मङ्गलबार, ०६ चैत २०८०

भ्रष्टाचार आरोपमा सेनाका कर्नेल बर्खास्त, झन्डै २ करोड जरिवाना

९ जेष्ठ २०७७, शुक्रबार २२:४४ मा प्रकाशित

नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्। सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्।

कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाले जनाएको छ।

सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिनेछ।

त्यस्तै भ्रष्टाचार आरोप लागेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) देवबहादुर क्षेत्रीको २ वर्ष बढुवा रोक्का हुने भएको छ। सैनिक अदालतले क्षेत्रीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गराउने फैसला गरेको छ।

त्यस्तै हुद्धा योग्यराज पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको छ भने सैनिक अदालतले उनीबाट ३ लाख ६० हजार रूपैयाँ असुल उपर गर्ने फैसला गरेको छ।

अर्का हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष ग्रेड रोक्का गर्ने र उनीबाट दस हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter