बुधबार, १२ बैशाख २०८१

के मानिसहरुबाट विवेक र मानवता हराएकै हो त ? मौलाना खुर्शीद आलम

मिडियाले यस्तो तब्लीगी जमातको विरुद्धमा दोषारोपण गर्दै समस्त मुसलमानहरुलाई बदनाम गर्ने कार्यमा रत्तिभर कसर बाँकी राखेनन्

२५ चैत्र २०७६, मंगलवार ०६:०३ मा प्रकाशित

विश्वभरि कोरोना भाइरसको विपत्ति छताछुल्ल भइसकेको छ । बाह्रलाख भन्दा बढी मानिस यसको चपेटामा पर्नु, सत्तरी हजारभन्दा बढी मानिसको मृत्यू हुनु र विश्वका लगभग सबै देशहरु यस संक्रमणबाट संक्रमित हुनुले विश्वलाई भयभित र आतङ्कीत तुल्याएको प्रष्ट हुन्छ । यो विषम् परिस्थितिमा विश्व मानव जीवन रक्षाकोलागि एकजुट भएको छ । संपूर्ण मानव यस परिस्थितिबाट आफ्नो क्षमता अनुसार आफु बच्न र अरुलाई बचाउन प्रयत्नशील छ ।

विश्वभरिका मानिसको सोच धर्म, समूदाय, क्षेत्र आदिको भेदभाव विना केवल मानवको रक्षाको लागिपरेको छ जुन नितान्त सहनीय भावना हो । मानिसले आफनो रक्षा र मानवतालाई बचाउनु नै मानवताको पहिचान हो । सरकार, स्वास्थ्यकर्मी, मिडियाकर्मीहरु र जीवन रक्षासँग सम्बन्धित सम्पूर्ण मानव साधनहरु यस कार्यमा पूर्ण एकाग्रताका साथ लागेका छन् । यस्तो विषम् परिस्थितिमा पनि दूर्भाग्यबस अधिकतम भारतीय संचार माध्यमहरुले मुसलमानको विरुद्धमा विष ओकेल्न कुनै कसर बाँकी राखेका छैनन् ।

निजामुद्धिन दिल्लीको मस्जिद र तब्लिगी जमातको मर्कजमा तब्लीगी जमातका मानिसहरु भेला हुनु र अचानक भएको लक डाउनको घोषणा र लक डाउनका कारण उनीहरु आ–आफ्नो घरसम्म पुग्न नसकेर उक्त मर्कजमा नै फसेको कुरा स्पष्ट छ । यद्यपी मर्कजका जिम्मेवार व्यक्तिहरुले उक्त स्थानमा फसेका मानिसहरुलाई आ–आफ्नो क्षेत्रसम्म पु¥याउन सम्बन्धित निकायहरुमा मद्दतका लागि गुहार गरेको र त्यहाँको स्थानीय निकायहरुले कुनै प्रकारको उद्दार र सहयोग गर्न नसक्ने जनाउदै फसेका मानिसहरुलाई सोही मर्कजमा बसी प्रतिक्षा गर्न भनेका थिए । त्यसपछि सरकारले गरेको लक डाउनको निर्देशनलाई पालना गर्दै सोही स्थानमा बस्नु उनीहरुको लागि ठूलो अभिषाप बन्न पुग्यो । यस्तो बाध्यता र कठिन परिस्थितिमा रहेका मुस्लिमलाई भारतीय मिडियाले मानवताको दुष्मन एवं कोरोना भाइरसको संज्ञा दिएर दुष्प्रचारमा लागिपरेका छन् ।

यसरी दक्षिण एसियाली क्षेत्रका मुसलमानहरुलाई बदनाम गरिदै छ जुन ती संचार माध्यमहरुको अति लज्जास्पद व्यवहार हो । यस कार्यलाई एक प्रकारले मानवताको विपरीत षडयन्त्रकारी र आपराधिक युद्दको संज्ञा दिन सकिन्छ ।
कोरोना भाइरसको संक्रमण फैलिनुमा विभिन्न कारण र माध्यमहरु रहेको कुरा सर्बबिदितै छ । संक्रमण फैलिन नदिन सरकारले गरेको आदेशको विपरीत सरकारी संघसँस्थाहरु सञ्चालन हुनु, मठमन्दिरहरुमा भक्तजनहरुको भिडभाड कायम रहनु, लाखौको सँख्यामा मजदुरहरु सडकहरुमा अलपत्र परी बस्नु, संक्रमण फैलिएका देशहरुबाट आएका मानिसहरुलाई स्वास्थ्य परिक्षण बिना भित्र्याउनु, लगायतका यथार्थहरुमा पर्दा हाल्दै भारतीय संचार माध्यमहरुले घटनालाई अन्यत्र मोडि मुसलमानहरुलाई निसाना बनाएका छन् । यो कार्य ती सञ्चार माध्यमहरुको फोहोरी र घृणित मानसिकताको उपज हो । ती मिडियाहरुको यस्तो घृणित र अक्षम्य दुष्प्रचारलाई इतिहासले कहिले बिर्सने छैन । विश्वभरिका मानिसलाई बचाउन सम्पूर्ण राष्ट्रहरु लागिपरेको वर्तमान अवस्थामा मिडिया जस्तो संवेदनशील संस्थाले नै आफूलाई मानवताको दुष्मनको प्रमाण प्रस्तुत गर्दैछन् । तब्लीगी जमात यस्तो धार्मिक संस्था हो जुन अत्यन्त सामान्य र सरलताका साथ संसारभरीका मस्जिदहरुमा गएर मुस्लिमहरुलाई इस्लामका केही आधारभूत क्रियाकलापहरुमा अडिग रहन सचेत गर्दछ । तर मिडियाले यस्तो तब्लीगी जमातको विरुद्धमा दोषारोपण गर्दै समस्त मुसलमानहरुलाई बदनाम गर्ने कार्यमा रत्तिभर कसर बाँकी राखेनन् । यसैबाट प्रभावित भएर केही नेपाली पत्रकारहरुले समेत अज्ञानताको आभास गराइरहेका छन् र नेपाल र नेपाली समाजको विकासमा सदैव लागेका नेपालका मुस्लिम बुद्धिजीवि वर्ग र समस्त मुस्लिम समुदायको बदनाम गर्ने कार्यमा प्रयासरत छन् । नेपालको सन्दर्भमा सञ्चार माध्यमहरु आफ्नो जिम्मेदारीलाई महसुस गर्दै मानवको रक्षा र धार्मिक सहिष्णुताको सुन्दर र सहनीय उदाहरण प्रस्तुत गर्दै आइरहेका छन् । तर आज नेपालका केही संचार माध्यमहरुले धार्मिक सहिष्णुता, मानवता र शान्तिप्रेमी छबिमा कालो धब्बा लगाएका छन् जसलाई मेटाउनु देशप्रेमी र समझदार संचार माध्यमको नै कर्तव्य हो । यस तर्फ नेपालका सम्पुर्ण बुद्धिजीवि वर्ग र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
यस्तो विषय परिस्थितिमा हाम्रो देशका केही संचार माध्यम तथा संचारकर्मीहरुले सहनीय रुपमा परिस्थितिलाई सकारात्मक रुपले प्रस्तुत गरेका छन् । यसप्रति हामी आभारी छौ र विश्वस्त भएका छौँ कि हाम्रो देशमा सहिष्णुता, मानवता र मानवसँगको प्रेम जीवित छ । हामी हाम्रा बुद्धिजीवि वर्ग र सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ कि महिनौ पहिला इन्डोनेसियाबाट आएका विभिन्न कठिन परिस्थितिको सामना गरिरहेका तब्लीगी जमातका मानिसहरु र अन्य देशका मानिसहरुलाई पाहुना सरह सम्मान गरियोस र उनीहरुलाई मानवीय व्यवहार गरियोस र संबन्धित निकायले आवश्यक परेमा कोरेन्टाइन र खानपान र अन्य आवश्यक व्यवस्था गरोस् ताकी अनुकरणीय नेपालीपनको पहिचान विश्वमा फैलियोस । नेपाली समाजमा प्रचलित भनाई अतिथि देवः भवको सार्थकता जीवित रहोस । अतिथि सत्कार र मानवको सेवा गर्नु हाम्रो नैतिकता र दायित्व हो । यसरी विदेशबाट आएर अफ्ठयारोमा परेका नागरिकको सेवा र उद्दार गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध पनि सुदृढ हुने निश्चित छ । यस प्रकारका विदेशी पाहुनाहरु देशका जुन स्थान वा क्षेत्रमा फसेका छन् उनीहरुलाई आवस्यक परेमा कोरेन्टाइन व्यवास्था तथा अत्यावस्यक सामाग्री उपलब्ध गराइ उच्च मानव व्यवहार प्रस्तुत गरौँ ।

म विशेष गरी मुसलमानहरु तथा सम्बन्धित क्षेत्रका मानिसहरुसँग अनुरोध गर्दछु कि यस्तो कठिन परिस्थितिमा जब मानिस उछृङ्खल तथा अमानवीय व्यवहारमा उत्रिएर गैरजिम्मेवारी पूर्ण व्यवहार गर्छन् यस्तो अवस्थामा हामी सजगता र धैर्यताको पालना गरौँ । कुनै पनि गैरजिम्मेवारीपूर्ण कार्य नगरौँ । यस विश्वव्यापी विषम् परिस्थितिमा हामी एकआपसमा हातेमाले गर्दै एक अर्काको सहयोगका साथ यस संक्रमणबाट मुक्तिका लागि कोसिस गरौँ । हाम्रा कुनै पनि गैरजिम्मेवारीपूर्ण व्यवहारले आफुलाई, देशलाई, देशबासीलाई र संसारभरीका मानिसलाई लज्जित नपारौँ ।
अन्तमा, अल्लाह तआलाले हामी सबैको रक्षा गरुन र संसारभरि फैलिएको यस भयानक विपत्तिबाट मुक्ति दिउन । संसारलाई शान्ति र अमन प्रदान गरुन । आमिन ।

– लेखक मौलाना खुर्शीद आलम इस्लामी संघ नेपाल
का अध्यक्ष समेत हुन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter