शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न – बाहिर राष्ट्रवादको डंका पिट्ने, भित्रभित्रै लत्रिने ?

९ मंसिर २०७६, सोमबार १०:१५ मा प्रकाशित

८ मंसिर, पोखरा

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् ।

बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएको बताए ।

‘अहिले कालापानी र लिपुलेकको विषय उठिरहेको भन्दै उनले भने, ‘यहाँका शासक बाहिर राष्ट्रियताको डंका पिट्ने र भित्रभित्र विदेशी शक्तिसँग झकेर आफ्नो भूमि सुम्पने काम गरेका छन्, चाहे राजा महेन्द्र हुन्, चाहे अहिलेका केपी ओलीसम्म हुन् । त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केही गरिरहनुभएको छैन ?’

‘हिजो कसैले थाहा नपाउने गरी डिप्लोम्याटिक नोट लेखेर पठाउनुभएको छ रे । त्योबाहेक अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन । तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो ।’

भदौ २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूले राजनीतिक रुपमा बार्ता गरेर समस्या हल गर्न सुझाएको उनले सुनाए । राष्ट्रवादी भन्नुहुन्छ, अब सीमाको रक्षा कसरी गर्नुहुन्छ भनेर आफू प्रधानमन्त्रीलाई सोध्नुका साथै विकल्प पनि दिएको उनले बताए ।

आफ्नो भूमि रक्षा गर्न सेनाको प्रयोग गरेर विदेशी शक्तिलाई आफ्नो सीमाबाट हटाउने वा संवादबाट हल गर्ने दुई उपाय रहेको र आफूले दोस्रो विकल्पमा जान सुझाइको भट्टराईले सुनाए । ‘कर्मचारी तहबाट यो समस्याको हल हुँदैन । सिधै प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुस् र राज्यस्तरको वार्ता अगाडि बढाउनुस् हाम्रो साथ रहन्छ सुरुमै मैले विषय राखेको थिएँ । आजसम्म किन केही गरिएको छैन,’ भट्टराईले भने ।

उनले अघि भने, ‘हिजो कसैले थाहा नपाउने गरी डिप्लोम्याटिक नोट लेखेर पठाउनुभएको छ रे । त्योबाहेक अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन । तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो ।’

भट्टराईले बाहिर राष्ट्रवादको डंका पिट्ने र भित्रभित्र सत्ताको डरले लत्रक्क परेर बस्ने नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।

जनताका अगाडि तिघ्रा ठटाएर म राष्ट्रवादी भन्ने र आन्तरिक रुपमा लत्रक्क परेर माखो नमार्ने अन्ध राष्ट्रवादबाट बच्न जरुरी रहेको उनको भनाइ थियो । समाजवादी पार्टीले अन्ध राष्ट्रवादको होइन, देशभक्ति पूर्ण बाटो लिने उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जनयुद्ध लडेको, ३० वर्षसँगै काम गरेका पुष्पकमल दाहाल प्रचण्ड समेत थाकेर एमालेको चौतारीमा भारी बिसाउन गएको बताए ।

जनजाति, दलित, मधेसी प्रधानमन्त्री बनेको देख्ने सपना छ

समाजवादी पार्टीका नेता भट्टराईले खसआर्य समुदायमा पहिचानसम्बन्धी केही भ्रम रहेको धारणा राखे । कतिपय मान्छेले बाबुराम त मधेसतिर गए भनेर भ्रम फैलाइरहेको पनि उनले उल्लेख गरे ।

केही दिनअघि गोरखा जाने क्रममा आफूले लिफ्ट दिएको महिलाको कुरा सुनाउँदै उनले भने, ‘गाडीमा चढेपछि दाइ त मधेसतिर जानुभो भन्छन् भन्नुभो । मैले किन मधेस जान हुँदैन । मधेस हाम्रो होइन भनें । उहाँले खोइ, यहाँ त सबैले बाबुराम मधेसतिर लाग्नु भो भन्छन् भनिन् ।’

‘एउटा गाउँको किसान महिलामा यस्तो भ्रम छरिएको छ । आफ्नो देशको भूभाग, आधा जनसंख्या तराइ मधेसमा बस्छ, जसले अन्न नदिने हो भने हाम्रो पेट भरिँदैन । अनि बाबुराम मधेस गयो, उपेन्द्र यादव मधेसी भयो भन्ने ? यसरी भ्रमको राजनीति गरेर हुन्छ ?’

भट्टराई पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिँदै भने, उपेन्द्रले नेपाली ठहरिनका निम्ति नेपाली भाषा बोल्नैपर्ने अनि पहाडेले चाहिँ नेवारी, मैथिली, थारु, बोल्न नपर्ने ?
भट्टराईले पुरानो सोच पालेर नबस्न र मधेस, थारुले पहिचान खोज्दा नआत्तिन खसआर्यलाई आग्रह गरे ।

उनले नेपालमा दलित, मधेसी र जनजातिबाट देशमा प्रधानमन्त्री भएको हेर्न सपना रहेको पनि सुनाए । ‘अहिलेसम्म देशमा ३८ जना प्रधानमन्त्री भए । म ३५ औं प्रधानमन्त्री भएँ । अहिलेसम्म प्रमुख कार्यकारी पदमा मरिचमान श्रेष्ठबाहेक जनजातिको प्रधानमन्त्री किन बनेन ? मधेसको मान्छे किन प्रधानमन्त्री भएको छैन ।

एउटा थारु किन प्रधानमन्त्री भएको छैन ? एउटा दलित किन प्रधानमन्त्री भएको छैन ? महिला किन प्रधानमन्त्री भएको छैन ?’ भट्टराईले भने, ‘एउटा जनजातिको छोरो प्रधानमन्त्री होस्, एउटा दलित प्रधानमन्त्री होस्, एउटा मधेसी प्रधानमन्त्री भएको देख्न चाहन्छु ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter