्ने गर्दछन्, जो यस समुदायको आर्थिक विपन्नताको प्रमाण पनि हो । आर्थिक विपन्नताकै कारण किताब–कापीका लागि १०० रुपैयाँ नहुँदा मदरसामा समेत पठाउन नसकेका परिवार पनि छन् ।

मदरसामा आधाभन्दा अधिक संख्या बालिकाहरूको रहेको छ । अनाथ बालबालिका पनि यिनै मदरसामा शिक्षा प्राप्त गर्ने गर्दछन्, जो यस समुदायको आर्थिक विपन्नताको प्रमाण पनि हो । आर्थिक विपन्नताकै कारण किताब–कापीका लागि १०० रुपैयाँ नहुँदा मदरसामा समेत पठाउन नसकेका परिवार पनि छन् । मदरसाको स्रोत समुदायबाट संकलित चन्दा तथा मुस्लिम मुलुकहरूबाट दानस्वरूप प्राप्त भएका जकातको रकम हो ।

सरकारको सहयोग तथा शैक्षिक दरबन्दी केही मदरसालाई मात्र प्राप्त छ । यस्तो दयनीय अवस्थामा रहेका मदरसाहरूलाई आतंकवादी गतिविधिमा संलग्नताको आरोप कहाँसम्म न्यायिक छ ? खाडी मुलुकहरूबाट आएका जकात यिनलाई आतंककारी बनाउने उद्देश्यका लागि हुन् भने त्यो कुन मुलुक हो, जसले आतंकवादका लागि सहयोग गरिरहेको छ र अहिलेसम्म कतिजना आतंकवादी मदरसाबाट दक्षता प्राप्त गरी निस्केका छन् ? यो सीधा प्रश्न मुस्लिम समुदायको तर्फबाट परिषद्लाई छ ।

देशमा अन्य धर्मावलम्बीका पनि शैक्षिक संस्था गुरुकुल, गुम्बा छन् । जो कहिल्यै आतंकवादजस्ता शब्दले आरोपित भएनन् । धार्मिक विभेद, अतिवाद, साम्प्रदायिकता कुनै पनि राष्ट्रका लागि घातक सिद्ध हुने गर्दछ । भारत स्वयं यसको एक उदाहरण रहेको छ । मुस्लिमहरूलाई धर्मसँग जोड्नु र धर्मलाई आतंकवादसँग जोड्नु अहिलेको विश्वव्यापी प्रवृत्ति नै हो, जसलाई इस्लामोफोबिया भनिन्छ । यही इस्लामोफोबियाको प्रभावबाट हाम्रो देश पनि अछुतो रहेन । समस्या मानसिकतामा रहेको छ, समुदायमा होइन । देशको संविधानको समानताका सिद्धान्तलाई थाँती राखी यस प्रकारको आरोपका आधारमा नीति निर्माण तथा परिवर्तनको जमर्को गर्दा सीमान्तकृत समुदायका लागि त्यो खेदपूर्ण हुन्छ नै ।

हाम्रो मुलुक धार्मिक सहिष्णुता तथा सद्भावका लागि उदाहरणीय रहिआएको छ । एक–अर्काको धर्मप्रति इज्जत र सम्मान रहेको छ । यस प्रकारका साम्प्रदायिक चिन्तन र सोचले स्थान प्राप्त गर्ने अवसर पाउँदा सकारात्मक परिणाम कहिल्यै आएको विश्व इतिहास छैन, राज्य विभेदकारी बन्नुहुन्न । यस्तो चिन्तनले राष्ट्रलाई विनाशतिर डोर्‍याउँछ, विकासतिर होइन । अन्तरजातीय कलह, द्वन्द्व, जातीयता, छुवाछुत, दमन अझै पनि दैनिक परिघटनाका रूपमा रहनुले धर्मप्रति घृणाको वातावरण छ, संविधानविपरीत दलितमाथिको दमन रहेको अवस्था छ । मुस्लिमहरूको अवस्था उस्तै दयनीय छ ।

यति बुझ्न जरुरी छ कि अतिवादको न कुनै धर्म हुन्छ, न सिद्धान्त । अतिवादीको कुनै धर्म हुँदैन । ऊ जुनसुकै धर्मसँग आबद्ध किन नहोस्, धर्म मान्ने व्यक्ति अरूको धर्मसँग घृणा गर्दैन । अहिंसा र सद्भाव सबै धर्मको मूल मन्त्र हो । भारतमा मुस्लिमलाई हेर्ने दृष्टिका आधारमा राज्यले आफ्ना नेपाली मुस्लिम नागरिकलाई हेर्नु ठीक होइन । नेपाली मुसलमान नेपाललाई माया गर्छन्, नेपालले पनि आफ्ना सबै नागरिकलाई समान माया गर्नुपर्छ ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter