शुक्रबार, ०७ बैशाख २०८१

पौडेलले देउवालाई बुझाए असन्तुष्टि पत्र, देउवाले भने- आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर्नुस्

१६ श्रावण २०७७, शुक्रबार १०:३२ मा प्रकाशित

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालय सानेपामा भेटेर ‘मनलाग्दी नगर्न’ लिखित पत्र बुझाएका छन्।

महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति देउवाले विभाग र समितिमा मनोनयन जारी राखेपछि पौडेल पक्ष असन्तुष्ट छ।

पौडेल र महामन्त्री शशांक कोइरालाको हस्ताक्षरसहितको पत्र सभापति देउवालाई उनीहरूले बुझाएका हुन्।

देउवाले १४ औं महाधिवेशन आफ्नो पक्षमा पार्न निर्वाचन आचारसंहिता मिचेर मनोनयन गरिरहेकोले रोक्नु पर्ने पौडेल पक्षको माग छ।

‘सभापतिजीसँग यो पदको झगडा होइन, उहाँसँग नीतिगत लडाइँ हो,’ देउवालाई भेटेपछि नेता पौडेलले भने, ‘हाम्रो पार्टी आफैंभित्र लोकतान्त्रिक हुनुपर्‍यो भन्ने हो। विधिसम्मत चल्नुपर्‍यो।’

राप्रपा छाडेर आएका सुनिल थापालाई देउवाले आफूखुसी सहमहामन्त्री दिएकोमा पनि पौडेल पक्षले देउवासँग असन्तुष्टि जनाएका छन्।

‘कोही पार्टीमा प्रवेश गर्नु स्वागतयोग्य हो। तर कसैलाई कुनै पद दिँदा केन्द्रीय समितिबाट निर्णय गरेर दिनुपर्छ,’ पौडेलले भने, ‘यसैकारण पार्टीभित्र विधिविधानका कुरा उठाउनु परेको हो।’

समायोजन सकिएका जिल्लामा पारदर्शी हिसाबले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनु पर्ने पौडेलले बताएका छन्।

भातृ संस्थाहरूको अधिवेशनबाट नै महाधिवेशनमा प्रतिनिधि आउने भएकोले अधिवेशन गर्नुपर्ने उनको भनाइ थियो।

आफ्ना असन्तुष्टि सभापति देउवासमक्ष राखे पनि देउवाले समाधान गर्ने आश्वासन दिएनन्। त्यसपछि पौडेल पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका छन्।

‘सभापतिलाई भेटेर हामीले कुरा राख्यौं। उहाँ मिलाएर गर्छु, मिलाएर गर्छु भन्नुहुन्छ तर हामीले दिएको सुझावअनुसार अगाडि बढ्नुहुन्न,’ नेता पौडेलले भने।

उनले कांग्रेस स्वंय लोकतान्त्रिक हुनु पर्ने बताएका छन्।

पौडेल पक्षका नेताले बुधबार पार्टी कार्यालयमा गुट भेला गरेर सभापतिसँग कुराकानी गर्ने जिम्मेवारी पौडेललाई दिएअनुसार पौडेललगायत नेताले आज देउवालाई भेटेका हुन्।

करिब एक घन्टा चलेको भेटमा देउवा र पौडेल पक्षका नेताहरू सहभागी भएका थिए।

पौडेलसँग रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत नेता थिए।

देउवासँग उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायत नेता थिए।

बैठकमा पौडेलले म्याद थप गरिएका सभापतिले तत्कालै विभाग, समितिमा मनोनयन रोक्न माग गरेका थिए।

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार जवाफमा सभापति देउवाले पौडेललाई विभागमा रहने नेताका नाम दिन आग्रह गरेका थिए।

‘तपाईंले विभागमा राख्ने मान्छेको नाम दिनुस् भन्दा दिनुभएको छैन। पहिला उहाँहरूको नाम दिनुस्,’ देउवाको भनाइ थियो, ‘आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर्नुस्।’

४७ विभागमध्ये देउवाले महत्वपूर्ण २० विभागमा संयोजक तोकिसकेका छन्। ती विभागमा हिजोआज सदस्यहरू मनोनित भइरहेका छन्।

पौडेल पक्षले भने विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र गर्नुपर्ने विभाग अर्को महाधिवेशनको मुखमा गर्नुको औचित्य नहुने बताउँदै आफ्ना तर्फबाट नामावली दिएको छैन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter