शुक्रबार, ०७ बैशाख २०८१

नेपाली भूमिबाट भारतले आफ्ना सेना फिर्ता लैजानुपर्छ-परराष्ट्रमन्त्री

२ आश्विन २०७७, शुक्रबार २१:४० मा प्रकाशित

बुटवल-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्।

नेपालले जारी गरेको नयाँ नक्शाअनुसार नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान उनले भारत सरकारलाई आग्रह गरेका हुन्।

बुटवलमा प्रेस संगठन नेपाल रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँग यसबारे औपचारिक वार्ताको तयारी भैरहेको बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिटै वार्ता हुने बताए।

उनले नयाँ नक्शाअनुसारको नेपाली भूमि फिर्ता गर्नका लागि सरकारले भारतसँग अनौपचारिक छलफल अघि बढाएको र छिटै नै वार्ता हुने बताए।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री ज्ञवालीले नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमान घिसिङले कुशल व्यवस्थापन गरेका कारण सम्भव भएको बताए।

तर, लोडसेडिङमुक्त नेपाल बनाउनुको श्रेय घिसिङलाई मात्रै नजाने उनको तर्क छ। ‘प्रधानमन्त्री केपी ओलीको दुरदर्शिता, विभिन्न उर्जामन्त्रीहरुको प्रयास र योजनामा घिसिङको व्यवस्थापनका कारण नेपाल लोडसेडिङमुक्त भएको हो, उहाँको एक्लो प्रयासमा सम्भव भएको हैन’–उनले भने।

उनले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणमा नियुक्ति गर्ने विषयमा छलफल हुन बाँकी रहेको उल्लेख गरे। ‘उहाँको कामप्रति सरकार सकारात्मक नै छ, उनले भने-‘उहाँलाई पुनः त्यही ठाउँमा नियुक्ति नवीकरण गर्ने भन्ने कुनै प्रावधान र व्यवस्था नभएकाले उहाँलाई कुन जिम्मेवारी दिने भन्नेमा हामीले छलफल गर्छौं।’

कोरोना महामारीकै बीचमा गुल्मीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि पुगेर फर्किएका मन्त्री ज्ञवालीले सरकारले भनेअनुसारका मापदण्डहरु पालना नगरी लापरबाही गर्दा कोरोना संक्रमणको जोखिम थप बढ्नसक्नेतर्फ सचेत गराए।

उनले सरकारले प्रक्षेपण गरेअनुसार संक्रमणको दर नदेखिएकोले थप सतर्कता अपनाउनु जरुरी रहेको बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter