बुधबार, १२ बैशाख २०८१

तानातानमा नेकपाका सांसद, संसदीय दलमा सुविधाजनक बहुमत पुर्‍याएको दुवै पक्षको दाबी !

अस्थिरता फैलाउन खोजिएको ओली समूहको आरोप, ओलीको मैमत्तापनले यो अवस्था आएको नेपाल समूहको जिकिर

१७ बैशाख २०७७, बुधबार २२:२२ मा प्रकाशित

काठमाडाै बैशाख १७, २०७७

लोकान्तर संवाददाता

नेकपाभित्रको सैद्धान्तिक विवाद अब अंकगणितीय चरणमा प्रवेश गरेको छ । सरकारका कामका कारण पार्टीको बदनाम भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पद छाड्नु पर्ने अडानसहित दबाब सिर्जना गरेपछि नेकपाभित्र सांसद तानातान शुरू भएको छ ।

प्रधानमन्त्री फेरबदलका लागि पहिला संसदीय दलको नेताचयन गर्न जरुरी छ । अहिले ओली नै नेकपा संसदीय दलको नेता छन् । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि तत्कालीन एमालेले ओलीलाई संसदीय दलको नेता चयन गरेको थियो ।



अहिले कृषिमन्त्री रहेका घनश्याम भुसालले आफू पनि संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहेपनि निर्वाचन नगरिएको भन्दै अभिव्यक्ति दिएका थिए । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि नेकपा संसदीय दलको नेता ओली नै छन् ।

तत्कालीन माओवादीको संसदीय दलका नेता रहेका प्रचण्डले उपनेता हुन अस्वीकार गरेपछि नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ छन् । भैँसेपाटी गठबन्धनका नेताहरू ओली असफल भएकाले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने अडानमा कायम छन


आइतवार र सोमवार ओली र नेपालपक्षबीच भएको अनौपचारिक छलफलमा ओली समूहले कुनै एक पद लिन नेपाल समूहसँग आग्रह गरेको थियो । नेता नेपालले भने सो प्रस्ताव अस्वीकार गर्दै विनाशर्त स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

‘अहिले कुलै लोभमा परेर टालटुले सहमति गर्नुभयो भने हामी तपाईंको साथ छाड्छौं,’ भन्ने दोस्रो र तेस्रो तहका नेताहरूको दबाबका कारण नेता नेपाल टसकोमस भएका छैनन् । ओली समूहका केही नेताले अहिलेको अवस्थामा नेता नेपालले नै मध्यमार्गी भूमिका खेलेर निकाश दिनुपर्ने बताउँदै आएका छन् ।

 

कोरोनाविरुद्ध लड्नुपर्नेमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्को काम कर्तव्यसम्बन्धी अध्यादेश ल्याएर सरकार अराजनीतिक र स्वेच्छाचारी बनेको निष्कर्षसहित नेकपाभित्र विवाद सल्किएको थियो । पार्टीभित्रको दबाबका कारण सरकारले अध्यादेश फिर्ता लिए पनि त्यसको पराकम्प बाँकी नै छ ।

सहमतिका लागि भएका प्रयास निष्कर्षमा पुग्न नसकेपछि नेकपाभित्र संसदीय अंकगणित शुरू भएको छ ।

संसदीय दलको बहुमतले नेता परिवर्तन गर्न सक्छ । पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् ।

कस्तो छ समीकरण ?

नेकपा संसदीय दलमा तीनवटा समीकरण छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली समूह, प्रचण्ड समूह र माधव नेपाल समूह । प्रचण्डको नेतृत्वमा रहेको पूर्वमाओवादीको संसदीय दलको कार्यालय अलग्गै छ ।

पार्टी एकताको दुई वर्षसम्म पनि संसदीय दलको कार्यालय फरक–फरक स्थानमा छ । नेकपा संसदीय दलको कार्यालय पूर्व एमालेको संसदीय दलको कार्यालयमा छ ।

राष्ट्रिय सभाको कार्यालय रहेको संघीय संसदको २ नम्बर भवनमा माओवादीको संसदीय दलको कार्यालय छ । पार्टी एक भएपनि सांसदहरू अलग–अलग बस्छन् ।

सामान्य अवस्थामा ओली समूहमा ७८ जना, प्रचण्ड समूहमा ५३ र माधवकुमार नेपाल समूहमा ४३ जना सांसद रहेका छन् । ‘यो दाबी मात्र हो, केही हेरफेर हुन सक्छ,’ नेकपाका एक प्रभावशाली सांसदले लोकान्तरसँग भने ।

पूर्वमाओवादी खेमाका केही सांसद ओली क्याम्पमा गएको चर्चा चलिरहेको छ । ‘जो नेता ओली समूहमा गएको भनेर प्रचार गरिएको छ त्यो असम्भव जस्तै हो,’ पूर्व माओवादी समूहका एक सांसदले भने, ‘जनयुद्धकालमा जसले प्रचण्डलाई मोटरसाइकलमा ओसार्‍यो र प्रचण्डको विश्वासपात्र हो, उसले माओवादी क्याम्प छाड्ने कुरा हुँदैन ।’

उता प्रचण्ड नेपाल समूहले आफूहरूसँग ९६ सांसद ‘होल्ड’मै रहेको दाबी गरेको छ । सरकारमा रहेका केही नेताहरू खुलेर ओलीको विरुद्धमा लाग्न नसकेको ती सांसदले दाबी गरे ।

‘जता पाक्छ काफल गेडी उतै नाच्छ चरी’

ओली, प्रचण्ड र नेपाल समूहले आफ्ना सांसद होल्ड रहेको दाबी गरिरहँदा केही सांसदले गुट बदल्ने सम्भावना रहेको नेताहरू स्वीकार्छन् । कथं कदाचित संसदीय दलमा मतदानको अवस्था आएर गोप्य मतदान हुने अवस्थामा सांसदहरू ‘स्विङ’ हुने सम्भावना रहन्छ ।

‘दुवैतर्फका केही सांसद पर्ख र हेरको अवस्थामा छन्, जता पल्ला भारी भयो उतै हाम्फाल्ने तयारीमा छन्,’ पूर्व एमालेका एक सांसदले भने ।

बुधवार अपराह्न बस्ने नेकपा सचिवालय बैठकमा कुनै सहमति जुटेन नसकेमा सांसद तानातानको अवस्था झनै बढ्ने सम्भवना छ ।

ओलीपक्षीय नेकपाका प्रभावशाली सांसद खगराज अधिकारी अहिले सरकार र पार्टीको नेतृत्व बदल्ने कुरा सम्भव नभएको बताउँछन् ।

‘उहाँ पार्टीको महाधिवेशनबाट अध्यक्ष चुनिनुभएको हो, अनि आमजनताको बीचमा ओलीलाई प्रधानमन्त्री बनाउँछौ भनेर पार्टीले चुनाव जितेको हो, अहिले के कारणले उहाँले त्यो पद छाड्ने ?’ अधिकारीले लोकान्तरसँग भने ।

सरकारले विकास निर्माणको रफ्तार बढाएको तथा संघीयता कार्यान्वय गर्दै स्थिरताउन्मुख भएको समयमा देशी–विदेशी तत्वले अस्थिरताको रोग छर्न खोजेको आरोप उनले लगाए ।

 

ओलीपक्षीय दोस्रो पुस्ताका नेताहरू सरकारविरुद्धको षडयन्त्र लामो सयदेखि रहेपनि अध्यादेश प्रकरणमा विस्फोट भएको दाबी गर्छन् ।

२०१७ सालमाजस्तो बहुमतलाई अपदस्त पार्ने खेल पार्टीभित्रको अन्तरविरोध मात्र नभएको उनीहरूको दाबी छ ।

‘अध्यादेश काण्डमा ओलीबाहेकका सम्पूर्ण शक्तिहरूको काकताली कसरी सम्भव भयो ? कम्युनिस्ट पार्टीको सत्ता बलियो हुने अवस्थामा ४० प्रतिशतले दक्षिणपन्थी इशारामा नाच्ने पार्टी विभाजन हुँदा हाम्रै नेताहरूलाई किन टाउको दुख्यो ?’ नेकपा बाग्मती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलको प्रश्न छ ।

ओली समूहका अन्य सांसदहरू पनि सरकार फेरबदलको कुरा लामो समयदेखिको गृहकार्यमा भएको जिकिर गर्छन् ।

‘ओलीले सांसदहरूको हस्ताक्षर संकलन गरेका छैनन्, नियत पनि थिएन । अर्को पक्षबाट हस्ताक्षर गरेर प्रचारको कुरा आएको छ । यस्तो अवस्थामा देशभक्त र कम्युनिस्ट पार्टीको एकता चाहने शक्तिहरू हामीसँगै गोलबद्ध हुन्छन्,’ ओली समूहका अर्का एक केन्द्रीय सदस्यले दाबी गरे ।

प्रचण्ड–नेपाल समूहले पनि हत्तपत्त पछि हट्ने संकेत देखाएको छैन ।

उनीहरूले प्रधानमन्त्रीलाई सधैँभरीका लागि अध्यक्ष होऊ भनेर ‘राजीनामा’ पास गरेर नदिएका कारण ओलीले असफलता स्वीकारेर मार्ग प्रसस्त गर्दिनुको विकल्प नभएको बताउने गरेका छन् ।

‘ओलीका कारण हामी नम्बरी सुनजस्तै खारिएका छौं, हामी टालटुले सुधारको पक्षमा छैनौं,’ नेपाल पक्षका एक सांसदले भने ।

ओलीको मैमत्तपन थामिनसक्नु भएका कारण अन्य नेताहरू एक ठाउँमा उभिने परिस्थिति बनेको उनको दाबी छ ।

‘केपीको अनुहार हेरेर जनताले मत दिएका होइनन्, नेकपालाई दिएको हो, नेकपालाई पनि यो भन्दा गतिलो पार्टी नभएर दिएका हुन्,’ नेपाल पक्षीय एक सांसद भन्छन्, ‘ओली त्यस्तो सर्वमान्य नेता भएको भए २०६४ सालको चुनावमा किन झापामा मतदाताले पछाडिपट्टि भोट हालेका थिए ?’

नेपालमा अस्थिरता फैलाउन ओली सरकारविरुद्ध खेल भएको भन्ने सो समूहको आरोप प्रचण्ड–नेपाल समूहका नेताहरू स्वीकार्दैनन् । ‘विगतको पृष्ठभूमि हेरौं न, को कसको गोटी भएको थियो, आफ्नो कमजोरी लुकाउन विदेशी शक्तिलाई दोष दिएर हुन्छ ?’ नेपाल पक्षीय ती सांसद भन्छन् ।

सतहमा प्रचण्ड–ओलीको विवाद देखिएपनि सारमा पूर्वएमाले भित्रको २ गुटको विवादले अहिले नेकपालाई संकटको भूमरीमा पारेको छ । माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं पूर्व सांसद नेतृत्वकै कारण पार्टीमा समस्या र जनतामा अभूतपूर्व निराशा उत्पन्न भएको दाबी गर्छन् ।

‘कम्युनिस्ट पार्टी नीति प्रधान हो, बुर्जुवा जस्तो हुँदैन, सामूहिक नेतृत्व र व्यक्तिग जिम्मेवारी हुन्छ । संविधान, विधान, नियमावली, विधि, पद्धति, प्रणाली, जेष्ठता, निरन्तता क्रियाशीलता, इमान्दारिता त्यो अनुशासन र समावेशिताको आधारमा नेतृत्व चयन गरेको हो । जनताले कसैको मुख हेरेर दिएको जनमत होइन, नीति कार्यक्रम र कार्यनीति गरेर दिएको हो,’ जंगलीले लोकान्तरसँग भने, ‘ओलीले पार्टी पद्दति मिचेर एक्लै हिँड्न खोज्दा अहिलेको यो स्थिति सिर्जना आयो ।’

saabhar : lokantar

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter