शुक्रबार, १६ चैत २०८०

बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली

७ कार्तिक २०७६, बिहीबार १०:५४ मा प्रकाशित

म्याग्दी, ७ कात्तिक    धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मराङ र कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईँले बताउनुभयो । मराङमा बुधबारदेखि र कोटगाउँमा दशैँअघि बिजुली बलेको हो । मराङको बेँसी, कुम्री, दमकाको बस्तीमा बिजुली बलेको वडाध्यक्ष राजाराज सुवेदीले बताउनुभयो । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको बस्तीमा केन्द्रीय लाइन विस्तार भएपछि मराङवासीमा खुशीयाली छाएको छ । छिमेकी मालिका गाउँपालिकाको अर्गला हुँदै मराङसम्म केन्द्रीय लाइन विस्तार गरिएको हो । दोस्रो चरणमा आरवाङ, घण्टीवाङ, राम्चे, हाङवाङ, कल्लेनीको बस्तीमा पनि विद्युत् विस्तारको तयारी भएको छ । मराङमा यसअघि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरिएको थियो । केन्द्रीय लाइन भएपछि उज्यालोका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । कोटगाउँमा भने उज्यालोका लागि सौर्यऊर्जा र टुकीमा निर्भर थिए । यस वर्ष म्याग्दीको सातबिसे, अर्मन, निस्कोट, दिच्याम र ताकमको एक हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको प्राधिकरणका प्रमुख माधव महतले बताउनुभयो । म्याग्दीमा २४ हजार घरधुरीको बसोबास छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका सहित बेनी वितरण केन्द्रअन्तर्गत करीब १७ हजार घरधुरी उपभोक्ता छन् । दुर्गम गाउँबस्तीमा विद्युत् सुविधा विस्तार भएपछि स्थानीयवासीको दैनिकी सहज भएको छ । उज्यालोका लागि टुकी र सोलारमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सजिलो भएको छ । फर्निचर, राइसमिल, कुखुरापालनलगायत व्यवसाय र उद्योग सञ्चालन हुन थालेको छ । म्याग्दीमा गत वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई शीर्षकमा रु १२ करोड ८० लाख बजेट विनियोजन गरेको थियो । ४५ मध्ये ११ वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । पिकआवरको समयमा चार मेगावाट विद्युत् खपत हुने गर्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter