बिहिबार, ०६ बैशाख २०८१

चिनियाँ सेनाकी वैज्ञानिक क्यालिफोर्नियाको महावाणिज्य दूतावासमा लुकेको एफबिआईको आरोप

८ श्रावण २०७७, बिहीबार १९:४० मा प्रकाशित

अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)ले चिनियाँ जनमुक्ति सेना (पिएलए)ले  छद्मभेषी रूपमा आफ्ना वैज्ञानिक अमेरिका पठाएको आरोप लगाएको छ।

अमेरिकाले ह्युजटनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न ७२ घन्टाको समय दिएको अर्को दिन पिएलएले त्यसरी अमेरिका पठाएकी एक जना महिला  वैज्ञानिक सानफ्रान्सिस्कोको चिनियाँ महावाणिज्य दूतावासमा लुकेको समाचार अमेरिकी सञ्चारमाध्यमले छापेका छन्।

सिएनएनका अनुसार ती महिलालाई भिसा लिँदा गलत विवरण दिएको अभियोगमा एफबिआईका अधिकारीहरूले खोजिरहेका थिए।

अभियोजनकर्ताहरूले जीवविज्ञानको अध्ययन गर्ने टाङ जुआन नामकी ती महिलाले अमेरिकाको भिसा पाउन पिएलएसँगको सम्बन्ध लुकाएको आरोप लगाएका छन्। उनले महावाणिज्य दूतावासमा शरण लिएर गिरफ्तारीबाट बच्न खोजेको  पनि उनीहरूको दाबी छ।

अदालतमा दायर भएको मुद्दाअनुसार टाङलाई गत जुन २६मा भिसा फ्रड गरेको अभियोग लगाइएको थियो।

सुरूमा उनले पिएलएसँगको सम्बन्ध लुकाएकी थिइन्। तर पछि अनुसन्धानकर्ताहरूले पिएलएको ड्रेस लगाएको उनको तस्बिर फेला पारेका थिए। उनी पिएलएको फोर्थ मिलिटरी मेडिकल विश्वविद्यालयकी कर्मचारी रहेको पनि उनीहरूले पत्ता लगाएका थिए।

जुन २० मा एफबिआईका अधिकारीले सोधपुछ गर्दा टाङले चिनियाँ सैनिकसँगको सम्बन्ध अस्वीकार गरेकी थिइन्। उक्त विश्वविद्यालयमा जाँदा सैनिक ड्रेस आवश्यक पर्ने भएकाले आफूले पनि लगाएको उनको तर्क थियो।

तर उनीमाथि गरिएको थप अनुसन्धानबाट उनको पिएलएसँगको सम्बन्ध रहेको देखिएको एफबिआईले जनाएको छ।

एफबिआईले सोधपुछ गरेपछि टाङ  सान फ्रान्सिस्कोको महावाणिज्य दूतावासमा गएको र अहिले पनि त्यहीँ बसिरहेको एफबिआईको अनुमान छ।

अभियोजनकर्ताहरूले दर्ता गरेको मुद्दामा पिएलएले अरू पनि आफ्ना वैज्ञानिकलाई विभिन्न अनुसन्धान गर्न अमेरिका पठाएको दाबी गरिएको छ।

‘चीनलाई सैनिक हिसाबले प्रभुत्वशाली बनाउन यीमध्ये कोही वैज्ञानिकले अमेरिकी सूचनाको  चोरी  वा कपी गरिरहेका थिए भन्ने देखिन्छ,’ अभियोजनकर्ताले भनेका छन्।

गत महिना तियानजिन आउन लागेका चिनियाँ वैज्ञानिक सिन वाङलाई भिसा फ्रड गरेको आरोपमा लस एन्जलस विमानस्थलबाट पक्राउ गरिएको थियो।

यसअघि अमेरिकाले चीनले आफ्नो वौद्धिक सम्पत्ति र नागरिकको विवरण चोर्ने गरेको आरोपमा ह्युजटनको महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो। अमेरिकी सूचना र विवरण चोर्न चिनियाँ जनमुक्ति सेना नै नियोजित रूपमा संलग्न रहेको एफबिआईको आरोपसँगै धेरै क्षेत्रमा तरल भइरहेको अमेरिका-चीन सम्बन्धमा अझै तनाव चुलिने देखिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter