शनिबार, ०८ बैशाख २०८१

अहिले जनताको जीवन रक्षा बाहेक अरु कुरा सोच्ने बेला होइनः मुख्यमन्त्री राउत

११ भाद्र २०७७, बिहीबार २१:४८ मा प्रकाशित

जनकपुरधाम– कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको बताए।

उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक–पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिहरुले सदुपयोग गर्न नसकेकोमा बताए। प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, अस्पताल लगायतलाई रकम उपलब्ध गराए पनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनकाे भनाइ छ।

मुख्यमन्त्री राउतले आफूहरु सक्ने र क्षमताले भ्याएसम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्नेसमेत बताए। उनले जनअपेक्षा अनुरुप आठै जिल्लामा पीसीआर संचालनका लागि प्रक्रिया शुरु भइसकेको र रौतहटमा जडान प्रक्रियासमेत शुरु भएको बताए। साथै उनले बाँकी जिल्लामा समेत १५ दिनभित्र पीसीआर मेसिन संचालनमा आउने बताए।

त्यस्तै उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना ठूलो रोग नभएको बताए। उनले भने, ‘कोरोनाबाट जोगिन ज्यादै ठूलो कुरा केही छैन्, सामाजिक दूरी कायम गर्नुस्, मास्क प्रयोग गर्नुस्, साबुनपानीले हात धुनुस् कोरोना आफै भाग्छ।’

जनकपुरधाममै भेन्टिलेटरको अभावमा संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा मन्त्री साहले प्रदेश २ मा भेन्टिलेटर फेसन बनिसकेको बताए।

उनले भने, ‘भेन्टिलेटर भएर मात्रै कोरोना संक्रमितलाई जोगाउन सकिँदैन। ९५ प्रतिशत संक्रमितलाई भेन्टिलेटर चाँहिदैन। ७५ प्रतिशत आफैं निको हुन्छन्, २० प्रतिशतलाई अक्सिजन चाहिन्छ। भेन्टिलेटरमा राखिने ५ प्रतिशतमध्ये १ प्रतिशतलाई मात्र जोगाउन सकिन्छ, तर यहाँ भेन्टिलेटरलाई ठूलो मुद्दा बनाइएको छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter