मङ्गलबार, ११ बैशाख २०८१

स्वास्थ्य सामग्री खरिदको छानविन गर्न कांग्रेसको माग, ‘स्वास्थ्य मन्त्रालय असफल

३१ असार २०७७, बुधबार २१:०७ मा प्रकाशित

नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी दाेषीमाथि कारबाही गर्न माग गरेको छ।

नेपाली कांग्रेस कोभिड१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारसमक्ष यस्ताे माग राखेकाे हाे।

समितिका संयोजक प्रकाशसरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न माग गरिएको बताए।

उनले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा संक्रमण फैलने दर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न माग गरिएको बताए। पिसिआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।

निजी क्षेत्रलाई पनि पिसिआर किट आयात गर्न र परीक्षण गर्न दिन माग गरिएको महतले बताए। देशभित्र पिपिई लगायतका स्वास्थ्य सुरक्षा समाग्री उत्पादनका लागि प्रोत्साहन गर्न र सम्भावित संक्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्न समेत कांग्रेसले माग गरेको छ।

संयोजक महतले स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरुको बीमा गर्न समेत माग गरे। उनले पटक पटक कर्मचारीको सरुवा गर्ने प्रवृतिले पनि कोभिड १९ को उपचारमा समस्या आएकोले सरकारलाई गम्भीर हुन आग्रह गरे।

सरकार जिम्मेवार नभएकाले कोभिड १९ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले मात्रै लिनुपरेको उनको भनाइ छ। नेपाली कांग्रेसको नेतृत्व रहेका स्थानीय तहमा सरकारले आफ्ना कार्यकर्ता सम्मिलित उपभोक्ता समिति बनाई सिधै बजेट पठाएर काम गरेको पाइएको उनले बताए।

कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई समान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको निष्कर्ष कांग्रेसको छ। ‘आर्थिक संकटमा परेका कृषि, यातायात, पर्यटन, निर्माण उद्योग, साना तथा मझौला व्यवसायलाई सुचारु गरी रोजगारीका अवसरहरु कायम गर्न र राहतको प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको छ’ महतले भने।

विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएकाहरुलाई गाउँगाउँमा रोजगारी सुनिश्चित गर्न र न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न कांग्रेसले माग गरेको छ।

कोभिड १९ बाट आहत भएका उद्योग व्यवसायहरुलाई बैंकहरु मार्फत ब्याजमा राहत, साँवा ब्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतका उपायहरु अवलम्बन गर्न भनिएको छ।

भौतिक दुरी कायम गरी सार्वजनिक यातायातलाई सञ्चालन गर्न, यातायात व्यवसायीहरुसँगको छलफलको आधारमा आवश्यक सुरक्षा सामग्री, मास्क तथा राहतको व्यवस्था गर्न कांग्रेसले माग गरेको छ।

कृषि बाली लगाउने समय भएकाले कृषकलाई आवश्यक बिउबिजन, मलखादको सुलभ र सहुयितपूर्ण व्यवस्था तत्काल मिलाउन कांग्रेसले भनेको छ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter