शुक्रबार, ०७ बैशाख २०८१

नेकपा कार्यकर्ता ओली, प्रचण्ड-नेपाल पक्षका तर्क टिपेर गाउँसम्मै विभाजित

२२ असार २०७७, सोमबार २१:३६ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्रको टकरावले केही दिनदेखि केन्द्रीय राजनीति तरल बनेको छ।

नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच टकराव बढ्दै गएपछि दुई वर्षअघि बनेको यो पार्टीको भविष्य के हुने हो भन्ने अन्यौल बढेको छ।

यही टकराव र अन्यौलका बीच आफ्ना समूहका शीर्ष नेताका तर्क टिपेर स्थानीयस्तरसम्म नेकपाका नेता/कार्यकर्ता विभाजित भइरेहेका छन्।

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि ओलीको पक्षमा पोखरा, दमौली, बेसीशहरलगायत ठाउँमा प्रदर्शनसमेत भए। प्रदर्शनमा युवा तथा विद्यार्थी संगठनमा आवद्ध कार्यकर्ता सहभागी थिए।

पोखरामा प्रधानमन्त्री ओलीनिकट मदन भण्डारी फाउण्डेसनले शनिबार प्रदर्शनको आयोजना गर्ने तयारी गरेको थियो। तर माथिबाट फाउण्डेसनको ब्यानरमा प्रदर्शन नगर्नु भन्ने निर्देशन आएपछि रोकिएको फाउण्डेसनका एक पदाधिकारीले बताए।

गण्डकी प्रदेशको नेकपाको संगठनमा ओली पक्षको बाहुल्यता छ। तत्कालीन एमाले र माओवादीबीच एकीकरण हुनुअघिसम्म पोखरामा तत्कालीन एमालेको माधव नेपाल पक्षका नेता कार्यकर्ता पार्टीको बैठकमा समेत खुलेर कुरा राख्न सक्ने अवस्थामा थिएनन्।

‘हामीलाई पार्टीको कार्यक्रममा समेत बहिष्कार हुन्थ्यो,’ नेपाल पक्षका एक जिल्ला नेताले भने, ‘अहिले पनि उस्तै छ, खासै परिवर्तन छैन।’

गण्डकी प्रदेश सभाका ६० सिटमध्ये सत्तारूढ नेकपाको मात्र दुई तिहाइ अर्थात् ४० सिट छ। नेपाली कांग्रेसको १५, राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका २ सिट छन्।

नेकपाको ४० सिटमध्ये ११ जना तत्कालीन माओवादीका हुन् भने एमालेका २९ जना छन्। जसमा  नेपाल पक्षका १ जनामात्र छन्।

गण्डकीमा ११ जिल्लाबाट निर्वाचित भएर आएको ओली पक्षको यो सिट संख्याले पनि उनी गण्डकीमा प्रभावशाली छन् भन्ने देखाउँछ।

बाग्लुङबाट निर्वाचित नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटाले मात्र अहिले प्रदेश सभामा नेपाल पक्षको प्रतिनिधित्व गर्छन्। गण्डकी प्रदेशमा ओली पक्ष हाबी भएको सापकोटाले स्वीकारे।

नेकपामा अहिले जारी टकरावमा प्रधानमन्त्री ओली पछाडि हट्नु पर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले आफूमात्र सर्वमान्य हुँ भन्ने अहंकार देखाएको उल्लेख गर्दै उनले नेकपाको लाखौं सदस्यमध्ये ओली एक जना बरिष्ठ सदस्यमात्र रहेको बताए।

‘हामीले पनि पार्टी बनाउन दु:ख गरेका हौं,’ उनले  भने, ‘अहिले ओली एक्लैले बनाएको हुँ भन्नु मुर्खता हो।’

सरकारमा बसेर दर्जनौं काण्ड मच्याएकाले पार्टीलाई असर गरेको उनले बताए।

माधव नेपाल पक्षकै केन्द्रीय सदस्य सीता ओली गिरीले पनि ओली पक्षले आफूहरूलाई जिल्लामा समेत पेल्ने गरेको बताइन्।

‘अहिले ओलीमात्र एमाले अरूलाई माओवादीजस्तो गरेका छन्,’ उनले भनिन्, ‘ओली पक्षले धेरै नै ज्यादती गरे।’

उनले स्थायी कमिटी बैठकबाट समस्या समाधान हुन नसक्ने भन्दै केन्द्रिय कमिटी बैठक बोलाउन माग गर्ने तयारी गरेकोसमेत बताइन्।

‘साथीहरूले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर गर्दैछन्,’ उनले भनिन्, ‘केन्द्रीय कमिटी बैठकबाट विवादको टुङ्गो लगाउनुपर्छ।’

स्थानीय तहमा प्रमुख निर्वाचित भएकाहरूले पनि अहिले फेसबुकमा लेखेर आफ्नो समूहको पक्षमा तर्क गरिरहेका छन्।

कास्कीका मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’ले सरकारलाई घेराबन्दी गरी आक्रमण गरेको बताएका छन्।

जुलाई २ मा फेसबुकमा उनले लेखेका छन्-पार्टी एकता प्रक्रिया अधुरो र अपुरो रहिरहेसम्म गुटबन्दी र गुटका नेताहरू हाबी भइरहन्छ, समस्याको जड त्यहींनेर छ। अहिले लाखौं नेकपाका कार्यकर्तालाई निष्क्रिय र भूमिकाविहीन बनाई सरकारलाई घेराबन्दी गरी आक्रमण गर्ने अनुकूल वातावरण डिजाइनअनुसार नै तयार गरिएको हो।

कास्कीकै रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पनि पार्टीभित्र चुलिएको टकरावप्रति लक्षित गर्दै फेसबुकमा लेखेका छन्, ‘बेमौसमी बाजा बजाउँदा नाफा होला र?’

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पनि शनिबार फेसबुकमा स्टाटस लख्दै परेको सामना गर्ने बताएका छन्। नेकपा विवादप्रति लक्षित गर्दै उनले लेखेका छन्, ‘जे पर्छ सामना गरिन्छ।’

यी तिनै जना स्थानीय तहका प्रमुख ओली पक्षका हुन्।

यस्तै, पोखरा महानगरका मेयर, उपमेरलगायत निर्वाचित अधिकांश जनप्रतिनिधि ओली पक्षका छन्। तर उनीहरूले खुलेर बोलिसकेका छैनन्।

प्रचण्ड समूहका गण्डकी प्रदेश कमिटी सदस्य पारसमणि पौडेलले पार्टीको आदेशबिना सडक नाटक प्रदर्शन गरेर नेतृत्वको रक्षा र रूपान्तरण नहुने बताएका छन्। तत्कालिन माओवादीको केन्द्रीय सदस्यसमेत रहेका पौडेलले शनिबार फेसबुकमा लेखेका छन्- के हुँदैछ यो दुनियाँमा एकता, संघर्ष र रूपान्तरणको मर्म नै नबुझ्ने बथानहरूले नेकपालाई विखण्डनको दलदलमा पुगेको देख्दैछन्। नेताहरू त्यति कमजोर छैनन्, अवश्य नै रूपान्तरण हितको एकीकृत नेकपा नै बन्ने छ। पार्टी प्रधान हो, जिम्मेवारी सहायक कुरा हो। आफूबाहेक अरू सबै बदमास र दलाल हुन् भन्ने सोचले नेतृत्वको कद बढ्दैन। न कि पार्टी आदेशबिना सडक नाटक प्रदर्शन गरेर नेतृत्वको रक्षा र रूपान्तरण सम्भव देखिन्न। आफ्नो सीमा र अनुशासनमा रहनु लेनिनवादी पार्टी संगठनात्मक सिद्धान्तको मूल मर्म हो। सबै आफ्नो ठाउँमा सचेत बनौं।’

सडकमा ओलीका पक्षमा प्रदर्शन भएपछि नेकपा लमजुङकी अध्यक्ष मधु अधिकारीले पनि सडकमा नारा लगाएर पार्टी एकतालाई प्रभावित नपार्न भनेकी छिन्। शनिबार उनले फेसबुकमा लेखेकी छन्, ‘सडकमा नारा लगाएर पार्टी एकतालाई प्रभाव नपारौं, संयमित बनौं, धैर्यता गरौं, नेतृत्वलाई सहयोग गरौं।’ उनी अध्यक्ष प्रचण्ड पक्षकी हुन्।

ओली र प्रचण्ड पक्षका  नेता-कार्यकर्ता फेसबुक र सडकमा देखिए पनि नेपाल पक्षले भने तल्लो तहमा विवादमा सहभागी भएको देखिँदैन।

गण्डकीमा नेपाल पक्ष कमजोर भएर नै चुपचाप बसेको कतिपयको आंकलन छ। तर नेपाल पक्षका एक मात्र प्रदेश सांसद इन्द्रलाल सापकोटा भने त्यस्तो अपरिपक्व काम आफूहरूबाट नहुने बताउँछन्।

‘हामी भाग खोज्न राजनीतिमा आएका होइन,’ उनले भने, ‘पार्टी विधि र विधानमा चलोस् भन्ने चाहना हो, सडकमा विवाद छताछुल्ल गरेर पार्टी बन्दैन।’

पार्टी विधानमा नचल्नु र अहिलेको समस्याको जड नै प्रधानमन्त्री ओली भएको उनको तर्क छ।

‘पार्टी एकता उहाँले नै गर्ने, प्रचण्डसँग सहमति उहाँले नै गर्ने, विधान उहाँले नै बनाउने अनि मान्दिनँ भन्ने यो कहाँको सिस्टम हो?,’ सापकोटाले भने।

यी सब काम गर्दा ओली पक्षले नेपाल पक्ष र अरू नेतालाई नसोधेकोसमेत उनको भनाइ छ।

विवाद जतिसुकै बढे पनि पार्टी नफुट्ने उनले बताए।

‘बरू माधव नेपाल अर्को निर्वाचन र महाधिवेशनसम्म दासता स्वीकारेरै बस्छन्, पार्टी फुट्न दिँदैनन्,’ उनले भने।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter