बिहिबार, १३ बैशाख २०८१

आफू नजान्ने अरूले भनेको पनि नमान्ने गर्दा अर्थतन्त्र धरापमा पर्‍यो: बाबुराम भट्टराई

१ असार २०७७, सोमबार २१:०९ मा प्रकाशित

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अर्थतन्त्र धरासयी बन्दै गएको बताएका छन्।

कोरोना महामारीले झन् मुलुकको अर्थतन्त्र थप संकटतर्फ धकेलेको भट्टराईले बताए।

सोमबार गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्रीको आलोचना गरे।

‘आफू पनि नजान्ने अरूले भनेको पनि नमान्ने गर्नाले अर्थतन्त्र धरासयी भयो,’ उनले भने, ‘कोरोना महामारी छ यसले झन् अर्थतन्त्रलाई थप जटिल अवस्थामा लैजान सक्छ।’

अर्थमन्त्री युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको बताएको भोलिपल्ट पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले उक्त टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री ओलीमा अल्पज्ञान र अहंकारको समिश्रण रहेको आरोप लगाए।

अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै सरकारलाई रुपैयाँको समस्या परिरहेको बताएका थिए।

यस्तै भट्टराईले सीमाबारे नेपाल-भारत वार्ताका लागि सहजीकरण गर्न आफू तयार रहेको पनि बताए। कुटनीतिक तवरले वार्ता/संवादबाटै सीमा समस्या हल गर्नुपर्ने भन्दै उनले सहजीकरण गर्न आफूले सक्ने बताएका हुन्।

‘अहिले सरकारमा रहेका भारतीय नेताहरूसँग मेरो राजनीतिक र भावनात्मक सम्बन्ध छ। जनस्तरमा सम्बन्ध सुधारका लागि पहल गर्न सकिन्छ,’ उनले भने। आफूले वार्ताको नेतृत्व नभई सहजीकरण गर्न मात्रै चाहेको उनको भनाइ छ। ‘वार्ता सरकारले नै गर्नुपर्छ,’ उनले भने।

निर्वाचन क्षेत्रमा स्वास्थ्य सामग्री हस्तान्तरण:

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

आइतबार भट्टराईले सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। उक्त स्वास्थ्य सामग्री युनाइटेड भिजन नेपालले उपलब्ध गराएको भट्टराईले उल्लेख गरेका छन्।

गोरखाको क्वारेन्टिनमा बसेकाहरूको रिपोर्ट ढिला आउने गरेको गुनासो सुनिएको पनि भट्टराईको भनाइ छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter