बिहिबार, ०६ बैशाख २०८१

नेपालको उर्जा क्षेत्रमा लगानी ल्याउन बंगलादेश तयार

८ श्रावण २०७७, बिहीबार १९:४६ मा प्रकाशित

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरे।

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गरे। राजदूत साम्सले आफ्नो चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदै छिन्।

नेपाल र बंगलादेशबीच २०७५ साल भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।

त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

मन्त्री पुनले बंगलादेश र नेपालबीच जनस्तरमा समेत सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गरे। ‘नेपालबाट अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बंगलादेश गएका छन्’ पुनले भने ‘यसले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार र सुढृढ बनाउन सहयोग पुगेको छ।’

मन्त्री पुनले राजदूत साम्सको कार्यकालमा द्विपक्षीय कूटनीतिक र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी भएको भन्दै प्रशंसा गरे।
जवाफमा राजदूत साम्सले नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गरिन्।

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति ब्यहोर्नुपरेको भन्दै आर्थिक–सामाजिक चुनौतिको मिलेर सामना गर्नुपर्ने उल्लेख गरिन्। नेपालले पर्यटन र रेमिट्यान्समा क्षति ब्यहोरेजस्तै बंगलादेशले पनि गलैंचा र रेमिट्यान्समा क्षति ब्यहोरेको उनको भनाइ थियो।

कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमणहरु महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने राजदूत साम्सले जानकारी दिइन्।

यस्तै राजदूत साम्सीले मन्त्री पुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बंगलादेश भ्रमणको निम्तासमेत दिइन्। मन्त्री पुनले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र समकक्षी (उर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter