शुक्रबार, १६ चैत २०८०

२० लाख पर्यटक भित्र्याउने आधार बनिसक्यो : पर्यटनमन्त्री

१३ पुष २०७६, आईतवार १४:१५ मा प्रकाशित

१३ पुस, पोखरा । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ ।

भ्रमण वर्षको मुखमै पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका स‌ंस्‍कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले लक्ष्य पूरा गर्ने गरी तयारी भइरहेको बताए । अन्तर्राष्ट्रिय विमानस्थलस्थलको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय उडानको विस्तार, अन्तर्राष्ट्रिय प्रचारप्रसार र पर्यटकीय संरचना तयार भएका कारण पनि सरकारले २० लाख पर्यटक भित्र्याउने उनको दाबी थियो ।

नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहमा एक दर्जन हाराहारी मुलुकका पर्यटनमन्त्री सहभागी हुने मन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार भारत, चीन कम्बोडियासहित एक दर्जन मुलुकका पर्यटनमन्त्री आउने निश्चित भएको छ ।

चीन, भारत, म्यानमार, युएई, कम्बोडिया, जापान, बंगलादेश, कतारलगायतका देशबाट पर्यटनमन्त्री भ्रमण वर्षको सुभारम्भ कार्यक्रममा आउने भट्टराईले बताए । भ्रमण वर्षका निम्ति नेपाल सरकारले ९ करोड रुपैयाँ छुट्याएको तर भ्रमण वर्षको सचिवालयले ६५ करोड रुपैयाँको बजेट अनुमान गरेको छ । अपुग बजेट नेपाल सरकारले दिने उनले बताएका थिए ।

पर्यटनमन्त्रीले सुनाएका योजना उनकै शब्दमा :

सन् २०२० लाई हामी पर्यटन भ्रमण वर्षको रुपमा मनाउँदैछौं । विदेशबाट आउने पर्यटकको संख्या २० लाख रुपैयाँ पुर्‍याउने हाम्रो घोषित लक्ष्य छ । यो, मूलभूत हिसाबमा हवाइ मार्गबाट आउने पर्यटकको संख्या हो ।

पर्यटक आउनलाई पूर्वाधारको पर्याप्तता चाहिन्छ । यसका निम्ति एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको क्षमता बढाएका छौं । सन् २०१८ भन्दा सन् २०१९ मा पर्यटकको संख्या केही प्रतिशत घटेको छ । त्यतिबेला मुख्य केही कारण थिए । काठमाडौं–दिल्ली, दिल्ली काठमाडौं उडान भर्दै आएको जेट एयर आफैं विघटनको  स्थितिमा गयो र त्यसले उडान बन्द गर्‍यो ।

अर्को मलेसियाको क्वालालम्पुर–काठमाडौं, काठमाडौं–क्वावालालम्पुर हवाई सेवा दिइरहेको एयर एसियाले पनि उडान बन्द गर्‍यो । सुरुमा ३ महिना र पछि १ महिना त्रिभुवन विमानस्थलमा रन वेलगायतको काम गर्न बेलुका ७/८ बजेबाट बन्द गर्नुपर्‍यो । यी कारणले विगतमा २५ प्रतिशतमा वृद्धि भएको पर्यटकको संख्या २०१९ मा १० देखि १५ प्रतिशतको हाराहारीमा सीमित छ ।

२०२० मा प्रवेश गर्दा यी सबै स्थितिबाट माथि उठेका छौं । त्रिभुवन विमानस्थलको मैदान पनि खुला भइसकेको छ । क्षमता बढिसकेको छ । थप अन्तर्राष्ट्रिय विमान उड्नका लागि पनि अब समस्या छैन । अहिले काठमाडौं विमानस्थल २१ घण्टा सञ्चालन भएको छ र अब २४ सै घण्टा नै चलाउन सक्ने अवस्थामा आइपुगेका छौं ।

दिल्ली–काठमाडौं, काठमाडौं दिल्ली उडान पनि केही नयाँ एयरलाइन्सहरुले थपेका छन् । एयर एसियालाई पनि फेरि उडान अगाडि बढाऊ भनेका छौं । अरु केही नयाँ एयरलाइन्स पनि यो बीचमा थपिएका छन् । चीनका विभिन्न सहरमा उडान थपिएका छन् । नेपालको हिमालयन एयरलाइन्सले चीनको बेइजिङलगायतका विभिन्न सहरमा उडान सुरु गरेको छ । नेपाल वायु सेवा निगमले यसअघिदेखि नै उडान गरिरहेको छ । अब छिट्टै नै अन्य सहरमा पनि उडान थप्ने क्रममा छौं ।

२०२० को मध्यमा पुग्दानपुग्दै गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौं । काठमाडौंमा अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ७२ लाख मान्छेहरुलाई सुविधा दिइराखेको छ । यो संख्या हरेक वर्ष १३ प्रतिशतले वृद्धि भइरहेको छ । गौतम वुद्ध विमानस्थल सुरु भएपछि थप पर्यटक नेपालमा आउने सहज वातावरण बन्छ । यी सबै कुराले पनि हामी २० लाख पर्यटक पुर्‍याउन सक्छौं । हाम्रो लक्ष्य पूरा गर्ने आधार यी हुन् ।

नेपालको अन्तर्राष्ट्रिय बजार, छवि आज धेरै माथि उठेको छ । यो पनि अर्को आधार हो । नेपाल दुनियाँको गन्तव्य लिस्टमा परिराखेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुले पनि नेपाल उत्कृष्ट गन्तव्य हो भनेर प्रचार गरिराखेका छन् । भारत र चीनले विशेष ढंगले पर्यटन वर्षलाई सहयोग गर्ने बाचा गरिराखेको छ ।

२०२० को जनवरी १ मा काठमाडौंसँगै सातै प्रदेशबाट भ्रमण वर्ष सुभारम्भ गर्दैछौं । सुभारम्भका क्रममा विभिन्न देशका पर्यटन मन्त्रीहरुलाई निमन्त्रणा गरेका छौं । चीन, भारत, म्यानमार, युएई, कम्बोडिया, जापान, बंगलादेश, कतारबाट आउँदै हुनुहुन्छ । यो उद्घाटन कार्यक्रमबाट मात्रै पनि नेपाल भ्रमण वर्षको प्रचार हुन्छ ।

जनवरी ७ मा विश्वभरिका सबै नेपाली कुटनीतिक नियोगहरुले भ्रमण वर्षको सुभारम्भ आआफ्नो देशमा गर्नुहुन्छ । गैरआवासीय नेपाली संघसँग हामीले सम्झौता नै गरेका छौं । विश्वका सबैजसो मुलुकमा कुनै न कुनै प्रवर्द्धनका कार्यक्रम गर्ने भनेका छौं ।

यही डिसेम्बर ३१ मा विश्वका सबैभन्दा अग्ला टावरहरुमा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको प्रवर्द्धन गर्ने भनेर गैरआवासीय नेपाली साथीहरु लागिरहनुभएको छ । साथै अन्तर्राष्ट्रिय मिडियाहरुमा भ्रमण वर्षको प्रचारका निम्ति सम्झौता पनि गरेका छौं ।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । स्वदेशी र विदेशीहरुका निम्ति उत्कृष्ट गन्तव्य हो । प्रदेश र स्थानीय सरकारले पनि उत्साह देखाइरहनु भएको छ । पोखराले अझ आफ्नो क्षमता बढाउनुपर्छ । २०२१ को सुरुमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछौं । अहिलेसम्म ५२ प्रतिशत काम सकिइसकेको छ । यो धेरै राम्रो प्रगति हो ।

६ महिना अगाडि नै विमानस्थलको काम सकिने छ । त्यसैले पोखराको अहिलेको संरचनाले मात्रै पुग्दैन । यहाँको रात्रीकालीन जीवनलाई अझ बढाउनुपर्छ । प्रदेश र स्थानीय सरकार अनि पर्यटन व्यवसायीसँग बसेर पोखरालाई कसरी अझै व्यवस्थित बनाउन सकिन्छ भनेर लाग्ने छौं ।

पोखरालाई विशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अझै के कस्ता प्याकेज अगाडि बढाउने हामीले योजना बनाइरहेका छौं । म निजी क्षेत्रलाई पनि भन्न चाहन्छु आउनुस् पीपीपी मोडलमा काम गरौं ।

थप पर्यटकीय गन्तव्य र ठूरा संरचना बनाऔं म आह्वान गर्न चाहन्छु । किनभने अन्तर्राष्ट्रिय विमानस्थल चल्दैछ । त्यो बेला योभन्दा थप केही पोखराले दिन सकेन भने एयरपोर्टको बिजनेसले मात्रै धान्दैन ।

Saabhar: Amrit subedi/ Onlinekhabar

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter