शुक्रबार, १६ चैत २०८०

वागमतीले प्रदेश चक्रपथ निर्माण गर्ने

२३ जेष्ठ २०७७, शुक्रबार १८:५१ मा प्रकाशित

वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ।

प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको चक्रपथ निर्माण योजनालाई आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए।

‘प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रलाई कुनै न कुनै हिसाबले समेट्ने गरी विशाल चक्रपथ निर्माणको काम आगामी आर्थिक वर्षदेखि गतिवान ढङ्गले शुरु गर्छौँ’, उनले भने

उनले चक्रपथको सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन निर्माणलगायत कामको तयारी थालिएको बताए।

आगामी बजेटमा उक्त मार्गले उपयुक्त स्थान पाउने उनको भनाइ छ।

मन्त्री फुँयालले यसबाहेक मन्त्रालयले यसै वर्षको असार मसान्तभित्र वागमती प्रदेश यातायात गुरुयोजना तयार गर्ने काम सम्पन्न गर्ने, प्रदेश लोकमार्ग, प्रदेश मार्ग तथा शहरी सडकको समेत निर्माण प्रारम्भ हुने जानकारी दिए।

फुँयालले हेटौँडादेखि काठमाडौँसम्म जोड्ने मदन भण्डारीमार्गअन्तर्गत भैँसे–भीमफेदी र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक दुई लेनमा स्तरोन्नति गर्ने कार्य भइरहेको र चाँडै नै कालोपत्रको काम पनि सुरू हुने बताए।

पुष्पलाल प्रदेश चक्रपथ रामेछापबाट–दोलखा–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली हुँदै पुनः रामेछाप जोडिने बताइएको छ।

चक्रपथका लागि सिन्धुपाल्चोक रसुवा खण्डको निर्माणकार्य तत्काल अघि बढाइने जनाइएको छ।

प्रदेश सरकारले मुख्यमन्त्री सडक कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकामसँग स्थानीय तहहरूको केन्द्र जोड्ने सडक सङ्घीय सरकारसँग सहकार्यमा वर्षैभरि सञ्चालन हुने सडकका रूपमा आगामी पाँच वर्षमा सम्पन्न हुने गरी स्तरोन्नति गर्ने, प्रदेशभित्र आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिने र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका काँठ क्षेत्रमा हाल सञ्चालनमा रहेका सडकलाई स्तरोन्नति गरी काँठ चक्रपथका रूपमा विकास गरिने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter