शुक्रबार, ०७ बैशाख २०८१

रुकुम घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

१४ जेष्ठ २०७७, बुधबार १६:४१ मा प्रकाशित

काठमाडौं–  पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि तीन जनाको मृत्यु र तीन जना बेपत्ता प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले पक्राउ परेका १२ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए।

उनका अनुसार पीडितमध्येका एक परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु भएको छ।

प्रहरीले वडाअध्यक्ष र युवतीका बुबाआमासहित गाउँलेलाई पक्राउ गरेको छ।

किटानी जाहेरी परेका अन्य ८ जनाको पनि खोजी भइरहेको डीआईजी शाहीले जानकारी दिए। यसैबीच घटनाको  अनुसन्धान गर्न प्रदेश प्रहरीबाट एसएसपीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।

प्रदेश-६ का प्रहरी प्रमुख बसन्तराज पन्तले एसएसपी पोषराज पोखरेलको नेतृत्वमा प्रहरी निरिक्षकसमेत सम्मिलित टोली मंगलबार घटनास्थल पुगेको हो। घटनाले लिएर संघीय संसद चर्किरहेका बेला अनुसन्धानलाई गहन बनाउन एसएसपीको टोली पठाइएको डीआईजी पन्तले जानकारी दिए।

 

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए। उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ।

नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको सेति नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो।  घटनापछि समूहका १२ जनालाई भने सोतीका गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए। बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात छ। उनिहरुले भेरी नदीमै हाम फालेको समूहका अरु सदस्यले बताएका छन्। सोती गाउँको किनारबाट बग्छ भेरी नदि। गाउँले वरिपरीबाट घेरा हालेर भेरी नदितीर मात्र भाग्ने परिस्थिती बनाएको समूहका बाँच्न सफल सदस्यहरुको भनाई छ।

जाजरकोट र पश्चिम रुकुममा डीएसपीले जिल्लाको नेतृत्व गर्छन्।  मृतक युवाहरुको शव पनि परिवारले बुझ्न मानेका छैनन्।

पश्चिम रुकुममा एउटा मात्र प्रतिनिधि सभा सिट छ। नेकपाका जनार्दन शर्मा प्रभाकर यो जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुन्। चौरजहारी नगरपालिकाका मेयर पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधी हुन्। बुधबारको संसद बैठकमा जनादर्न शर्माले घटनाको निष्पक्ष छानबिन हुने भन्दै राजनीतिक रङ नदिन आग्रह गरेका छन्।

घटना सम्बन्धी छानबिन गर्न सत्तारुण नेकपाको जिल्ला समितीले तीन सदस्यीय समिती  गठन गरेको छ।

चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो। तीन दिनभित्र प्रतिबेदन बुझाउनुपर्ने जिम्मेवारी समितिलाई छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter