सोमबार, २२ असार २०७७

कोरोनाको इपिसेन्टर बन्दै कपिलवस्तु, एक महिनामा ५ सय ५० जनामा संक्रमण

२५ जेष्ठ २०७७, आईतवार २३:०६ मा प्रकाशित

बुटवल– प्रदेश ५ को कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढेको छ। भारतबाट आएर क्वारेन्टाइनहरुमा बसेका नागरिकको परीक्षणको दायरा बढेसँगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र देखिएको हो।

गत वैशाख २५ गते मायादेवी गाउँपालिकामा २ जनामा पहिलो संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको एक महिनामा यो संख्या बढेर ५ सय ५० पुगेको छ। प्रदेश ५ का १२ जिल्लामै संक्रमण देखिएकोमा कपिलवस्तुमा सबैभन्दा धेरै संक्रमित छन्। कपिलवस्तुको यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै १ सय ५१ जनामा संक्रमण देखिएको छ।

महाराजगञ्ज नगरपालिकामा १ सय ११ जना, मायादेवी गाउँपालिकामा ५३, कृष्णननगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिकामा ४८, शुद्धोधन गाउँपालिकामा ३३, कपिलवस्तु नगरपालिकामा ३०, बुद्धभूमि नगरपालिकामा २९ जना, वाणगंगा नगरपालिकामा २२ जना र विजयनगर गाउँपालिकामा २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ सय ४४ जना आइसोलेशनमा रहेका छन् भने १ सय ३३ जना डिस्चार्ज भएका छन्। प्रदेश ५ मा ३९ हजार ८ सय ९७ जना क्वारेन्टाइनमा रहेका छन् भने उपचारका क्रममा ४ जनाको मृत्यु भएको छ।

दिनदिनै थपिन्छन् संक्रमित


आइतबारमात्रै कपिलवस्तुमा बैंकका शाखा प्रबन्धकसहित थप २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५ सय ५० पुगेको छ। यशोधरा गाउँपालिकामा १३, महाराजगञ्ज नगरपालिकामा ९ र कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यशोधरा गाउँपालिकाका २७ वर्षकी एक जना महिला र २० वर्षदेखि ४४ वर्षसम्मका १३ पुरुष रहेका छन्। महाराजगञ्ज नगरपालिकाका ६ वर्षदेखि ५१ वर्षसम्मका ९ जना पुरुष तथा कपिलवस्तु नगरपालिकाका ४० वर्षका एक जना पुरुष रहेका छन्।

आइतबार कपिलवस्तुमा एक बैंकका शाखा प्रबन्धकमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। कपिलवस्तु नगरपालिकाले पठाएको स्वाबको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमूना परीक्षणमा तौलिहवाको एक बैंकका शाखा प्रबन्धकमा पनि कोरोना देखिएको छ।

वित्तिय क्षेत्रका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको यो नेपालमै पहिलो हो। कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाका संयोजक उमेश गुप्ताका अनुसार नगर क्षेत्रमा स्वाब संकलन गरिरहेको बेला शाखा प्रबन्धक आफै स्वाब दिन त्यहाँ पुगेका थिए। उनीसहित ६४ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको थियो। प्राप्त नतिजा अनुसार बैंकका शाखा प्रबन्धकसहित सबैको नतिजा नेगेटिभ आएको संयोजक गुप्ताले बताए।

यस अघि कपिलवस्तुमै चार सुरक्षाकर्मी, चार सञ्चारकर्मी, दुई स्वास्थ्यकर्मी, दुई कर्मचारी, एक जना वडाध्यक्ष समेत संक्रमित भएका थिए।

आइतबार नै कपिलवस्तुका १० जना निको भएर घर फर्किएका छन्। योसँगै कपिलवस्तुमा कोरोनामुक्त हुनेको संख्या ४२ पुगेको छ। बुटवल र दाङको दुई आइसोलेसन सेन्टरमा उपचाररत १० जना कोरोनामुक्त भएका हुन्।

शनिबार कपिलवस्तुका ४ पालिकाका ४९ जनामा संक्रमण देखिएको थियो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार महाराजगञ्ज नगरपालिकाका ३७ जना, बुद्धभूमि नगरपालिकाका ४ जना, विजयनगर गाउँपालिकाका ५, यशोधरा गाउपालिकाका २ जना छन् । महाराजगञ्ज नगरपालिकाका ४ वर्षदेखि ४६ वर्षसम्मका ३१ जना पुरुष र ६ वर्षदेखि ५५ वर्षसम्मका ६ जना महिला ३७ जना रहेका छन्।

त्यस्तै यशोधरा गाउँपालिका ७ का २५ वर्षकी एकजना महिला र २५ वर्षका एकजना पुरुष रहेका छन्। विजयनगर गाउँपालिका ३ का २५ वर्षका १ जना पुरुष, वडा नं ५ का २४ वर्षका १ जना पुरुष र वडा नं ६ का २२, ३२, ४८ वर्षका ३ जना पुरुष रहेका छन्। बुद्धभूमि नगरपालिका ५ का १९ र २९ वर्षका २ जना पुरुष, वडा नं. ६ का २३ र ३६ वर्षका २ जना पुरुष रहेका छन्। यी सबै नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा परिक्षण गरिएको हो। भेटिएका सबै संक्रमित भारतबाट तीन साताअघि नेपाल फर्केका हुन्।

कपिलवस्तुमा एक हजार संक्रमित पुग्नसक्ने अनुमान


एक महिनामै पाँच सयभन्दा बढी संक्रमित भेटिएको कपिलस्तुमा एक हजारको हाराहारीमा संक्रमित भेटिने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नेको संख्या, आरिटीडी र पिसिआर परीक्षणका नतिजा अनुसार जिल्लामा एक हजार संक्रमित भेटिने आँकडा पेश गरेको हो।

त्यही आधारमा जिल्लामा एक हजार बेडको आइसोलेशन तयार गर्ने गरी प्रक्रिया अघि बढाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘अहिलको अवस्था हेर्दा जिल्लामा एक हजार संक्रमित भेटिने अनुमान गरेका छाैँ’, उनले भने, ‘त्यसअनुसारको तयारी अघि बढाइएको छ।’

कपिलवस्तुमा ५ हजार ९ सय ९४ को स्वाब संकलन गरिएकोमा ४ हजारभन्दा बढीको रिपोर्ट आइसकेको छ। यस्तै ११ हजार ६७ जनाको आरटिडी गर्दा १ हजार २ सय ८९ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमण समुदायमा नगएको स्वास्थ्य कार्यालयको दाबी


कपिलवस्तुमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेपनि अझै समुदायमा संक्रमण नफैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। भेटिएका संक्रमितमध्ये १८ जना मात्र क्वारेन्टाइन बाहिरका हुन्।

त्यसमध्ये ४ जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी, २ जना स्वास्थ्यकर्मी, २ जना कर्मचारी, एक जना वडाध्यक्ष हुन्। यिनीहरु अग्रपंक्तिमा जोखिम मोलेर काम गरेका थिए। यी व्यक्तिबाट अरुमा संक्रमण फैलिएको देखिएको छैन।

वाणगंगा नगरपालिका–४ ठाकुरापुरकी ६ र ८ वर्षीया बालिका र त्यही पालिकाका एक संक्रमित सञ्चारकर्मीका २ जना परिवार गरी चार जनामा कोरोना देखिएको थियो।

स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतका अनुसार भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरुमा नै कोरोना भाइरस संक्रमण बढी देखिएको छ। उनका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या घट्दो छ। केहीदिन अघिसम्म १२ हजार जनासम्म पुगेकोमा अहिले २ हजार ५ सयको हाराहारीमा मात्र क्वारेन्टाइनमा रहेको भगतले बताए।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter