बिहिबार, १३ बैशाख २०८१

कोरोना महामारी रोक्न चीनले गरेका कामको बृहत् समीक्षा गर्न राष्ट्रपति सी तयार

५ जेष्ठ २०७७, सोमबार २२:२० मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन्।

सोमबार भएको विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनमा भिडिओमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएपछि त्यस्तो समीक्षा गर्नुपर्ने बताए।

‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण र निष्पक्षताका साथ गर्नुपर्छ,’ सीले भने,‘हामीले सार्वजनिक स्वास्थ्यमा विश्व प्रणालीलाई मजबुद् बनाउनुपर्छ। प्रणालीमा कुनै कमजोरी देखिए त्यसलाई सुधार्दै जानुपर्छ।’यसअघि अमेरिका, अष्ट्रेलिया र विभिन्न पश्चिमी युरोपेली मुलुकले कोरोनाभाइरसको उद्गम थलो चीनले महामारी रोक्न अपनाएको कदमबारे छानबिन हुनुपर्ने बताएका थिए।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले त वुहानको एक प्रयोगशालाबाट कोरोनाभाइरस लिक भएको पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए। चीनले सुरूमै पारदर्शी ढंगले सूचना आदान-प्रदान नगरेकाले कोरोनाले महामारीको रूप लिएको उनीहरूको आरोप छ।

राष्ट्रपति सीले कोरोनाभाइरसको नियन्त्रणका लागि चीनले खुला, पारदर्शी र जिम्मेवारपूर्ण तरिकाले  काम गरेको दाबी गरे।

‘हामीले डब्लुएचओ र सम्बन्धित देशहरूलाई समयमै जानकारी उपलब्ध गराएका थियौं,’ सीले भने।

उनले कोरोना महामारीको नियन्त्रणका लागि विशेष गरी विकासशील मुलुकहरूलाई  चीनले आगामी दुई वर्षमा २ अर्ब  अमेरिकी डलर सहायता दिने  प्रतिवद्धता व्यक्त गरे।

कोरोनाभाइरसविरूद्ध सबैको हित हुने गरी चीनले भ्याक्सिन बनाउने सीको भनाइ छ।

‘कोभिड-१९ विरूद्धको खोप चीनमा बने त्यसको उत्पादन र वितरण सार्वजनिक सामान सरह हुनेछ,’ उनले भने,‘यो  विकासशील देशहरूमा खोपको उपलब्धता र पहुँच सुनिश्चित गर्न चीनको योगदान हुनेछ।’

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको कदम प्रभावकारी नभएको भन्दै अमेरिकाले दिँदै आएको रकममा कटौती गरेका छन्।

आजको सम्बोधनका क्रममा राष्ट्रपति सीले भने डब्लुएचओको वर्तमान नेतृत्वले कोरोना महामारीविरूद्ध चालेका कदमको प्रशंसा गरे।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter