मङ्गलबार, ०६ चैत २०८०

चीनबाट उद्धार गरिने नेपालीलाई क्वारेन्टाइनमा राख्न १ सय ९९ बेड तयार

२८ माघ २०७६, मंगलवार २१:०१ मा प्रकाशित

२८ माघ, काठमाडौं । चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ ।

कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताए ।

चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने मन्त्री ढकालले जानकारी दिए । सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने मन्त्री ढकालले बताए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चीनबाट नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने निर्णय गरेको छ ।

उद्धारका लागि करिब १२ करोड रुपैयाँ अनुमानसहित बजेट पनि स्वीकृत गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter