बिहिबार, १५ चैत २०८०

प्रचण्ड र माधव नेपालसँग कुरा नमिलेपछि प्रधानमन्त्रीले बालुवाटार बोलाए आफूनिकट नेता

२ श्रावण २०७७, शुक्रबार ००:२० मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन्।

दिउँसो अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई साँझ बालुवाटार बोलाएका हुन्।

उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र सांसदहरू बालुवाटार छलफलमा सहभागी रहेको स्रोतले जानकारी दियो।

नेताहरूसँग प्रधानमन्त्री ओलीले भोलि बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहेका छन्।

स्रोतका अनुसार दिउँसो प्रचण्ड र नेपालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका थिए।

‘म राजीनामा दिन्न, तपाईंहरू विधिसम्मत तरिकाले जसरी हटाउने हो हटाउनुस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

आजको छलफलका क्रममा प्रचण्डले पार्टीको विवाद समाधान गर्न बरिष्ठ नेता नेपालसँग पनि सहमति गर्नुपर्ने बताएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले आफूहरू दुई जनाले पार्टी एकता गरेकाले नेपालसँग सहमति जरूरी नभएको बताएका थिए।

कुरा नमिलेपछि तीन नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको थियो।

प्रधानमन्त्रीसँग छलफल गर्न जानुअघि प्रचण्ड निवास खुमलटार नेकपामा ६ सचिवालय सदस्यको छलफल भएको थियो। उक्त छलफलले प्रधानमन्त्रीले पार्टी निर्णय मान्नु पर्ने निष्कर्ष निकालेको थियो।

नेकपाभित्र पछिल्लो समयमा प्रचण्ड-नेपाल खेमाले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ भने ओली दुबै पद नछोड्ने अडानमा छन्।

विवादले पार्टी फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच सहमति गर्ने भन्दै असार १० गतेदेखि जारी स्थायी समिति बैठक असार १८ गतेपछि लगातार स्थगित हुँदै आएको छ।

अर्को बैठक शुक्रबार बोलाइएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter