शुक्रबार, १६ चैत २०८०

तीन वर्षदेखि इलाका प्रशासन बन्द

६ कार्तिक २०७६, बुधबार १२:४६ मा प्रकाशित

सिमकोट, ६ कात्तिक    हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् । कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् । सरकारले साविक १० गाउँ विकास समितिका बासिन्दालाई लक्षित गरी विसं २०७३ असार ३० गते इलाका प्रशासन कार्यालय स्थापना गरेको हो । इलाका प्रशासन कार्यालयबाट प्राप्त हुने नागरिकता र सिफारिश लिन यहाँका चार गाउँपालिकाका बासिन्दा चारदेखि पाँच दिन पैदल हिँडेर जिल्ला प्रशासन कार्यालय सिमकोट पुग्ने गरेका छन् । इलाका प्रशासनको बोर्ड टाँसियो, कार्यान्वय भएनन् इलाका प्रशासन कार्यालय सर्केगाड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । इलाकाबाट हुने सेवासुविधा यहाँका बासिन्दाले अहिलेसम्म नलिएको बताएका छन् । नागरिकता र राहदानीको सिफारिश लिन सदरमुकाम सिमकोट नपुगी सुख छैन । जिल्ला प्रशासन कार्यालय हुम्लाले केही वर्ष पहिला निमित्त कार्यालय प्रमुखका रूपमा नायबसुब्बा भीम रोकायालाई खटाएको थियो । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएपछि रोकायालाई पुनः जिल्लामै तानेको थियो । जिल्ला प्रशासन कार्यालयमै कर्मचारी अभाव भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताउनुभयो । नायबसुब्बा, खरिदार, कम्प्युटर अपरेटरको अभाव रहेको उहाँले जानकारी दिनुभयो । चार दिन पैदलमा सिमकोट जिल्लाको दक्षिण क्षेत्रमा रहेका चार गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालयबाट सेवा पाउन नसकेपछि चारदेखि पाँच दिनको पैदल हिँडेर सिमकोट पुग्ने गरेको ताजाँकोट गाउँपालिका–५ का खड्क बुढाले बताउनुभयो । “इलाका प्रशासनको बोर्ड टाँसेको मात्रै देखिन्छ, सामान्य कामका लागि सिमकोट नै धाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । यहाँका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिश, नागरिकता सिफारिश लिएर आवत–जावत गरी आठ दिन लाग्ने गरेको छ । ओहोरदोहर गर्दा आठ दिन समय मात्रै नभई रु पाँचदेखि सात हजार खर्च हुने गरेको बुढाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter