बिहिबार, १३ बैशाख २०८१

पार्टी एकताको पक्षमा दबाब दिन नेकपाका ५० बढी सांसदले गरे हस्ताक्षर

२५ श्रावण २०७७, आईतवार १५:२१ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्।

पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिए।

नेता नेपालनिकट सांसद  यज्ञराज सुनुवारका अनुसार पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरेर हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागिएको हो।

‘अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु हुन्न बरू एकतालाई मजबुद्  बनाउनु पर्छ भन्ने दबाब दिन हामीले हस्ताक्षर गरेका हौं,’ सांसद सुनुवारले भने।

आफूहरू पार्टीभित्रको यो विवादमा कुनै समूहतीर नरहेको र पार्टी एकताको पक्षमा रहेको जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको सांसद भट्टराईको भनाइ छ।

‘यो बेलामा पार्टी फुट्नु हुँदैन, हामी कुनै पनि खाले विभाजनको पक्षमा छैनौं’, उनले भने, ‘पार्टी एकताका लागि अब शीर्ष नेताको घरदैलोमा गएर दबाब दिनसमेत हामी पछि पर्दैनौं।’

हस्ताक्षर गर्नेहरूमा विशाल भट्टराई, यज्ञराज सुनुवार, गणेश ठगुन्ना, तेज बहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, गणेश पहाडी, कमला रोक्का, सुरेशकुमार राई लगायत छन्।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र  अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहबीच विवाद चुलिँदै गएको छ।

विवाद चुलिँदै जाँदा दुई वर्ष अघि एक भएको पार्टी विभाजन त हुने होइन भन्ने चिन्ता आमकार्यकर्तामा छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter