बिहिबार, १५ चैत २०८०

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

२३ श्रावण २०७७, शुक्रबार २२:२५ मा प्रकाशित

टापु राष्ट्र श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।

त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्।

कोरोनाभाइरसको महामारीबीच आम निर्वाचन गर्ने श्रीलंका पहिलो दक्षिण एसियाली मुलुक हो। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ।

राजापाक्षेको पार्टीले अत्याधिक बहुमतले चुनाव जित्ने देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारै समकक्षी महिन्दा राजापाक्षेलाई टेलिफोन गरी बधाई दिएका थिए।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए। राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए।

संसदमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु छ महिनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए। कोरोनाभाइरसका कारण चुनाव दुई पटक सरेको थियो।

श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ। सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए। पछि पार्टीभित्रैबाट भ्रष्टाचार र नातावादको चर्को विरोधपछि उनी सत्ताबाट बाहिरएका थिए।

राजापाक्षेहरूको पार्टी सिंहाली समुदायमा ‍लोकप्रिय छ। सन् २००९ मा तमिल विद्रोह अन्त्य गर्न मुख्य भूमिका खेलेको जस राजापाक्षे दाजुभाइलाई छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter