बिहिबार, ०६ बैशाख २०८१

भेलागढी वनले तान्यो पर्यटकको ध्यान

६ कार्तिक २०७६, बुधबार १६:२७ मा प्रकाशित

भद्रपुर, ६ कात्तिक  झापाको हल्दिबारी गाउँपालिकामा रहेको भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको को सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् । गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने नारा तय गरेर उक्त वनको हाताभित्र सो पार्क निर्माण गरेको थियोे । हल्दिबारी–२ स्थित देउनिया र हर्चना खोलाको दोभानमा यो वन अवस्थित छ । पार्कमा रहेको प्राकृतिक पोखरी र त्यसमाथि बनाइएको कलात्मक काठेपुल पर्यटकका लागि मुख्य आकर्षण बनेको छ । पार्कमा लोकतान्त्रिक आन्दोलनमा राज्य वा विद्रोहीबाट मृत्युवरण गरेका हल्दिबारीका सबै शहीदको स्मारक रहने गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताउनुभयो । पर्यटकलाई आकर्षित गरेर गाउँपालिकाको आम्दानी बढाउने लक्ष्यका साथ रु आठ करोड पाँच लाख ३० हजारको लगानीमा पार्कमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । पोखरी वरिपर ३० वटा सोलार बत्ती, चार किलोमिटर क्षेत्रमा ४० फुटको रिङरोड, २७ वटा टहरा र दोभानका वरिपर पिकनिक स्थल बनिसकेका छन् । शहीद पार्कभित्रै हल्दिबारीमा बसोवास गर्दै आएका लोपोन्मुख मेचे, सन्थाल र अन्य जातिका संस्कृति संरक्षण गर्ने उद्देश्यले चार तले सांस्कृतिक सङ्ग्रहालय भवन र सभाहल बनाउने गाउँपालिकाको योजना छ । गाउँपालिकाकाले उक्त पार्कमा नेपाल भ्रमण वर्ष २०२० मा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । दैनिक पाँच सय भन्दबढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उक्त पार्कमा हरेक वर्षको काग तिहारदेखि छठ पर्वको भोलिपल्टसम्म हल्दिबारी महोत्सव आयोजना गरिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter